कारवाहीमा परेका वडाध्यक्ष पदमुक्त
बागलुङ : जिल्लाको ढोरपाटन नगरपालिका नगरपालिकाका एक वडाध्यक्ष अन्ततः पार्टीको आन्तरिक विवादको शिकार बनेका छन् । राष्ट्रिय जनमोर्चाबाट निर्वाचित ढोरपाटन नगरपालिका वडा नम्बर–४ का वडाध्यक्ष तिलक पुन र सोही वडाका सदस्य तिलबहादुर फगामीलाई राष्ट्रिय जनमोर्चाकै सिफारिसमा निर्वाचन आयोगले सार्वजनिक सूचनामार्फत पदमुक्त गरेको हो ।
वडाध्यक्ष पदमुक्त भएपछि ढोरपाटनको वडा नम्बर ४ खुङगावासीलाई सिफारिसलगायतका काममा समस्या देखिएको छ । यसका विषयमा ढोरपाटन नगरपालिकाले बैठक राखेर मौजुदा वडा सदस्यमध्ये एकलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने तयारी गरेको नगर प्रमुख देवकुमार नेपालीले बताए ।
राष्ट्रिय जनमोर्चाको पश्चिम क्षेत्रमा पार्टीको आन्तरिक विवाद चुलिँदै गएपछि आफ्नै दलबाट लोकप्रिय मत लिएर जनप्रतिनिधिमा निर्वाचित पुन र फगामीलाई पदमुक्त गर्न आयोगलाई पत्राचार गरेको थियो । राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरसहितको विज्ञप्ति जारी गर्दै जनमोर्चा परित्याग गरेका पुन र फगामीलाई आयोगले पदमुक्त गरेको जनाएका छ।
राष्ट्रिय जनमोर्चा केन्द्रीय कमिटीले वडाध्यक्ष र सदस्य दुवैले दल त्याग गरेको सिफारिस निर्वाचन आयोगलाई लिखित रुपमा पेश गरेपछि राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३१ र ३२ तथा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २२ बमोजिम अध्यक्ष र सदस्य पद स्वतः रिक्त भएको सूचना प्रकाशन भएको राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला अध्यक्ष अमर थापाले बताए ।
गत वर्षको कात्तिक १२ गते जनमोर्चाका कार्यकर्ताबीचको झडपमा परी पुन र फगामी गम्भीर घाइते भएका थिए । झडपमा वडाध्यक्ष पुनसहित अन्य कार्यकर्ता गम्भीर घाइते भएका थिए। तर वडाध्यक्ष पुनसहित उनी पक्षीय कार्यकर्तामाथि ज्यान मार्ने उद्योग गरेको आरोपमा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
अध्यक्ष पुनलाई प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ गरी हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिजय भण्डारीले जानकारी दिए। घटनामा सातजनाविरुद्ध मुद्दा दायर गरिएको छ भने उनीहरुको पनि खोजी भइरहेको भण्डारीले बताए।
प्रतिक्रिया दिनुहोस !