रुसमा विपक्षी नेता नाभाल्नीको रिहाइ माग गर्दै प्रदर्शन गर्ने ३ हजार बढी पक्राउ
मस्को : रुसका विपक्षी नेता क्रेम्लिन एलेक्सी नाभाल्नीको रिहाइ माग गर्दै प्रदर्शन गर्ने ३ हजार बढी पक्राउ परेका छन् । देशभरबाट ३ हजार ६० जना पक्राउ परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
समाचारअनुसार राजधानी मस्कोमा १ हजार ९९ जना तथा सेन्ट पिटर्सबर्गमा ३८६ जना प्रदर्शनकारी पक्राउ परेका हुन् । देशभरका ११० सहरमा प्रदर्शन तथा र्याली भएका थिए ।
नाभाल्नीले आफ्ना समर्थकलाई शनिबार प्रदर्शनका लागि आह्वान गरेका थिए । नर्भ एजेन्ट विष उनको शरीरमा पाइएपछि गत साता मात्र उनी पहिलोपटक जर्मनीबाट रुस फर्किएका थिए । उनी रुस पुग्नेबित्तिकै पक्राउ परेका थिए ।
अधिकारीहरूले भने कोरोना भाइरस संक्रमण फैलिने भन्दै कुनै किसिमको प्रदर्शनमा भाग नलिन सबैलाई आग्रह गरेको छन् । यदि अवज्ञा गरे जेलसमेत लगाइने उनीहरूले चेतावनी दिएका छन् ।