नेताहरूको गिर्दो चरित्र

नेताहरूको गिर्दो चरित्र

अमाध्यमिक शिक्षाका लागि काठमाडौं आएदेखि कम्युनिस्ट आचरण र चरित्रलाई नजिकबाट नियाल्ने मौका मिल्यो। अध्ययनको सिलसिलामा जुन परिवारसँग बसोवास गर्ने अवसर जुटेको थियो, त्यो भूमिगत कम्युनिस्ट नेताहरूको सुरक्षित सेल्टर थियो। तत्कालीन ठूला नेताहरू भेष बदलीबदली साँझबिहान हावाको झोक्कासरि त्यहाँ आउँथे, एकदुई दिनसम्म ढोका थुनेर गोप्य बैठक/भेला/छलफल गर्दथे र सकिएपछि उसैगरी अलप हुने गर्दथे। ०४६ सालको आन्दोलनताका नेताहरूको आवतजावत र गोप्य छलफल निकै बाक्लिएको थियो। कोठाभित्रको गतिविधिबारे केही भेउ पाइन्नथ्यो, न त त्यसबारेमा चासो राख्नु नै जायज ठहरिन्थ्यो। तर आवातजावतको बढ्दो माहोलले धेरै नेतालाई चिन्ने अवसर भने मिलेको थियो। विशेषतः चिया, पानी, खाजा, खानाको समयमा नेताहरू सम्मानजनक भाषासहितको बातचित र भलाकुसारीमा स्वयं ओर्लन्थे।

राजनीतिक चेतना शून्यप्रायः भएको त्यसबेला कम्युनिस्ट नेताका आचरण र व्यवहारले खुबै आकर्षित गरेको थियो। शिष्ट बोली, हार्दिक व्यवहार, जति सानालाई पनि ‘कमरेड’ र ‘तपाईं’ कै सम्बोधन। नमस्कारको साटो हात मिलाएरै अभिवादन साटिने परिपाटी। महिलालाई अति नै इज्जत। सादा जीवनशैली। भेला/बैठकबाहेकका समयमा घरेलु काममा सघाउने तत्परता। जे पाकेको छ खुसीसाथ मीठो मानेर खाइदिने बानी। आफ्ना जुठा भाँडा आफैं माझ्ने अग्रसरता आदिका कारण ‘यी नेताका हातमा सत्ता पुग्यो भने देशले उच्चस्तरीय प्रगति र सभ्यताको काँचुली कति छिटै फेथ्र्यो होला !’ यही कल्पना मनमा आइरहन्थ्यो, त्यससँगै उनीहरूले खेपेको भूमिगत सकसप्रति करुणा जागेर आउँथ्यो। जनआन्दोलन २०४६ को सफलतापश्चात् भने देखाभेटको क्रम टुंगियो, न त उनीहरूको अवस्थालाई लिएर चिन्तित हुनुपर्ने अवस्था नै बाँकी रह्यो। दिन दुगुना रात चौगुना व्यक्तिगत प्रगतिको म्याराथुनमा कोही नेता पछि नपरेको थाहा पाउन भेटघाटको जरुरत पनि थिएन।

२०४६ यता सत्तारोहणमा कम्युनिस्टहरूले पनि सहभागिता जनाउने अवसर पाउँदै आए तर जनताको जीवनस्तरमा कम्युनिस्ट घोषणाअनुसारको प्रतिफल देखिन सकेन।  मिलिजुली सरकार गठन र विघटनको चक्रकै कारण आफ्नो सिद्धान्तअनुसारको परिवर्तन ल्याउन नसकेको नेताका तर्क तत्कालीन राजनीतिक परिदृश्यको कसीमा अनुपयुक्त पनि थिएन। तसर्थ गत निर्वाचनमा सुविधाजनक बहुमत दिएर नागरिकले कम्युनिस्टलाई पाँचबर्से एकलौटी शासनको बागडोर थमाए। ठूला दुई कम्युनिस्ट पार्टीको एकीकरणपश्चात् लगभग दुईतिहाइकै बलियो सरकार बन्यो तर सात दशकदेखि जनतालाई देखाउँदै आएको कम्युनिस्टको रंगीन सपना कति फिका र सतही रहेछ अहिले सबैसामु छरपष्ट छ।

इतिहासकै सबैभन्दा अनुकूल राजनीतिक अवस्थामा जनादेशअनुसार पाँच वर्ष सरकार चलाउन नसक्नु कम्युनिस्टहरूको ठूलो अक्षमता हो। यसबाहेक कम्युनिस्टमा हुनुपर्ने गुण र चरित्रबाट समेत नेताहरू च्युत भइरहेको उनीहरूकै व्यवहारले प्रस्तुत गरिरहेको छ। प्रतिनिधिसभा विघटनको घोषणापछि विभाजित नेकपाका शीर्षनेताहरू सार्वजनिक रूपमै एकअर्काप्रति यति तल्लो स्तरको शव्दवाण प्रहार गरिरहेका छन् कि तिनैमाथि ठूलो भरोसा गरेका जनताले उनीहरूकै घृणित अभिव्यक्तिका विरुद्ध कान थुनेर बस्नुपर्ने स्थिति विद्यमान छ। हरेक दिन श्रव्यदृश्य तथा छापामाध्यम नेताका स्तरहीन गालीगलौजले भरिने गरेका छन्। देशको कार्यकारी प्रमुख यस मामिलामा अग्रपंक्तिमा देखिन्छन् भने उनको प्रतिवादमा उत्रिने अर्का पक्षीय नेताहरूले पनि बोलीमा संयमता अपनाएको देखिन्न। उखान, टुक्कासहित हँसीमजाक र हल्काफुल्का भाषा प्रयोगमा प्रधानमन्त्रीले सुरुदेखि नै आफ्नो छुट्टै पहिचान बनाएकै थिए, हिजोआज ती शब्द निकृष्टतामा समेत ओर्लिरहेका छन्।

उनका अभिव्यक्ति सामाजिक सञ्जालका बहुआयामभित्र जोक र ठट्टाको ट्रोल/मिम बनेर फैलिरहेका छन्। जनताका हितमा जिम्मेवार हुनुपर्ने सरकार प्रमुख निःशुल्क मनोरञ्जनको पात्र बनिरहेका मात्र छैनन्, ‘स्ट्यान्डिङ कमेडियन’ का रूपमा समेत चिनिन थालेका छन्। आफूइतरका नेताहरूका लागि मात्र हैन; आफ्नो कदमको विरुद्धमा रहेका पत्रकार,  बुद्धिजीवी, नागरिक समाज, कानुन व्यवसायी तथा न्यायाधीशमाथि समेत चोटिलो शब्दवाण प्रहार गरिरहेका छन्। अरू त अरू नौ दशक कटिसकेका देशकै सबैभन्दा पाका वरिष्ठ अधिवक्ताको मानमर्दन गर्नसमेत उनी पछि परेनन् जसका विरुद्ध बारका पूर्वअध्यक्षहरू विज्ञप्तिमार्फत भत्र्सनामै ओर्लन बाध्य भए।

प्रधानमन्त्रीले गरेको मानहानि मुद्दा अदालत पुगेको छ। देशका कार्यकारी प्रमुखबाट जेजस्ता भाषा प्रयोग भइरहेका छन्, त्यसले समग्र्र जनस्तरलाई नै लज्जित बनाइरहेको छ। अर्का पक्षीय नेताहरू पनि उनकै लय पछ्याउँदै बोल्न अभ्यस्त भइसकेका छन्। उक्त समूहको प्रदर्शनमा राष्ट्रपतिविरुद्ध प्रयोग भएका शब्द र आक्षेप उस्तै क्षोभपूर्ण रहे। दुवै पक्षका स्तरहीन जुहारी र अशिष्ट गालीगलौजले कम्युनिस्टभित्र हुनुपर्ने चरित्रको उपहास गरिरहेको छ। कम्युनिस्टका आधारभूत विशेषता र चरित्रलाई दुवै पक्षीय नेताहरू र तीसँग आबद्ध कार्यकर्ताले आत्मसात गरेका छैनन्।

‘कम्युनिस्ट सिद्धान्तअनुरूप अंगीकार गर्नुपर्ने राजनीतिक दर्शन, जीवनपद्धति, आचरण, व्यवहारबाट उनीहरू धेरै पहिलादेखि नै टाढिइसके। त्यसैले नेपालका कम्युनिस्टहरू खासमा कम्युनिस्ट नभएर वामपन्थी मात्र हुन्।’ अधिकांश राजनीतिक विश्लेषकको यस निष्कर्षलाई कम्युनिस्ट नेताहरूले आफ्नै व्यवहारद्वारा पुष्टि गर्दै आएका छन्। व्यक्तिगत सम्पत्ति र कम्युनिस्ट चरित्र दुई परस्पर विरोधी धार हुन् भन्ने तथ्य सामान्य राजनीतिक चेत भएको जोसुकैले जान्ने कुरा हो तर २०४६ यता कम्युनिस्ट नेताहरूमा असीमित धनसम्पत्तिको मालिक बनेर विलासी जीवन बाँच्ने जुन प्रतिस्पर्धा चल्यो, सैद्धान्तिक विचलन त्यहींबाट सुरु भइसकेको थियो। ‘सामन्ती’ र ‘बुर्जुवा’ वर्ग, जो कम्युनिस्टको ‘वर्गशत्रु’ का रूपमा घोषित छन्; उनीहरूको भन्दा भड्किलो जीवनशैली अपनाउन कुनै कम्युनिस्ट नेतालाई असहज लागेन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.