त्रेतायुगमा तपस्या गरेको ठाउँ रेसुंगा
त्रेतायुगमा ऋष्यशृंगीले हजारौं वर्ष तपस्या गरेकाले यसको नाम रेसुंगा रहेको भन्ने प्रचलित किंवदन्ती हो। ऋष्य भनेको ऋषि हो। शृंगी भनेको सिङ पलाएको हो।
त्यति मात्र होइन, यहाँ हजारौं ऋषिले तपस्या गरेको विश्वास छ। तैपनि मुख्य ४ ऋषिको बढ्ता वर्णन गरिएको छ। तीमध्ये एक उनै हुन् ऋष्यशृंगी। बाँकी तीन स्वामी हुन्– शशिधर, लक्ष्मीनारायण र यदुकानन्द। यी तीन स्वामी भने पछिल्ला कालखण्डका हुन्। अर्घाखाँचीको अर्घामा जन्मिएका शशिधरको जन्म १८०४ सालमा भएको हो। उनले १८५० देखि १९०० सम्म यस क्षेत्रमा बसेर कठोर योग साधना गरी सिद्धि प्राप्त गरेको इतिहास छ।
लक्ष्मीनारायण स्वामी शशिधरकै छोरा हुन्। उनले त्यहीँ तपस्या गरेका थिए। उनी ११ वर्षदेखि बालतपस्वी र बालब्रह्मचारी थिए। उनले यति कठोर तपस्या गरे कि नरसिंह अवतार लिएको भन्ने श्रुति पाइन्छ। नरसिंह अवतार भनेको उत्तिखेरै आफ्नो रूप बदल्न सक्ने, बाघ, भालु, सर्प आदिको रूप धारण गर्न सक्ने हो। उनलाई जंगबहादुर राणा स्वयं आएर ‘महाप्रभू’ उपाधि दिएको इतिहास छ। शशिधर र लक्ष्मीनारायण स्वामीको समाधिस्थल यहीँ छ।
यदुकानन्द स्वामी भने काठमाडौंको कलंकीबाट यहाँ आएका थिए। उनको जन्म १९५० सालमा भएको हो। उनी १९८३ देखि २०२१ सालसम्म कठोर तपस्या गरेर यहाँ बसेका थिए। यहाँ भएको मन्दिर १९८४ मा यदुकानन्द स्वामी बसेका बेला राणा शासकले जीर्णोद्धार गरेका थिए। यसमा लगाइएको तामाको छाना यहीँको स्थानीय रहेको इतिहासमा उल्लेख छ।
अलिपर सानो रेसुंगा छ। त्यहाँ ऋष्यशृंगीको मूर्ति निर्माणाधीन छ। त्यस स्थलमा गुल्मीमै जन्मिएका एक फलाहारी बाबाले दिनको एकपटक फलफूल मात्र खाएर २० वर्षदेखि कठोर तपस्या गर्दै आएका छन्। अलि तल साउने शिवालय छ जुन अति कलात्मक छ। त्यहाँ लक्ष्मीनारायण स्वामीले हिउँदै आश्रम बनाएको भनिन्छ।
जैविक विविधतायुक्त थलो पनि हो– रेसुंगा। पछिल्लो तथ्यांकअनुसार नेपालमा झन्डै ९ सय प्रजातिका चरा पाइन्छन्। तीमध्ये २ सय ३० प्रजाति यहाँ फेला पारिएको छ। नेपालमा मात्र पाइने काँडेभ्याकुर पनि यहाँ भेटिएको छ। नेपालमा रहेका ९ प्रजातिका गिद्धमध्ये ८ प्रजाति यहाँ पाइन्छन्। जीवजन्तुमा चितुवा, घोरल, बाघ, मलसाप्रोलगायत २८ प्रजाति छन्। यसको वरिपरिको वनलाई सरकारले संक्षित घोषणा गरेको छ।
(कृष्णप्रसाद पन्थी, पण्डित, रेसुंगा धार्मिक क्षेत्र)