‘योगमायाका वाणीले समाज परिवर्तनका लागि विश्वमा चेतना छर्नेछ’
अमेरिकाकी नागरिक बर्बरा निम्री अजिजले नेपाल भ्रमणका सिलसिलामा भोजपुरमा जन्मिएर तत्कालीन समाजमा विद्रोह गरी नेपालको अग्रणी महिला बनेकी योगमायाबारे अध्ययन/अनुसन्धान गरी ‘योगमाया एन्ड दुर्गादेवी : रेबेल वुमन अफ नेपाल’ नामक पुस्तक प्रकाशन गरिन्। यसले योगमायाका सोच, वाणी, दर्शन, विद्रोही चेत, क्रान्तिकारी छलाङ नेपाली मात्र होइन, विश्वका सबै नागरिक र समाजका लागि नमुना रहेछ भन्ने प्रमाणित गरिसकेको छ।
योगमायाबारे लेखिएको उपन्यासले नेपालको सर्वाधिक लोकप्रिय मदन पुरस्कारसमेत पाइसकेको छ। यसबारे अनुसन्धानात्मक पुस्तकहरू र थुप्रै लेख प्रकाशित छन्। नाटक मञ्चन भइसकेको छ। बर्बराले पुस्तक लेखेपछि भनेकी छन्, योगमायाबारे फिल्म नै बनाउनु पर्छ। उनै योगमायाबारे बर्बरासँग अन्नपूर्णकर्मी गोपीकृष्ण ढुंगानाले इमेलमार्फत गरेको साहित्यिक कुराकानी ः
अमेरिकाबाट कसरी नेपालकी योगमायाबारे अध्ययन गर्नुभयो ?
सन् १९८१ को कुरा हो। सोलुखुम्बुबाट काठमाडौं फर्कंदै थिएँ। मनकामनामा बास पर्यो। एक रातका लागि रोकिएकी थिएँ। दिनभर हिँडेर आएकाले निकै थाकेकी थिएँ। सुत्नका लागि एउटा भक्तिको कुटी दिइएको थियो। भक्तिनी आमा पनि सँगै हुनुहुन्थ्यो। उहाँले उठेर भजन गाउनुभयो। यो हरेराम हरेकृष्ण जस्तो भजन थिएन। बिल्कुल फरक थियो। यो कस्तो भजन हो ? भनेर सोधें। उहाँले भन्नुभयो, ‘गुरुको भजन हो।’ गुरुको भजन भन्नासाथ कुनै महात्मा पुरुषको भजन भन्ने सोचें। गुरु भनेको माता अर्थात् महिला हो भन्दा आश्चर्यमा परें। त्यसपछि केही दिन बसेर उहाँबारे जान्ने इच्छा भयो। पूर्वयोजना थिएन, न म इतिहासको विद्यार्थी थिएँ तर पनि यसबारे बुझ्न प्रोत्साहित भएँ।
त्यहाँ बसेर के बुझ्नुभयो ?
योगमायाको जन्म र उनी रहने गरेको कुटी जुन त्यहाँबाट दिनभरको बाटो हिँडेर पुग्ने ठाउँ भोजपुरको मझुवाबेंसीमा रहेछ। तर म त्यहाँ पुग्नुभन्दा कैयौं वर्षअघि योगमायालगायतले जलसमाधि लिएको ठाउँ रहेछ। त्यसपछि बाँकी अनुयायी मनकामनामा आएर बसेको भन्ने बुझें। क्रमशः उहाँ र उहाँले भनेगरेका सन्दर्भबारे बुझ्न थालें।
कति बेला लाग्यो, योगमाया विशेष व्यक्तित्व हो भनेर ?
उनीहरूले गाएको भजन सुनें। पछि मलाई योगमायाको हजुरवाणी त्यहाँकी भक्तिनी माताले दिनुभयो। त्यो अनुवाद गर्न लगाएर पढेपछि मलाई पूरा विश्वास भयो, योगमाया एक विशेष महिला हुन्। योगवाणीमार्फत नै योगमायाप्रति धारणा बनाएकी थिएँ।
त्यो बेला अध्ययनका लागि के कस्ता जटिलता थिए ?
खासै अप्ठ्यारो भएन। त्यो बेला मेरो स्वास्थ्य राम्रो थियो। हिँड्न सक्थे। तर, मेरी आमा अमेरिकामा बिरामी भएका कारण लामो समय त्यहाँ बस्न भने सकिनँ। योगमायाबारे जान्न र बुझ्न केही व्यक्तिले धेरै राम्रो साथ दिए। पारिजात, हर्क गुरुङ र भक्तिनी माताहरूको विशेष सहयोग रह्यो।
पारिजातसँग पूर्वपरिचित हुनुहुन्थ्यो ?
पहिलो पटक मनकामना गएको बेला पारिजातलाई चिनिसकेकी थिएँ। जब मेरो हातमा उनै मातामार्फत सन् १९४० मा प्रकाशित हजुरवाणी अर्थात् योगवाणी पर्यो। त्यसको अनुवाद गरें। साहित्यिक व्यक्तिबाट अनुवाद भएमा त्यसको भाव राम्रोसँग आउनेमा विश्वस्त थिएँ। मलाई भाषाका लागि सहयोग गर्दै भोजपुर गएका धर्म श्रेष्ठ भन्ने एक व्यक्ति थिए। उनले नै मलाई पारिजातलाई भेट्न सुझाए।
पारिजातसँग भेट कसरी सम्भव भयो ?
त्यो बेला शासन व्यवस्था नै भिन्न थियो। मैले केही व्यक्तिलाई म बसेको होटल आसपासमा पनि पारिजातबारे सोधें। कतिले भन्न चाहेनन्। पछि त्यही काम गर्ने एक किशोरले चिनेको छु भने। केही दिनमै मलाई पारिजातको घरमा लिएर गए। मलाई अहिले पनि सम्झना छ। म पुग्दा उनको घरबाहिर हतियार लिएका पुलिस तैनाथ थिए। उनलाई कसकसले भेट्छन् भन्ने तत्कालीन सरकारको निगरानीमा थिइन् पारिजात।
यहाँले योगमाया लगायतलाई सन् १९९५ मा गिरफ्तार गर्ने तत्कालीन बडाहाकिम माधव शमशेरलाई पनि भेट्नुभएको पुस्तकमा उल्लेख छ। के भने बडाहाकिमले योगमायाबारे त्यस सन्दर्भमा ?
हो। मैले माधव शमशेरलाई भेटेकी थिएँ। त्यस भेटका लागि मुरारी अर्यालले बन्दोबस्त मिलाएका थिए। भर्खर कोरोना संक्रमणका कारण मुरारी अर्यालको मृत्यु भएको सुनेर दुःखित छु। माधव शमशेरले योगमायाको सन्दर्भमा भनेका थिए, ‘ती आइमाई निकै डेन्जर थिइन्।’ पक्कै पनि उनी योगमायाप्रति सकारात्मक सोच राख्दैनथे।
यहाँले योगमायाकै अध्ययनका क्रममा जनकलाल शर्मालाई पनि भेट्नुभएको थियो ?
हो। उहाँले योगमायाको बारेमा आफ्नो पुस्तकमा उल्लेख गर्नुभएको छ भन्ने जानकारी पाएपछि उहाँकै अफिसमा गएर भेटेकी थिएँ। योगमायाबारे कुरा गरेकी थिएँ। उहाँले योगमायालाई जोसमनि परम्पराको अनुयायी भन्नुभयो। त्यति मात्र भन्नुभयो, त्योभन्दा बढी केही भन्नुभएन।
इतिहासविद् ज्ञानमणि नेपालले आफ्नो पुस्तकमा जनकलाल र आफू दुईको भेट भएको उल्लेख गर्नुभएको छ। नेपालको धारणा के थियो ?
उहाँ साथ हुनुहुन्थ्यो होला तर मलाई त्यसबारे अहिले त्यति सम्झना भएन।
अध्ययनका क्रममा अरू कसलाई भेटेको सम्झना छ ?
अरू अनुयायी भक्तिनी मातालाई भेटें। समाजका केही व्यक्तिलाई पनि। समाजका केही व्यक्ति उनीप्रति कत्ति पनि सकारात्मक थिएनन्। हर्क गुरुङले मलाई त्यस क्षेत्रका मन्त्री डम्बरबहादुर बस्नेतलाई भेटाउनुभएको थियो। हामीले सँगै भेटेका थियौं। डम्बरबहादुर बस्नेतको आँखामा उहाँप्रति सम्मान थियो। उहाँले केही कथा भन्नुभयो। उहाँले योगमायाको समयमा आफू निकै सानो (कम उमेरको) भएको पनि उल्लेख गर्नुभयो। योगमायाप्रतिको विश्वास र समर्पण देखेर हर्क गुरुङ पनि पूरै विश्वस्त भएका थिए। अहिले त योगमायाको नाममा हुलाक टिकट प्रकाशित भएको रहेछ। योगमाया विश्वविद्यालयका लागि पनि काम हुँदै रहेछ। विद्यालयको कोर्समा उनलाई समेटिएको रहेछ। यो स्वागतयोग्य कुरो हो।
राष्ट्रले आज यो रूपमा लिन्छ भन्ने यहाँलाई त्यति बेला लागेको थियो ?
पटक्कै थिएन। उनका बारेमा मान्छे कुरा गर्न डराउँथे। धेरै नकारात्मक कुरा गर्नेहरू पनि थिए उसबेला। राणा शासन अन्त्य भइसक्दा पनि उनीबारे बोल्न डराउँथे मान्छेहरू। भक्तिनी माताले हजुरवाणीहरू ओछ्यानमुनि अति सुरक्षित तरिकाले लुकाएर राखेकी थिइन्।
यहाँले दुर्गादेवीबारे पनि लेख्नुभयो, ‘योगमाया एन्ड दुर्गादेवी ः रेबेल विमिन अफ नेपाल’। दुर्गादेवी को थिइन् ?
मनकामनामा मैले योगमायाका बारेमा सुन्दा दुर्गादेवीबारे पनि सुनें। योगमायाका अनुयायीहरू पनि त्यहाँ थिए। ती अनुयायी र अरू भक्तलाई त्यहाँ मनका मनमा बस्ने बन्दोबस्त मिलाउने दुर्गादेवी रहिछन्। उनले सामाजिक परिवर्तन र न्यायका निम्ति खेलेको भूमिका सुन्दा आश्चर्य लागेको थियो। मैले दुवैजनामा अझ थप अध्ययन अघि बढाएर लेखें।
योगमायाको जीवन, ज्ञान र योगदानलाई अन्वेषण गर्न नेपाली लेखकहरूले के गर्न सक्छन् ?
योगमाया कवि थिइन् भन्ने कुरा अरू कोही होइन पारिजातले नै सर्वथा योगवाणी पढेर यसलाई प्रमाणित गरिन्। सन् १९८१ मा उहाँसँग पहिलो पटक भेट्दा हामीबीच यसबारे कुरा भएको थियो। आज नेपाली कविहरूले यी योगमायाका छन्द र हजुरवाणीहरू नमुनाका रूपमा अध्ययन गर्न सक्छन्। आधुनिक राजनीतिक कविता र राजनीतिक प्रतिरोधका लागि प्रेरणा भएको हजुरवाणीहरूलाई पनि त्यसरी नै प्रयोग गर्न सक्छन्। साथै लेखकहरूले योगमायाका साथै योगमायाबारे अनुसन्धान गरिसकेकी नीलम कार्की निहारिकाको उपन्यास ‘योगमाया’मा थप अध्ययन, अनुसन्धान र समीक्षा गर्न सक्छन्। कसैलाई योगमायाका मुद्दाहरूको गहिरो अन्वेषण चाहिन्छ भने ती विषयहरू पहिचान गर्न र ती रचनात्मक अभिव्यक्ति प्रयोग गर्न सक्नेछन्। योगमायाको जीवन एक फिल्मका लागि योग्य छ। योगमायाको फिल्ममा नाटकीकरण प्राकृतिक अनुगमनसरह हुनेछ। हामीलाई यसका लागि लेखकहरू चाहिएका छन्। योगमायाको जीवन र चरित्रमा अझै विवादास्पद सन्दर्भहरू छन्। विवादहरू हुनु भनेको पनि लेखकहरूका लागि प्रेरणादायी शक्ति हुन सक्छ।
योगमायाको जीवनको चर्चा जसरी भइरहेको छ, त्यसप्रति तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
योगमायाका बारेमा जे जसरी अध्ययन/अनुसन्धान भइरहेका छन् र जे जति सम्मान व्यक्त हुनुपर्ने हो त्यो भइरहेको छ। त्यसबाट म पनि प्रेरित भइरहेकी छु। विशेषगरी निहारिकाको उपन्यास ‘योगमाया’मा राम्रो अनुसन्धान र प्रेरणादायक शैली छ। उनको पुस्तक योगमायाले नेपालीजनको चेतना मजैले जगाइदिएको छ। किनकि यसबारेमा हाम्रो वैज्ञानिक अनुसन्धान असमर्थजस्तै थियो। यद्यपि म योगमायाको दर्शनको राजनीतिक सान्दर्भिकता र दुर्गादेवी कार्की घिमिरेको विकास अध्ययनमा महिलाभन्दा पुरुषबीच बढी बहस भएको हेर्न चाहन्छु। महिलावादीमा पनि योगमायाका दर्शनले बढी प्रभाव पारोस्। यसो भएमा मुलुकका हरेक राजनीतिक सन्दर्भमा पनि योगमायाको दर्शन काम लाग्नेछ। उहाँका असाधारण उपलब्धिहरू मैले पनि पुस्तकमा रेकर्ड गरेकी छु। म उनीहरूलाई दुर्गादेवीका कथाहरूबारे पनि छलफल गर्न आमन्त्रित गर्छु।
अन्त्यमा केही भन्नु छ कि ?
धेरै लामो समयसम्म योगमायाबारे नेपालमा धेरैलाई थाहा थिएन। उनका हजुरवाणी उनका अनुयायीका सन्तानले एक आस्थाका साथ प्रकाशन गरे पनि त्यसलाई भित्र लुकाउनुपर्ने अवस्था थियो। मैले योगमायाका हजुरवाणीबाट उनलाई बुझ्ने मौका प्रशस्त पाएकी थिएँ। राज्यले वास्ता नगरेको, चासो नराखेकोमा पनि लेख्न साहित्यकारहरूले उनलाई राजधानीसम्म ल्याएर प्रचार गरिदिए। अहिले चर्चा व्यापक भएको छ। यसमा लेखक र साहित्यकारको ठूलो योगदान छ। साहित्यमा कति ठूलो शक्ति हुन्छ भन्ने यसबाट पनि प्रस्ट हुन्छ।