काठमाडौंमा प्रचण्ड-नेपाल पक्षको शक्ति प्रदर्शन (फोटोफिचर)
काठमाडौं : संसद विघटनविरुद्ध सडक आन्दोलन गरिरहेको प्रचण्ड- नेपाल समूहको नेकपाको जुलुस काठमाडौंका विभिन्न स्थानबाट सुरु भएको छ। पुलचोक, माइतीघर, त्रिपुरेश्वर, केशरमहल र जमलबाट जुलुस निस्केको छ।
भृकुटीमण्डपमा हुने विरोधसभा अगाडि पुलचोक, माइतीघर, त्रिपुरेश्वर, केशरमहल र जमलबाट जुलुस निस्केको हो। विरोध सभामा सहभागी हुन नेकपाले गाउँ-गाउँबाट कार्यकर्तालाई काठमाडौंमा उतारेको छ। विरोधसभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड', माधवकुमार नेपाललगायत नेताहरुले सम्बोधन गर्नेछन्।
यसअघि २३ गते प्रधानमन्त्री केपी ओली समूहले दरबारमार्गस्थित नारायणहिटी दरबार अगाडि गरेको शक्ति प्रदर्शन लगत्तै प्रचण्ड समूहले जवाफी आन्दोलनको रुपमा प्रदर्शन गर्न लागेको हो ।
गत पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाललगायत नेताहरु निरन्तर सडक आन्दोलनमा छन् । उनीहरुले संसदको पुनर्स्थापना र प्रधानमन्त्रीको राजीनामा लगायत माग गर्दै आएका छन् ।
प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ। पार्टीको दुई समूहले आ-आफ्नो पक्षका प्रदर्शन र सभालाई निरन्तरता दिँदै आएका छन्।