इन्डोनेसियाको राजधानी जकार्तामा भीषण वर्षा र बाढीले हजारौँ विस्थापित
जकार्ता: इन्डोनेसियाको राजधानी जकार्तामा भारी वर्षाका कारण जनजीवन अस्तव्यस्त बनेको छ । भीषण वर्षासँगै आएको बाढीले गर्दा हजारौँ मानिस घर छाडेर अन्यत्र विस्थापित भएका छन् ।
जकार्ताको दक्षिणी र पूर्वी क्षेत्रमा वर्षाले गर्दा लाखौँ मानिस बाढीबाट प्रभावित बनेका छन् । जकार्तामा यसअघि पनि हरेक वर्ष यस्तै गरी भारी वर्षा र बाढीले जनजीवन प्रभावित पार्ने गरेका थिए ।
तर यसपटकको वर्षा र बाढी पछिल्ला केही वर्षदेखिकै ठूलो मानिएको छ । मौसम विज्ञहरुका अनुसार अझै एक सातासम्म मेघ गर्जनसहित वर्षा हुने र हावाहुरी आउनेछ ।
शनिबार दिउँसो वर्षा रोकिए पनि मौसम खराब नै रहेकाले सचेत रहन अधिकारीहरुले आग्रह गरेका छन् । स्थानीय मिडियाका अनुसार शुक्रबारदेखि नै निरन्तर भारी वर्षा भएको हो । राजधानीका विभिन्न स्थान डुबानमा परे पनि मानवीय क्षति भने भएको विवरण छैन । उद्वारका लागि ठूलो संख्यामा सुरक्षाकर्मीहरु खटाइएका छन् ।