अफगानिस्तानमा श्रृंखलावद्ध विस्फोट: ५ जना मारिए, २ घाइते
काबुल: अफगानिस्तानको राजधानी काबुलमा तीन वटा छुट्टाछुट्टै विस्फोटमा पाँच जना मारिएका छन् । दुई घाइते छन् ।
काबुल प्रहरीका अनुसार शनिबार सुरुका दुई विस्फोट १५ मिनेटको अन्तरमा भएका थिए । यस्तै तेस्रो विस्फोट २ घण्टापछि प्रहरीको गाडीलाई लक्षित गर्दै भएको थियो ।
विस्फोटको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन । साथै के कारणले विस्फोट गराएको भन्ने बारे पनि हालसम्म कुनै कारण खुलेको छैन ।
स्थानीय मिडियाका अनुसार दोस्रो विस्फोटमा मारिनेमध्ये दुई जना सैनिक थिए। यस्तै पश्चिम काबुलस्थित तेस्रो विस्फोटको क्रममा दुई प्रहरी अधिकृत मारिएका थिए ।
घटनाको छानविन गरिरहेको प्रहरीले जनाएको छ । यसअघि भएका अधिकांश विस्फोटमा तालिबान समूहको हात रहेको विवरण छ । अफगानिस्तानमा २ दशक अघिदेखि सशस्त्र युद्ध गरिरहेको तालिबान समूह र सरकारबीच शान्ति वार्ता अझै सफल हुन सकेको छैन ।