बलात्कारको आरोप लागेपछि ग्रीसका वरिष्ठ कलाकार लिग्नादीस पक्राउ
एथेन्स: ग्रीसको राष्ट्रिय नाट्य निर्देशक समेत रहेका वरिष्ठ कलाकार बलात्कार मुद्दामा पक्राउ परेका छन् ।
मी टू अभियानकै श्रृंखलाको रुपमा बलात्कारको आरोप परेपछि उनलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । पूर्व नाट्य निर्देशक दिमित्री लिग्नादीसलाई श्रृंखलावद्ध बलात्कार र अभद्र यौन आक्रमण गरेको आरोपपछि प्रहरीले पक्राउ गरेको हो ।
५६ वर्षीय लिग्नादीसले भने उनको घटनाबारे खुलासा भइ चर्को आलोचना भएपछि फेब्रुअरी ६ मा नै पदबाट राजीनामा दिएका थिए । ग्रीक मिडियाका अनुसार उनीमाथि थुप्रै बालबालिकाहरुमाथि बलात्कार गरेको र यौन शोषण गरेको आरोप लागेका छन् । तीमध्ये केही बालक समेत भएको बताइन्छ ।
लिग्नादीसका वकिलका अनुसार उनले आफूमाथि लागेका सबै आरोप अस्वीकार गर्दैआएका छन् । साथै अधिकारीहरुको दबाबका कारण आफू पक्राउ परेको पनि उनको जिकिर छ ।
शुक्रबार दर्ता भएको एक आरोप अनुसार २०१० मा उनले १४ वर्षे एक बालकमाथि बलात्कार गरेको बताइएको छ ।