बीपी पदाधिकारीको कार्यकक्षमा लागेको ताला खुल्यो
धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधार लगायतका माग राखेर आन्दोलनमा उत्रिएका चिकित्सकका जायज मागलाई व्यवस्थापन पक्षले पुरा गर्ने लिखित सहमति गरेको छ।
आइतवार मेडिकल तथा डेण्डल फ्याकल्टी कल्याण समाजका पदाधिकारी र प्रतिष्ठान व्यवस्थापन पक्षबीच भएको वार्तामा सात बुँदे सहमति गरे पश्चात प्रतिष्ठानका उपकुलपति र शिक्षाध्यक्षको कार्यकक्षमा लगाइएको ताला खोलिएको छ।
मेडिकल तथा डेण्डल फेकल्टी कल्याण समाजका अध्यक्ष डा. विष्णु पखरेलको नेतृत्वमा आन्दोलनमा उत्रिएका चिकित्सकले विभिन्न माग राखेर उपकुलपति डा. ज्ञानेन्द्र गिरी र शिक्षाध्यक्ष डा. गुरु खनालको कार्यकक्षमा तालाबन्दी गरेका थिए।
उनीहरुले सामूहिक राजीनामा दिने र आकस्मिक सेवाबाहेकका अन्य स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएका थिए। तालाबन्दी पश्चात आइतवार प्रतिष्ठानका उपकुलपति गिरी, शिक्षाध्यक्ष खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक डा. गौरीशंकर साहले चिकित्सकहरुका माग महिनादिन भित्र पुरा गर्ने लिखित सहमति गरेपश्चात ताला खुलेको े समाजका अध्यक्ष विष्णु पोखरेलले बताए।
अध्यक्ष पोखरेलका अनुसार तीन वर्षदेखि रोकिएको बढुवा प्रकृया एक महिना भित्र अगाडि बढाउने सहमति गरिएको छ। त्यस्तै जोखिम भत्ता फागुन १४ गते भित्र उपलब्ध गराउने, इन्टरनेट र विुधुतचोरी सम्बन्धमा छानबिन समितिको प्रतिवेदन अनुसार कारबाही अगाडि बढाउने र फोरहोर मैलाको उचित व्यवस्थापन गर्ने लगायतकका सहमति भएको छ।
सहमति पश्चात आन्दोलनका सबै कार्यक्रम स्थगित गरेर सबै चिकित्सक काममा फर्किने भएका छन्। प्रतिष्ठानका रजिष्ट्रार रेग्मीले आन्दोलनरत चिकित्सकका जायज मागलाई महिनादिन भित्र पुरा गर्ने सहमति गरिएको बताए।
प्रतिक्रिया दिनुहोस !