फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजीलाई भ्रष्टाचार मुद्दामा ३ वर्ष जेल सजाय
पेरिस: फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई भ्रष्टाचार अभियोगमा फ्रेन्च अदालतले दोषी ठहर गर्दै ३ वर्षका लागि जेल सजाय सुनाएको छ ।
सोमबार अदालतले उनीविरुद्ध यस्तो फैसला सुनाएको हो । २००७ देखि २०१२ सम्म सार्कोजी फ्रान्समा राष्ट्रपति बनेका थिए । तर न्यायाधीशले उनले जेलमा समय बिताउनु नपर्ने जनाएका छन् । उनको २ वर्षको सजाय निलम्बन गरिएको छ भने १ वर्षसम्म घरमै विद्युतीय बाला लगाएर सजायको भागीदार बन्न सक्ने बताइएको छ ।
आधुनिक फ्रान्सको इतिहासमा जेल जाने ६६ वर्षीय सार्कोजी नै पहिलो राष्ट्रपति हुन् । सोमबार बिहान अदालतमा पूर्ण इजलासले सार्कोजीमाथि फैसला सुनाएको हो ।
यसअघि २०११ मा पनि पूर्वराष्ट्रपति ज्याकुएज सिराकले पनि शक्ति दुरुपयोग गरेको भन्दै अदालतको फैसलापछि उनले २ वर्षको निलम्बित सजाय पाएका थिए ।