नेकपा फुटका नायक
फागुनको पहिलो साता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृहजिल्ला चितवन पुगेर भनेका थिए, ‘संसद् पुनर्स्थापना भए प्रधानमन्त्री बन्ने लोभ छैन। ’ फागुन ११ मा संसद् पुनर्स्थापना भयो। त्यसलगत्तै उनले नयाँ प्रधानमन्त्रीको खोजीको सुरुवात गरे। प्रधानमन्त्री बनिदिनका लागि प्रचण्ड–नेपालले नेपाली कांग्रेसका नेता शेरबहादुर देउवासँग प्रस्ताव गरे। देउवाले प्रस्ताव अस्वीकृत गरेपछि तत्काल नयाँ सरकार बनिहाल्ने सम्भावना देखिँदैन।
प्रचण्डले कानुनतः औपचारिक रूपमा नयाँ पार्टी गठन गरेका छैनन्। उनले मिलेर सरकारमा जान जसपासँग पनि प्रस्ताव गरेका थिए। त्यतिबेला जसपाले प्रचण्डलाई सोधेको थियो, ‘तपाईंको पार्टीको नाम के हो ?’ विनापार्टीका नेता प्रचण्डसँग सरकार गठनका लागि सांसद संख्या पनि पुग्दैन। स्पष्ट रूपमा भन्दा त्यति ठूलो दलको नेता रहेका प्रचण्डलाई यतिबेला प्रधानमन्त्री बनिदिने व्यक्ति खोजिहिँड्नुपर्ने अवस्था आउनु दुःखदायी छ।
सर्वोच्च अदालतको फैसलालाई सामान्य भन्ने प्रधानमन्त्री केपी शर्मा ओली प्रचण्ड–नेपालको अल्पमत देखेपछि उनको चुरीफुरी घटेको छैन। आइतबार झापाको दमकमा पुगेर उनले प्रचण्ड–नेपाललाई चेतावनी दिए, ‘संसद् मुद्दा जितेर ल्याएको हो भने मलाई हटाएर देखाउनुस्। ’ प्रधानमन्त्री ओली जुन शक्ति देखाइरहेका छन्, त्यो उनको घमन्ड मात्र हो। उनले पुस ५ अघिको नेकपाको शक्ति गुमाइसकेका छन्।
ओली र प्रचण्ड यसअघि झन्डै दुईतिहाइ मत ल्याएको नेकपाका अध्यक्षद्वय थिए। नेकपासँग जुन शक्ति थियो, त्यसले मुलुक र जनताका पक्षमा जे काम गर्न पनि सक्थ्यो। उनीहरू दुईजनाको घमन्डले नेकपा क्षतिग्रस्त भइसकेको छ। यसले जनता र प्रतिपक्षलाई कत्ति पनि प्रभाव पार्दैन, बरु उनीहरू दुईजना शक्तिहीन हुन पुगेका छन्। नारायणहिटीको शक्तिशाली राजा हुन खोज्दा सदाका लागि नागर्जुन दरबारमा थन्किनुपरेको पूर्वराजा ज्ञानेन्द्रको नियति ओली र प्रचण्डले पनि अब भोग्दै जानेछन्। यी दुईजनाको घमन्डले नै नेकपा क्षतिग्रस्त भएको हो। त्यसले जनता र प्रतिपक्षलाई कुनै हानि पुर्याएन, बरु उनीहरूलाई नै शक्तिहीन बनायो।
नेपाली कम्युनिस्टहरू जुटेर होइन, फुटेर रमाउन मन पराउँछन् भन्ने विगतका पटकपटकको फुट परम्पराले पनि स्पष्ट पार्छ। ओली र प्रचण्डले पनि त्यही परम्परालाई निरन्तरता दिए। छिमेकी शक्तिराष्ट्रहरूले मिलाए मिल्ने र फुटाए फुट्ने अद्भुत परम्परालाई यसपटक कम्युनिस्ट नेताहरूले पनि अक्षरशः पालना गरे।
नेपालमा कम्युनिस्ट पार्टीले यति धेरै जनमत पाएको यो नै पहिलोपटक थियो। नेपाली कम्युनिस्ट आन्दोलनका लागि यो ‘दुर्लभ ऐतिहासिक उपलब्धि’ पनि थियो। नेपालका राजनीतिक दलहरूलाई यस्तो उपलब्धि बिरलै प्राप्त हुन्छ। यसअघि नेपाली कांग्रेसलाई २०१५ सालमा दुईतिहाइ मत प्राप्त भएको थियो। त्यस्तो उपलब्धि त्यसयता कांग्रेसले पनि प्राप्त गर्न सकेको छैन। लाग्छ– यस्ता उपलब्धि एक युगमा एकपटक आउँछ।
पर्दा लागिसकेको छैन। समय बाँकी नै छ। दुर्घटनाग्रस्त नेकपालाई जीवन्त तुल्याउने तागत कसले निकाल्न सक्ला र ?
प्रजातन्त्र स्थापनापश्चात् नेपालमा बहुमतको सरकार २०१५ साल, २०४७, २०५४ र २०७४ सालमा गठन भए। यसमध्ये तीनपटक कांगे्रस र एकपटक कम्युनिस्टहरूले सरकार गठन गरे। कांग्रेसले कुनै पनि कार्यकाल पूर्णरूपमा सञ्चालन गर्न सकेन। कम्युनिस्टहरूले पनि सकेनन् अर्थात् ओली नेतृत्वको सरकारले पनि पूर्ण कार्यकाल काम गर्न पाएन। ओली नेतृत्वको सरकारले पूर्ण कार्यकाल काम गर्न सकेको भए यसको सफलताको सन्देश विश्वभर जान्थ्यो र विश्वका कम्युनिस्टहरूलाई नैतिक बल प्राप्त हुन्थ्यो। यसको जस ओली र प्रचण्डले पनि पाउँथे।
यति मात्र होइन, यो विजयले ओली र प्रचण्डप्रति नेपाली जनताको दृष्टिकोण आम रूपमा बदलिन्थ्यो। प्रचण्ड आफ्नो खेमाका नेता थिए नै, पूर्वएमालेहरूका पनि नेता हुन्थे। ओलीले उनलाई सहयात्रीका रूपमा लिन्थे। आगामी महाधिवेशनमा पाँच वर्षका लागि पार्टी अध्यक्षता गर्ने सुअवसर पाउँथे। जनादेशको अनादर र सत्ता र पदको लोभ गर्दा प्रचण्डले त्यो अवसर सदाका लागि गुमाए।
प्रचण्डले राजनीतिक यात्राका क्रममा धेरै सहयात्री पनि गुमाए। ती सहयात्रीहरूलाई जिताएका भए प्रधानमन्त्री बनिदिनुस् भनेर देउवाकहाँ पुग्नुपर्ने थिएन। उनले आफूले मात्र जितिरहे। नेकपामा एकता भएपछि पनि जित्न खोजे। जित्नका लागि हरप्रयास गरे। अन्ततः ओलीसँग हार खाएर सडकमा निस्किए। जबकि पार्टीभित्र फरक विचार राख्ने ओलीलाई जिताइदिएका भए प्रचण्डको हार हुँदैनथ्यो। ओलीलाई अग्रगामी सहयात्रीका रूपमा पनि उनले लिन सकेनन्।
ओली र प्रचण्डलाई स्पष्ट होस्– जनताको जनादेश सत्ता र पदभन्दा ठूलो कहिल्यै हुँदैन। जनादेशले पटकपटक राजनीतिक व्यवस्था बदलिएका छन्। जनादेशको साथले नै सात साल, छयालीस साल र ६२÷६३ को जनआन्दोलन सम्भव भएका थिए। नेकपा शक्ति र नेकपा नेतृत्वको सरकार पनि जनताको जनादेशबाट निर्माण भएको हो, ओली र प्रचण्डको शक्तिले मात्र होइन। नेकपालाई त्यति ठूलो उपलब्धि जनताले दिलाएका थिए। उनीहरूलाई पनि पटकपटक जिताइदिएका थिए। यो जनादेशलाई पाँच वर्षसम्म रचनात्मक रूपमा सम्बोधन गर्न सकेका भए नेपाली कम्युनिस्ट आन्दोलनका लागि सम्झनालायक घटना बन्ने थियो। ओली र प्रचण्डले पनि कहिल्यै हार्दैनथे। नेपाली कम्युनिस्ट आन्दोलनलाई जिताउँदा जस्तो आनन्द ओली र प्रचण्डलाई कहिल्यै आउँछ होला र ?
ओली र प्रचण्डलाई नेपाली जनतालाई जिताउने अधिकार मात्र छ तर अनादर गर्ने अधिकार छैन। उनीहरूलाई प्राप्त भएको पछिल्लो परिणाम जनादेशको अनादर गरेकाले नै हो। तर जसले एकपटक नेपाली जनताको मन जित्न सक्छन्, नेपाली जनताले उसैलाई सदैव जिताउनेछन्। हाम्रा नेताहरूले यस्तो मौका पटकपटक चुकाउँदै आइरहेका छन्। यसपटक ओली र प्रचण्ड पनि चुके। नेपाली कम्युनिस्ट आन्दोलनलाई दुर्घटनाग्रस्त अवस्थामा पुर्याएको दोषभागी यी दुई नेता नै हुनेछन्।
राजनीतिका अधिकांश पार्टीहरू राष्ट्रको समुन्नतिका निम्ति कहिल्यै फुटेका छैनन्। जति फुटेका छन्, सत्ता स्वार्थ र अहंकार तथा घमण्डले फुटेका छन्। नेकपाको फुटमा पनि यिनै पक्ष निहित छन्। नेकपा पार्टी एकता राष्ट्रको समृद्धिका लागि थियो भने पक्कै पनि फुट्दैनथे। उनीहरू यति ठूलो उद्देश्य बोकेका दूरदर्शी नेता थिए भने यतिबेला नेकपाले दुर्घटनाग्रस्त अवस्था भोग्नु पर्दैनथ्यो। उनीहरूको घमण्ड र अहंकारले नेकपा अस्तित्व समाप्त भइसकेको छ। यति मात्र होइन, मुलुकको समृद्धि र जनताको समुन्नति गर्ने सुअवसर पनि गुमिसकेको छ। उनीहरूले अहंकार र लोभको भारी बोकिरहेका छन्। त्यो भारी नबिसाएसम्म ओली र प्रचण्डहरूका कारण भोलिका दिन पनि नेकपाहरूले जनादेश र मुलुक समृद्धि गर्ने सुअवसर पटकपटक गुमाइरहनुपर्नेछ।
जनताले खोजेको शान्ति र विकास र रोजगार मात्र हो। यति तीन चिज दिँदा जनताका मनमनमा बस्न सकिन्छ भने त्योभन्दा ठूलो उपलब्धि के हुन्छ र ? त्यतिबेला अहिलेसम्म गरेका संघर्ष र नेतृत्वको सान्दर्भिकता पनि ठहरिन्थ्यो। नेपालका तीन ठूला नदी कोशी, गण्डकी र कर्णालीहरू ठूलासाना हजारौं नदी मिसिएर युगौंदेखि हिमालयमुन्तिरका डाँडाकाँडा, पाखापखेरा, टार, फाँट हुँदै निरन्तर बगिरहेका छन् र हरियाली पारिरहेछन् भन्ने पाठ नेकपाको नेतृत्वमा पुगेका ती दुई सहयात्रीले कहिल्यै सिकेनन्।
विश्व चर्चित राइट दाजुभाइको लामो सहयात्रामा जहाज आविष्कार भई आकाशमा उड्यो। आज उनीहरूले विकास गरेको प्रविधि विस्तार गरेर मान्छे चन्द्रमा पुगिसक्यो। हाम्रै उदाहरण हेर्ने हो भने हास्य कलाकार हरिवंश आचार्य र मदनकुष्ण श्रेष्ठको लामो सहयात्राले नेपाली कला क्षेत्र निकै माथि उठ्यो। दुई भाइ मिलेर जाँदा असम्भव काम पनि पूरा गर्न सकिन्छ भन्ने ताजा उदाहरण हो यो। ओली र प्रचण्डको होस्टे र हैंसेमा पनि नेपाली कम्युनिस्ट आन्दोलनको उचाइ तथा नेपाल र नेपालीको उन्नति अग्लिनेमा दुईमत थिएन।