सत्ताले कम्युनिस्ट बनाएका ऋषि कट्टेल

सत्ताले कम्युनिस्ट बनाएका ऋषि कट्टेल

२०५४ मा महाकाली सन्धि अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा विवाद हुँदा उनी अनुमोदन गर्नुहुन्न भन्ने पक्षमा उभिए


छोराको एउटा अठोटले मुलुकको राजनीतिमा उथलपुथल भएकोमा ९६ वर्षकी आमा इच्छावतीमा न कुनै हर्ष छ न त विस्मात। ‘सबैले मोबाइलमा हेर्छन्। मलाई पनि देखाउँछन्, यी तपाईंका छोराले मुद्दा जितेछ, सबैलाई पल्टाएछ भन्छन्। यति भएपछि अब ऋषिले के पाउँछ, पेन्सन पाउँछ ?’ इच्छावती सोध्छिन्।

१९ वर्ष पढाएर पेन्सन पाउने बेला सरकारी जागिर छाडेर राजनीतिमा होमिएपछि उनको मनमा लागेको चोट अहिलेसम्म पुरिएको छैन। ऋषि कट्टेलले पेन्सन पाएको हेर्ने इच्छावतीको ठूलो इच्छा छ।

दुई वर्षसम्म दुईतिहाइको सरकारको राज गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई अलग्याएपछि चर्चामा छन्, ऋषि कट्टेल।

गोरखा नगरपालिका– ८ कट्टेलडाँडाको घरमा रहेकी आमालाई भने यो फैसलाले खासै उत्साहित बनाएको छैन। ‘नाम चलेर के पाउँछ र ? पेन्सन पाउँछ ? केही पनि पाउँदैन रहेछ। एउटा सरकारी जागिर खाएर पैसा कमाइदिए, पेन्सन पाइदिए रमाइलो हुन्थ्यो’, रेडियो, टेलिभिजनमा छोरालाई देखेर, सुनेर खुसी हुँदै आमा भन्छिन्, ‘एकै वर्ष पख्, तेरो पेन्सन आउँछ भनेर परान परेको हामी। तर मानेन। जेसुकै भन्नु, राजनीति त म छाड्दै छाड्दिनँ, गर्धन गए नि भनेको। बाउलाई एउटा राम्रो टोपी पनि किनिदिएन। मेरो दुःख त्यसै खेर गयो भन्नुहुन्थ्यो बा।’

जहिले पनि आमा राजनीतिमा नहिँड्न भन्छिन्, तर ऋषि कट्टेल मान्दैनन्। ‘अचेल घरमा आउँदा पनि ठूलोबाजी हुन्छ कहिलेकहिले। बारीभरि घाँस छ, भैंसी पालेर बस्। दूध र भात खा। अब बूढो भइस्, नहिँड् भन्छु। म त हिँड्न सकुञ्जेल भुइँमा हिँड्छु, नसके आकाशमा हिँड्छु, तैपनि राजनीति छाड्दिनँ रे, त्यसो भन्छ’, आमा गुनासो गर्छिन्।

अदालतको फैसलापछि उनका समकक्षी भने उत्साहित छन्। निष्ठावान्ले न्याय पाएको उनका दवलीहरूको टिप्पणी छ। ‘जुझारु, रुढिवादको कट्टर विरोधी, अन्याय–अत्याचार देखिनसहने। सत्यका पक्षमा एक्लै हुञ्जेल पनि लडिरहने हुनुहुन्थ्यो’, बालसखा हरि अर्याल सम्झन्छन्, ‘ज्ञानमार्ग माविको प्रधानाध्यापक, मनकामना माविको प्रधानाध्यापक र सरस्वती माविको प्रधानाध्यापक भएर काम गर्नुभयो तर उहाँमा आर्थिक लोभलालच कत्ति पनि भएन। पकेटमा सुको नभए पनि घर खर्च नभए पनि दायाँबायाँ गरेर कमाउनुपर्छ भन्ने कहिल्यै सोच्नुभएन। निष्ठामा रहिरहनुभयो।’ सत्य र न्यायका पक्षमा बोल्नुपर्दा दुई दिनसम्म लगातार बोलिरहनु पनि तयार हुने उनले बताए।

‘अहिले कम्युनिस्ट राजनीतिमा आदर्श छाड्दै हिँड्ने, जबज भन्दै संसदीय भासमा जाने, विकृत बन्ने, पदलोलुप बन्ने संस्कृति विकास भइरहेको छ। राजनीति भनेको कमाउने पेसा हो भन्ने मान्यताको विकास गरिरहेका छन्, यो प्रदूषण फ्याँक्नुपर्छ ,’—ऋषि कट्टेल, नेता नेकपा

मनकामना माविमा कार्यरत रहँदा तत्कालीन राष्ट्रिय पञ्चायतका सांसद नारायण मल्लको विरोध गरेबापत कट्टेलमाथि अराष्ट्रिय तत्वको आरोप लाग्यो। प्रहरीले बारम्बार पक्राउ गरिरहन्थ्यो। सरस्वती माविमा कार्यरत रहँदा तत्कालीन अञ्चलाधीश खड्गबहादुर जिसीले ऋषि कट्टेललाई हटाएपछि मात्र विद्यालयलाई स्वीकृति दिने अठोट गरे। पञ्चायत सरकारबाट उनीमाथि धेरै षड्यन्त्र हुन थालेपछि तत्कालीन जिशिअ जयनारायण झाले सुरक्षित हुन सुझाव दिए। त्यसपछि जागिर छाडेर उनी पूर्णकालीन राजनीतिक कार्यकर्ता बने।

‘२०२७ सालदेखि शिक्षण पेसामा थिएँ। अंग्रेजी पढाउँथें। २०४६ सालमा छाडें’, कट्टेल भन्छन्, ‘एक वर्ष पढाएको भए पेन्सन हुन्थ्यो, तर मैले धैर्य गर्न सकिनँ।’

सरस्वती क्याम्पसमा पढ्दा २०२४ सालमा अनेरास्ववियुको सदस्यता लिएका कट्टेलले २०२६ सालमा बैकुण्ठ कट्टेलको हातबाट नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए। 

त्यसताका कट्टेलडाँडामा जन्मेका जोकोही पनि कम्युनिस्ट हुनुपर्छ भन्ने मान्यता थियो। ‘कट्टेलडाँडालाई लालकिल्ला भन्थे। हामीलाई पनि यहाँ जन्मेको जोकोही पनि कम्युनिस्ट नै हुनुपर्छ भनेर प्रशिक्षण दिइन्थ्यो’ ऋषि कट्टेलका समकक्षी बलराम कट्टेल भन्छन्, ‘नेता पुष्पलाल आइरहनुहुन्थ्यो। यहाँका ८० घर कट्टेल त्यसबेला सबै कम्युनिस्ट थियौं।’

१९ वर्षको शिक्षक जीवनमा उनी नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय सदस्यसमेत थिए। हेटौंडाको भुटनदेवी माविमा संगठन स्थापना हुँदादेखि सक्रिय उनी गोरखा जिल्लाको संगठनको संस्थापक नेता थिए।

२०४६ सालको माघ महिनामा शिक्षण जागिर छाडेर काठमाडौंको जनआन्दोलनमा पुगेका उनी तत्कालीन नेकपा माक्र्सवादीका केन्द्रीय सदस्य बने। पुष्पलाल समूह र मनमोहन समूहबीच एकता भई नेकपा एमाले बन्नुमा उनको ठूलो भूमिका रह्यो। त्यतिबेला उनी राष्ट्रिय परिषद् सदस्यसमेत बने।

सो पार्टीमा पनि नयाँ जनवादी कार्यक्रम र जनताको बहुदलीय जनवाद दुई लाइन संघर्ष सुरु भएपछि उनी सीपी मैनाली नेतृत्वको नयाँ जनवादी कार्यक्रमका पक्षमा उभिए। २०४८ र २०५१ को निर्वाचनमा गोरखाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बने पनि उनी दुवैपटक पराजित बने।

२०५४ सालमा महाकाली सन्धि अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा विवाद हुँदा उनी अनुमोदन गर्नुहुन्न भन्ने पक्षमा उभिए। त्यसपछि वामदेव गौतम, सीपी मैनालीलगायतका नेताहरूसँग मिलेर कट्टेलले नेकपा माले गठन गरेर त्यसको पोलिटब्युरो सदस्य र संगठन विभागका प्रमुखसमेत बने। २०५६ मा वामदेव गौतमले नेकपा एमालेसँग पार्टी एकता गरेपछि कट्टेल सीपी मैनालीलगायतका नेताहरूसँग नेकपा मालेमै आबद्ध रहेर अघि बढिरहे।

२०६१ सालको तत्कालीन राजा ज्ञानेन्द्रको ‘कू’ पछि सीपी मैनाली दरबारनिकट हुँदै गएपछि कट्टेलले मैनालीसित लामो राजनीतिक सहयात्रा पारपाचुके गरे। उनले नेकपा (एकीकृत माले) गठन गरी अघि बढे। त्यसपछि साना कम्युनिस्ट पार्टीहरूबीच एकता गरी नेकपा एकीकृतको नेतृत्व पनि गरे।

एकता र फुटको क्रम चलिरहँदा कट्टेलले २०६८ सालमा आफूले कम्युनिस्ट पार्टीको सदस्यता लिएकै नामको पार्टी ‘नेपाल कम्युनिस्ट पार्टी’ दर्ता गरे। तर नेकपा एमाले र एमाओवादी मिलेर २०७५ सालमा निर्वाचन आयोगमा सोही नामको पार्टी गठन गरेपछि कट्टेलले सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए।

सर्वोच्चले गत हप्ता कट्टेलकै पक्षमा मुद्दा फैसला गरेपछि अहिले उनको सर्वत्र चर्चा छ।

‘फैसलाले कस्तो महसुस गर्नुभएको छ ?’

‘नाम चलेर के पाउँछ र ? पेन्सन पाउँछ ? केही पनि पाउँदैन रहेछ। एकै वर्ष पख्, तेरो पेन्सन आउँछ भनेर परान परेको हामी। तर मानेन। जेसुकै भन्नु, राजनीति त म छाड्दै छाड्दिनँ, गर्धन गए नि भनेको। बाउलाई एउटा राम्रो टोपी पनि किनिदिएन। मेरो दुःख त्यसै खेर गयो भन्नुहुन्थ्यो बा।’— इच्छावति कट्टेल , ऋषिकी आमा

‘यसले नेपाली राजनीतिमा ठूलो सन्देश दिएको छ। दक्षिणपन्थी, विसर्जनवादी धार बलियो हुँदै गइरहेको अवस्थामा यो फैसलाले तितरवितर हुन बाध्य भएका छन्। अब माक्र्सवादी, लेनिनवादी र माओ विचारधारालाई काम गर्न सहज हुने भएको छ।

पश्चिमाको निर्देशनमा साना पार्टीमथि प्रतिबन्ध लगाएर दुई ठूला पार्टी मात्र बनाउन चाहन्थे; त्यो भत्किएको छ। यो फैसलाले कम्युनिस्टहरूको क्रान्तिकारी धारालाई सुदृढ गरेको छ। संसदीय राजनीतिमा एउटा समीकरण भत्किएको मात्रै छैन; संसदीय प्रणालीमै धक्का लागेको छ।

यो फैसलाले एउटा महŒवपूर्ण सन्देश पनि दिएको छ। म आफ्नो अडानमा थोरै पनि विचलित भएर मुद्दा फिर्ता लिएको भए मैले पार्टी चलाउन पुग्ने खर्च पाउँथें। तर मलाई प्रलोभनले गलाएन। यसले निष्ठाको राजनीति गरेको रहेछ भन्ने वास्तविकता आम मिडियाले थाहा पाएका छन्।’

‘अब तपाईंको लाइन के हो त ?’

‘संसदीय प्रणाली खारेज गर्ने पक्षमा छौं।’

‘तर तपाईंको पार्टीको आकार सानो छ। सामथ्र्य छ त ?’

‘आकार ठूलो हुँदा के हुने रहेछ भन्ने त भर्खर देखिएको छ। म उपभोक्तावादी राजनीति अराजनीतिक छ भन्नेमा दृढ छु। अहिले कम्युनिस्ट राजनीतिमा आदर्श छाड्दै हिँड्ने, जबज भन्दै संसदीय भासमा जाने, विकृत बन्ने, पदलोलुप बन्ने संस्कृति विकास भइरहेको छ। राजनीति भनेको कमाउने पेसा हो भन्ने मान्यताको विकास गरिरहेका छन्। यो प्रदूषण फ्याँक्नुपर्छ, निष्ठाको र आदर्शको राजनीति गर्नुपर्छ भन्ने तप्काको पनि उत्तिकै विकास भइरहेको छ। राजनीति भ्रष्टाचारमुक्त, कमिसनतन्त्रमुक्त बनाउन निरन्तर लागिरहेको छु र लागिरहनेछु। एक दिन अवश्य सफल भइन्छ।’

‘साथ दिनेहरू देख्नुहुन्छ ?’

‘जब राष्ट्र संकटमा पर्छ, त्यसबेला निष्ठाको राजनीति गर्नेको खोजी हुने रहेछ। संकट नआएसम्म खाइपिइमा रमाउनेहरू, गाउँगाउँमा ठेक्का लुट्नेहरू, स्रोत र साधनको दोहन गर्नेहरू, माफियातन्त्र चलाउनेहरू, कालोधन्दा गर्नेहरू फस्टाइरहन्छन्। तर जब संकट आउँछ तब सत्तासँग असन्तुष्ट हुनेहरूको जमात ठूलो हुन्छ। अहिले मेरो खोजी किन भएको ? मेरो पक्षमा फैसला हुनु ठूलो कुरा केही थिएन तर किन चर्चा धेरै भएको ? सत्तासँग असन्तुष्ट हुनेले उकुसमुकुस पोखेका हुन्। आम जनमानस त यस्ता विकृतिप्रति असन्तुष्ट छन् नि। निष्ठाको राजनीति गर्नेले उनीहरूको साथ पाउँछ भन्नेमा म विश्वस्त छु। यसले गर्दा पार्टीको आकार १० गुना ठूलो बनाउने विश्वास छ।’

‘तपाईंको पार्टी कुन विचारधारा र सिद्धान्तले चल्छ ?’

‘माक्र्सवादी, लेनिनवादी र माओ विचारधाराले चल्छ। पुष्पलाल मेरो आधार हो, मार्गदर्शक हो। जनताको जनवादी राज्यसत्ताले मात्र परिवर्तन सम्भव छ भन्ने मेरो पार्टीको सिद्धान्त हो। विकृत बाटो अपनाएर पार्टी ठूलो बनाउने पक्षमा म छैन।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.