चिराइतो खेतीमा आकर्षण

चिराइतो खेतीमा आकर्षण

भोजपुर : चिराइतो खेतीमा किसान आकर्षित हुन थालेका छन्। उचित मूल्य र व्यवस्थित बजारीकरणको आशामा भोजपुरका किसान व्यावसायिक चिराइतो खेतीमा लागेका हुन्।  ज्वरो, दम, रुघाखोकी, मधुमेह, पिसाब, पेटलगायत रोगका लागि अचुक जडीबुटीकारूपमा प्रयोग हुने चिराइतो खेतीमा किसानको आकर्षण बढ्न थालेको हो। 

उच्च पहाडी भेगमा हुने बहुउपयोगी चिराइतो गाउँघरमा रोगको निदानका लागि प्रयोग हुँदै आएको छ। पात, डाँठ, जरा सम्पूर्ण भाग नै औषधिका रूपमा प्रयोग हुने चिराइतोलाई व्यावसायिक रूपमा खेतीमा परिणत गर्न लागिपरेको भोजपुर नगरपालिका—२, हेलौँछाका देव विष्ट बताउँछन्।

‘गाउँघरको अचुक जडी भन्नु नै चिराइतो छ, यसलाई व्यवसायीकरण गरेर लैजाने सोचले खाली जमिनमा खेती विस्तार गरेको छु, आशा छ बजार मूल्य राम्रै होला’, उनले भने। विष्टजस्तै धेरै किसानले व्यावसायिक फर्म खोलेर चिराइतोखेती सुरु गरेका छन्। उत्पादित चिराइतो अहिले फर्मबाटै प्रतिमन ६ हजारले बिक्री हुने गरेको विष्ट सुनाउँछन्। 

चिराइतो खेतीमा आकर्षण बढेपनि उचित मूल्य नपाउँदा किसान निराशा पनि देखिन्छन्। औषधिजन्य उत्पादकत्व भएकाले भविष्यमा चिराइतोखेती आम्दानीको भरपर्दो स्रोत हुनसक्नेमा आशावादी रहेको अर्का कृषक एकराज विष्टले बताए। चिराइतोको उचित मूल्य र सुव्यवस्थित बजारीकरणले खेतीप्रति किसान आशावादी देखिन्छन्। थोरै मूल्य भएपनि अन्य बालीनालीभन्दा यसको आम्दानी तुलानात्मक रूपमा राम्रै रहेको कृषक सुनाउँछन्। खेतीमा राज्यकातर्फबाट पनि अनुदान, कार्यक्रम, सहयोग व्यवस्था भइदिए खेतीलाई विस्तार गर्न थप टेवा मिल्ने कृषक बताउँछन्।

यहाँ उत्पादित चिराइतो चीन, भारत र बंगलादेशलगायत विभिन्न मुलुकमा निकासी हुने गरेको छ। तर चिराइतो खेतीमा बिचौलिया र मूल्य शृृखंला निर्धारण नगर्दा किसान मर्कामा परेको सामुदायिक वन उपभोक्ता महासंघ भोजपुरका अध्यक्ष राजन राईको भनाइ छ। जिल्लाकोसाल्पासिलिछो गाउँपालिका, किमालुङ, तिम्मा, सुन्तले, आमचोक गाउँपालिका क्षेत्रका उच्च भेगमा चिराइतो खेतीको पकेट क्षेत्र मानिन्छ। 

जडीबुटी खेतीका लागि भोजपुरमा चिराइतो र टिम्मुरको पकेट क्षेत्रसमेत निर्धारण गरिएको छ। जिल्ला जडीबुटी फोकल समितिको निर्णयअनुसार आमचोक र हतुवागढी गाउँपालिका क्षेत्रमा टिमुरखेतीका लागि पकेट क्षेत्र बनाइएको छ। भोजपुर नगरपालिका ३ र ४, टेम्केमैयुङ गाउँपालिकाको १, तिम्मा र ५, खावालाई चिराइतोको पकेट क्षेत्र तोकिएको छ। 

बजारमा माग भएको र उच्च मूल्य पाउने जडीबुटीलाई आधार मानेर काम गर्न लागिएको हो। राज्यले थोरै थोरै बजेट धेरै स्थानमा खर्चनुभन्दा व्यावसायिक हिसाबले लगानी गर्नुपर्ने तिम्माका उत्तम खड्काले बताए। उनले सरकारले चिराइतोको ढुवानी र बजारीकरणमा अनुदान दिए किसानलाई राहत हुने बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.