एक साहसिक कलमको उदाहरण
नेपाली संगीत–साहित्यका लागि एकदमै महत्त्वपूर्ण कृति प्रकाशित गरेको छ, हिमाल किताबले। पिटर जे. कार्थकलिखित ‘नेपाली संगीतस्रष्टा’ नामक यस पुस्तकमा नेपाल र दार्जिलिङका संगीत–कलाकारहरूको सूक्ष्म–शल्यक्रिया गरिएको छ। साँच्चै भन्ने हो भने पिटरजस्तो संगीतकार र लेखक दुई व्यक्तित्व एकाकार भएपछि मात्र यति खँदिलो कृति जन्मिन्छ। उनले यस पुस्तकमा सर्जकलाई शिरमा बोकेर हिँड्ने सनातनी काम मात्र गरेका छैनन्, कतिपयलाई रसातलमा भसाउने काम पनि गरिदिएका छन्।
एउटा उदाहरण जितेन्द्र बर्देवाको। पिटरले उनलाई शिष्ट, सहयोगी तथा प्रतिभाशाली कलाकारमा दर्ता गराएर अरुणा लामाले गाएको ‘यहाँ फूल नखिली छ, बहार आउन नै भुलेछ’ गीत एक निमेषमै लेखेको चर्चा गरेका छन्। पिटरले जितेन्द्रलाई सबै ठाउँमा प्रशंसा नै गरेका छन्। अझ अम्बर गुरुङले छोडेपछि आर्ट एकेडेमी अफ म्युजिक बर्देवाले नै सञ्चालन गरेका थिए। बर्देवामाथि उनले यस्तो टिप्पणी गरेका छन्— सन् १९८६। अवसर : दसैंको अन्तिम दिन, जाडो आउनुअघिको चिसो बेला। ठाउँ : दार्जिलिङको चोकबजार। समय : रातको ९ बजे। पात्र : जितेन्द्र बर्देवा, त्यतिखेर लोक मनोरञ्जन शाखाको संगीत विभाग प्रमुख। त्यस पदमा अम्बर गुरुङका उत्तराधिकारी। जितेन्द्रसँग थिए देवप्रकाश राई, दार्जिलिङको अखिल भारत गोर्खा लिगका आजीवन नेता तथा सन् १९५७ देखि पश्चिम बंगालको कलकत्तास्थित विधानसभामा दार्जिलिङबाट निर्वाचित विधायक।
कृति खालि आलोचनाका लागि मात्र लेखेको देखिँदैन। नत्र रक्सीको कुलतले बितेकी भनेकी अरुणा लामालाई पोर्चुगलकी विख्यात गायिका अमालिया राड्रिग्स अनि दक्षिण एसियामा रुबाई गाउने विख्यात गायिकाहरू सुरैया र नूरसँग तुलना गर्ने नै थिएनन्। लेखकले यस पुस्तकमा साहसिक आलोचना गरेका छन्।
‘देवप्रकाशले आफ्नो ओभरकोटमा बिहाइभ ब्रान्डी घुसारेका थिए। जितेन्द्रले चाहिँ आफ्नो ओभरकोटमा जिउँदो कुखुराको कौडे भाले बोकेका थिए। आश्चर्य मानेझैं गरी एकअर्कालाई ‘अरे हौ’ र ‘हल्लो’ भन्दै अनि मातेको सुरमा अभिवादन गर्दै उनीहरू पुरानो हुलाक कार्यालयको सिँढीमा बसे अनि पिउन थाले। कुखुराको भाले जितेन्द्रको ओभरकोटबाट फुत्कियो र दोरंगा बजारमा रहेको दर्जीको पसलतिर गायब भयो। ‘त्यसको केही वर्षपछि दुवैजना बिते रक्सीमा चुर्लुम्म डुबेर।’
यसरी पिटरले जहाँजहाँ प्रशंसा गर्नुपर्ने हो एकदमै उदार हृदयले गरेका छन्। आफ्ना संगीतगुरु अम्बर गुरुङलाई उनले संगीतको सगरमाथामै चढाएर प्रशंसा गरेका छन्। तर एउटी दार्जिलिङकी र अर्की काठमाडौंकी गायिकासँगको ‘सम्बन्ध’को प्रसंगमा अम्बरलाई पनि भित्तोमै पु¥याएका छन् गायिका–संगीतकार शान्ति ठटालको स्वभावको उनले जति खुलेर कटाक्ष गरेका छन्, उनको गायकीको त्यति नै मुक्तकण्ठले प्रशंसा पनि गरेका छन्। पिटरले शान्तिलाई एकलकाँटे, अरूसँग नमिल्ने, छुच्ची र घमण्डी व्यक्तित्वको रूपमा प्रस्तुत गरेका छन् भने फेरि उनैको स्वरको यति तारिफ गरेका छन्, उनलाई टक्कर दिने अर्की गायिका अझसम्म पनि नेपाली गायनमा आएकी छैन भनेर। यसरी धेरै कलाकारलाई उनले मूल्यांकनको नाङ्लोमा हालेर निफनेका छन् र छिन्केर तिनका चामलबाट घुन, कनिका र भुस छुट्ट्याएका छन्। यस क्रममा उनले माथि उल्लिखित नामबाहेक दिलमाया खाती र भक्तराज आचार्यको कित्ताकाट गरेका छन्। तर, भक्तराजको प्रसंगमा भने उनको गायकीको प्रशंसा गर्न छुटाएका छैनन्। तर दिलमायालाई चाहिँ स्वभावले ‘दम्भी’, ‘अहंकारी’ र बेसुरा गायिकाको रूपमा नामांकन गरेका छन्।
त्यसैले यो पुस्तक पढे भने केही संगीतकार र गायक–गायिका रिसले मुरमुरिन्छन्। धेरै वर्षअघि सदाहत हसन मन्टोले आफ्नो संस्मरणात्मक पुस्तक ‘मीना बाजार’मा तत्कालीन बम्बइया सिनेकलाकारहरूलाई नंग्याउँदै लुगा लगाइदिएजस्तै पिटरले ‘नेपाली संगीतस्रष्टा’मा धेरैलाई नांगेझार पारेका छन्। तर उनले यो कृति खाली आलोचनाका लागि मात्र लेखेको देखिँदैन। नत्र रक्सीको कुलतले बितेकी भनेकी अरुणा लामालाई पोर्चुगलकी विख्यात गायिका अमालिया राड्रिग्स अनि दक्षिण एसियामा रुबाई गाउने विख्यात गायिकाहरू सुरैया र नूरसँग तुलना गर्ने नै थिएनन्। लेखकले यस पुस्तकमा साहसिक आलोचना गरेका छन्। हुन त यो उनले अंग्रेजीमा लेखेर उनी जिउँदै हुँदा प्रकाशित ‘नेपाली म्युजिक मेकर्स’को नेपाली अनुवाद हो।
‘नेपाली संगीतस्रष्टा’मा नातिकाजी, शिवशंकर, बच्चुकैलाश, नारायणगोपाल, अम्बर गुरुङ, तारादेवी, कर्म योञ्जन, गोपाल योञ्जन, उही गोविन्द, अरुणा लामा, पुष्प नेपाली, जितेन्द्र बर्देवा, शरण प्रधान, लुई ब्यांक्स, कवि अगमसिंह गिरी, रञ्जित गजमेर, फत्तेमान, दिव्य खालिङ आदि सीमापारि र काठमाडौं खाल्डोका कलाकर्मीका दोष र गुण दूधको दूध पानीको पानी हुने गरी प्रस्तुत गरेका छन्। यीमध्ये उही गोविन्द, लुई, जितेन्द्र, शरणजस्ता आमपाठकले अलिअलि सुनेका र भुलिसकेका नामहरूको जुन सजीव चित्रण गरेका छन्, त्यो पिटरको मन र मस्तिष्कको जादुगरी हो। गोपाल योञ्जनको ‘मायालु हजार हुन्छन्’ बोलको एउटै गीत गाएर हिट भएका ध्रुव केसी, माणिकरत्न, एकदुइटा मात्र गीत गाएकी कुनै समयकी सुरिलो कण्ठ भएकी गौरी केसी, झलकमान आदि यताका र उताका इन्द्र थपलिया, निर्मला गजमेर, कुमार सुब्बा, संगीत सुब्बा, रवि दास, अशोक राई आदिलाई संक्षेपमा सुन्दर चिनारी दिन पिटरको कलम सक्षम छ।
वास्तवमै यो दार्जिलिङ र नेपालको २०१६–१७ सालपछि २०३२–३३ सालसम्मको सांगीतिक इतिहास नै हो। किनभने पिटरको कौशर्य र नवयौवन उतै बित्यो। त्यसपछिका सिंगो १० वर्ष रेडियो नेपालमा संगीतकर्ममा बित्यो। उनले एकै दिन नारायणगोपाल र गोपाल योञ्जनका तीन–तीनवटा गीत रेडियो नेपालमा रेकर्ड गर्दाको प्रत्यक्ष साक्षी पनि बसे भने यस्ता कालजयी गीतहरू मितज्यू्द्वयले एकापसमा एक शब्द पनि नबोली र एकपटक हेराहेरसम्म नगरी रेकर्ड गरेको पनि देखे। पाँच दशक रेडियो नेपालमा आबद्ध भए नेपाली आधुनिक गायनकी अद्वितीय प्रतिभाका रूपमा परिचित तारादेवीको योगदानलाई रेडियोका ‘कथित प्रजातन्त्रवादी’हरूले भीरबाट एकैचोटि खोचमा मिल्काइदिएको र हाजिर गर्न खोज्दा हाजिरीकपी नै बेपत्ता पारी बेइज्जती साथ उनलाई त्यहाँबाट लखेटिएका घटनाहरू मनमा बिझाउँछन् र आज पढ्दा ती पुराना स्मृतिहरू ताजा भएर आउँछन्।
पत्रपत्रिकामा पूर्वप्रकाशित निबन्धहरूलाई पुस्तकाकारमा रूपान्तरित गर्दा गर्नुपर्ने आवश्यक सम्पादनको अभावमा अम्बर गुरुङ आर्ट एकेडेमी अफ म्युजिकमा आबद्ध भएको, पछि सरकारी लोक–मनोरञ्जन शाखामा जागिर खान थालेपछि एकेडेमी भंग भएको, आफू बेस गिटारिस्ट भएको, आफूले ‘हिलियन्स’ नामक ब्यान्ड खोलेको, गोपाल, जितेन्द्र, शरण, रञ्जित, अरुणा र उनी अम्बरका खास चेला भएको, वीरगन्जमा अंग्रेजी स्कुल चलाउन आएका, रेडियो नेपालको सेसन म्युजिसिएन भएको आदि प्रसंग निकै ठाउँमा पुनरुक्ति हुन पुगेका छन्। यसमा पिटर आफैंले वा पछि यसका सम्पादकले सम्पादन गरिदिएका भए पुस्तक पूर्ण दोषमुक्त हुने थियो। जे होस्, ‘नेपाली संगीतस्रष्टा’ एक साहसी लेखनको उदाहरण हो।