भुलक्कड बटुवा
अहिले घाम
उहिले आमा भन्नुहुन्थ्यो
फुल्दछ मान्छेको जीवन
मलाई आदर्श सिकाउने आमा
ठीक यतिखेर आश्रममा
ख्याङ ख्याङ खोकिरहेकी छन् ।
कोलम्बसको पैतालामा उभिएर
घटाइरहेछु सगरमाथाको उचाइ
र भाँचिरहेछु आफ्नै हातखुट्टा
किनकि म आधुनिक दास हुँ !
वर्तमानको लगामले नै थिचेको छ
म हरेक दिन जीवन बेचेर
निर्लज्ज मृत्युको गीत गाइरहेको हुन्छु
समय यतिखेर म हिँड्ने बाटोभन्दा
पृथक् बाटो भएर हिँड्न रुचाउँछ ।
ठीक यति बेला देशले मसँग
खोजिरहेछ राष्ट्रियताको हिसाब
म असह्य मानिसको भीडमा
हराएको कुराले
इतिहासलाई बनाएकै छ दुःखी
किन हरेक दिन मेरै दीर्घायुका लागि
आमा जपिरहनुहुन्छ— ओम् मणि पद्मे हुँ !
तर म प्रकृतिले बनाइदिएको
रंगीन बाटो भत्काएर
हिँडिरहेको छु
गन्तव्य बिर्सने भुलक्कड बटुवाझैं !