सदरमुकाममै खानेपानी संकट
भोजपुर : सुक्खायाम सुरु भएसँगै मुहानको पानीको सतह घटेपछि सदरमुकाममा खानेपानी समस्या थपिएको छ। नयाँ खानेपानी आयोजनाको खानेपानी पनि नआएपछि समस्या दिनानुदिन बढ्दै गएको हो।
पर्याप्त खानेपानी आपूर्ति नहुँदा विद्यार्थी र गृहिणीलाई बढी सास्ती छ। त्यसैगरी सहरीकरण, पूर्वाधार निर्माणमा प्रत्यक्ष प्रभाव पारेको छ। त्यसकारण अहिले खानेपानी वितरणमा समय तालिका तोकिएको छ। खानेपानी जोहोका लागि दैनिक सर्वसाधरणको सार्वजनिक धारा, पानीका मुहानमा घुइँचो लाग्ने गर्छ। खाना पकाउने पानीसमेत पर्याप्त नहुँदा अन्य प्रयोजनका लागि पानी अपुग हुने स्थानीय तारा चौहानले सुनाइन्। बिहान सबेरै स्थानीय जनसेवा धाराबाट लामो पालो कुरेर खानेपानी ल्याउनुपरेको उनले समस्या सुनाइन्।
सिलिचुङ खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समितिले वितरण गर्ने पानी कम भएपछि बजारवासीलाई एक पटकको खानेपानीले दुई दिन जोहो गर्नुपर्ने बाध्यता छ। खानेपानीका लागि घण्टौं आलोपालो गर्नुपर्ने सास्ती छ। ‘अहिले एकचोटी आएको पानीले दुई दिन थेग्नै गाह्रो हुन्छ, खानेपानी जोहो गर्न घरबाहिर धाउनुपर्छ,’ अर्का स्थानीय बिना मगरले सुनाइन्, ‘खानेपानी आउने आस वर्षौंदेखिको हो, जब हिउँद लाग्छ समस्या सुरु हुन्छ। दुई दिन जोहो गरेको खानेपानी सिद्धिने पिरलो पर्छ, खै कहिले आउने हो, पानी।’
करिब १६ सय घरधुरी उपभोक्ता रहेको सदरमुकामलाई खानेपानी धानिरहेको सिलिचुङ खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समितिले दैनिक दुई लाख लिटर मात्रै पानी वितरण गरिरहेको छ। दैनिक ४ लाख ५० हजार लिटर खानेपानी आवश्यक भए पनि मुहानको पानी घटेकाले समितिले दुई प्याकेजमा दिनको समयान्तरालमा खानेपानी वितरण गरिरहेको जनाएको छ। समितिका अध्यक्ष प्रवीण सुवालले भने, ‘मुहानबाटै खानेपानी कम आएकाले पर्याप्त पानी वितरण गर्न सकेका छैनौं, नयाँ आयोजनाको काम पनि अन्तिम चरणमा सकेको छ, चैत दोस्रो हप्तासम्म समस्या समाधान होला भन्ने आशा छ।’
सदरमुकाम र आसपासका क्षेत्रको खानेपानी संकट समाधान गर्न सरकारको ७० प्रतिशत, नगर विकास कोषबाट २५ प्रतिशत र स्थानीय उपभोक्ताबाट ५ प्रतिशत गरी कुल ४९ करोड ७८ लाख ९८ हजार लागतमा निर्माणाधीन तीनभंगाले खानेपानी आयोजनाको काम अन्तिम चरण पुगेको छ।
उक्त आयोजनाबाट भोजपुर सदरमुकाम, सिद्धेश्वर, गुप्तेश्वर, बोखिम र टक्सारका करिब २ हजार २ सय ८० घरधुरी लाभान्वित हुनेछन्। निर्माणस्थलबाट करिब ४० किलोमिटर प्रसारण लाइन र ७६ किलोमिटर वितरण लाइन गरी १ सय १६ किलोमिटर लामो आयोजनाको काम तोकिएकै समयमा सम्पन्न हुने फिल्ड इन्जिनियर लक्ष्मीप्रसाद चौधरीले बताए।
प्रतिक्रिया दिनुहोस !