धरानमा कोरोना नियन्त्रण गर्न उच्च सर्तकता
धरान : सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान हाताभित्र स्थापना गरिएको कोभिड अस्पताललाई थप व्यवस्थित गरेर संचालनमा ल्याइने भएको छ। छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सुनसरीमा कोरोना नियन्त्रणमा थप उच्च सर्तकता अपनाइएको हो।
भारतसँग सीमाना जोडिएको सुनसरीमा समेत कोराना संक्रमितको संख्या वृद्धि हुन थालेपछि उच्च सर्तकता अपनाउन सबैलाई सचेत गराइको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।
अहिले सुनसरीमा सातजना कोरोना संक्रमितको उपचार भइराखेको छ। चैत ३ देखि १० गतेसम्म ३ सय ८ जनाको पीसीआर चेक गर्दा सात जनामा संक्रमण देखा परेको प्रजिअ ढकालले जानकारी दिए।
कोरोनाका कारण सुनसरीमा एक सय ४५ जना सर्वसाधारणले ज्यान गुमाएका छन्। प्रतिष्ठानको कोभिड अस्पतालमा राम्रो उपचार नपाएकै कारण आफन्तले ज्यान गुमाएको पीडित परिवारको गुनासो रहेको छ।
बीपी प्रतिष्ठानको कोभिड अस्पताललाई बिरामीको व्यवस्थापनका लागि सम्पूर्ण तयारी गर्न निर्देशन दिएको ढकालको भनाइ छ।
प्रतिष्ठानको कोभिड अस्पतलमा १५ आईसीयू, २५ एचडीयू र ६० नर्मल बेड तयारी अवस्थामा रहेको बीपी प्रतिष्ठानका प्रवक्ता डा. चूडामणि पोखरेलले बताए। उनले बिरामीको चाप हेरेर उपचारमा संलग्न चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको बताए। प्रतिष्ठानमा संघीय सरकार र प्रदेश सरकारको सहयोगमा सय बेडको कोभिड अस्पताल स्थापना भएको छ।
प्रतिष्ठानको कोभिड अस्पतालमा एक सय २१ जनाको उपचारका क्रममा निधन भएको र एक हजार एक सय १९ जनाको उपचार गरिएको प्रवक्ता पोखरेलले बताए।
प्रतिक्रिया दिनुहोस !