शब्दमा देशको चिन्ता

शब्दमा देशको चिन्ता

कवि रत्नशमशेर थापाको शब्द सापटी लिई भन्नुपर्दा ‘गीतले मनलाई हान्छ, कविताले दिमागलाई’। नत्र सृजनाले छुन सक्दैन। त्यहीअनुरूप सर्जकहरू आफ्ना शब्दमार्फत श्रोता तथा पाठकका मन र मस्तिष्कलाई छुने प्रयास गर्छन्। यस्तै प्रयासमा छन् कवि तथा गीतकार सुनिल कोइराला। लामो समयदेखि लेख्दै मन परेका÷नपरेका सृजनाहरू संग्रहित गरी त्यसलाई मनको चाल्नोमा राखेर कनिका छाने झैं छानी जम्मा भएका गीतहरूलाई आफ्नै नाम ‘सुनिल’ मार्फत पुस्तककार दिएका छन् गीतकार कोइरालाले।

सरसर्ति हेर्दा माया, प्रेम र राष्ट्रिय भावले ओतप्रोत भएका रचना बढी मात्रामा भेट्न सकिन्छ। वरिष्ठ संंगीतकार अम्बर गुरुङले आफ्नो जीवनकालमा केही रचना हेर्दा कोइरालामा गीत लेख्न सक्ने प्रतिभा छ भन्दै मूल्यांकन गर्नुभएको थियो। दुर्भाग्य अम्बर गुरुङले गर्नुभएको त्यो मूल्यांकन पुस्तकका रूपमा आउँदासम्म उहाँले हेर्न पाउनुभएन। सायदः गीतकार कोइरालाको मनमा यो कुरा खट्किरहेको होला। नियतीको खेल नै हो कि प्रकाशनमा ढिलाइ हुँदा गीतकार रत्नशमशेर थापाले पनि यति रसिला, स्वादिला, गतिला, खँदिला र चम्किला गीतहरू रचेर नेपाली गीति फाँटलाई शोभनीय बनाएकोमा हृदयदेखि बधाई दिँदै गीति पुस्तक चाँडै हेर्न उत्सुक रहेको बताउनुभएको रहेछ। तर उहाँले पनि भौतिक जीवनबाट विश्राम लिनुभयो। 
वरिष्ठ गायक योगेश वैद्यले नेपाली आधुनिक गीतसंगीतका लागि ‘सुनिल’ गीति संग्रहले रचनात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुले पनि गीति संग्रह कति खदिलो छ भन्ने प्रस्ट हुन्छ। त्यसैगरी गीतकार एवम् कवि डा. कृष्णहरि बरालले सरल शब्द, सरल अलंकार, विम्ब तथा प्रतीकमा भावलाई उनेर प्रस्तुत गर्न सिपालु सुनिलका गीतहरू संगीतको प्रयोगका दृष्टिले पनि बलिया छन् भन्दै लेखनीलाई निरन्तरता दिन हौसाउनुभएको छ। प्रेमी र राष्ट्रप्रेमीप्रति यो गीति संग्रह समर्पण छ। त्यसैले पनि होला यो गीति संग्रह उत्ताउलो÷भड्काउलोभन्दा पनि भावना छुने खालको छ भन्नुमा द्विविधा छैन। स्वभावतः निकै सरल सुनिल

जहाँ धनीधनी नै छन्,
जहाँ गरिब गरिबै छन्,
यो त अत्यन्त दुर्दशा भयो 
यस्तो देश कहाँ देश भयो !

भन्दै सरल शब्दमा सबैको मुटुमा पस्न र बस्न सफल देखिन्छन्। ‘जननी जन्मभूमिश्चः स्वर्गादपि गरीयसी’ भनेजस्तै आफू जन्मेको माटोको माया र जन्मभूमिप्रतिको आस्थालाई उनले गीतमार्फत सबैमा स्मरण गराएका छन्। देशको भूगोल, इतिहास र संस्कृतिलाई शिरमा राख्दै नागरिकको जिम्मेवारी बोध गर्न पनि उनले गीति संग्रहमार्फत आँट गरेका छन् र सबैमा आग्रहसमेत गरेका छन्।

‘जननी जन्मभूमिश्चः स्वर्गादपि गरीयसी’ भनेजस्तै आफू जन्मेको माटोको माया र जन्मभूमिप्रतिको आस्थालाई गीतकारले गीतमार्फत सबैमा स्मरण गराएका छन्। देशको भूगोल, इतिहास र संस्कृतिलाई शिरमा राख्दै नागरिकको जिम्मेवारी बोध गर्न पनि उनले गीति संग्रहमार्फत आँट गरेका छन्।

जन्मथलो सुन्दर नगरी पाल्पा भएर पनि होला उनले ग्रामीण परिवेशका शब्द टपक्क टिपेर गीतका वाक्यमा उपयुक्त रूपले बुनेका छन्। त्यसैले त सुनिलका गीत पढ्दा वा सुन्दा दिमागमा एउटा दृश्य निर्माण हुन्छ। प्रेम राष्ट्रसँग मात्र होइन फरक मनसँग पनि हुन्छ भन्दै सुनिलले शृंगार रसको बढी नै प्रयोग गरेका छन्। 

भनिन्छ, ‘मानिसलाई अरूको खुसीभन्दा दुःख प्यारो लाग्छ।’ त्यसैले होला, सुनिलले पनि गीतमा दुःखलाई प्राथमिकता दिएका छन्। पीडा, वियोग र विछोडलाई सशक्त शब्दमार्फत व्यक्त गरेका छन् उनले। मानौं त्यो अनुभूति आफ्नै हो। लजालु स्वभावका सुनिलले त्यसकारण नै होला गीति संग्रहमा आफ्नो भूमिका पनि लजालु हिसाबले छोटो नै राखेका छन्। 
संग्रहमा सुनिलले पटकपटक देश गाएका छन्; देश बोकेका छन् र देश भोगेका छन्। भन्छन्– म त मेरै देश गाउँछु। यसैगरी परिवर्तनका लागि आफ्नो ज्यानको आहुती दिने सहिदहरूप्रति समर्पण गर्दै देश दुख्दा ‘जो त जाग्यो ऊ सहिद हो’ भन्दै गीतमार्फत सहिदको नयाँ परिभाषा दिन सफल भएका छन्। एउटा धारमा बगिरहेको संग्रह कताकता बाटो अल्मलिएर नसाको सूर÷तीर पनि पुगेको देखिन्छ। सायदः उनको व्यावसायिक जीवनको त्यो एउटा हिस्सा थियो वा उनको देखाइ/भोगाइ। 

झन्डै दुई दशकदेखि सञ्चार क्षेत्रमा क्रियाशील सुनिलको यो गीति संग्रह प्रजातन्त्र प्राप्त भएपछि विकास भएको चेतना स्तरलाई मध्यमवर्गीय परिवारका आँखाबाट देखिएको दृश्यजस्तो आभास हुन्छ। तर समाजको अँध्यारो पाटो, अफ्ठेरो परिस्थिति र समस्याग्रस्त जीवनलाई कसरी समाधानउन्मुख बनाउने भन्ने कुरा भने त्यति व्यक्त गरेको देखिँदैन। तर पनि लामो समयदेखि साहित्यमा स्थिर रहेका सुनिलले फेरि सुरु गरेको आफ्नो यो यात्रालाई निरन्तरता दिने नै छन् भन्ने हामीले अपेक्षा गर्न सक्छौं। ९९ गीतहरूको संग्रह रहेको सुनिल गीति संग्रह स्कुल अफ् लिडर्स प्रालिले प्रकाशन गरेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.