सिर्जनाभित्र जीवन
अनेकतामा पृथ्वी पनि बोलौं न र नेपाली हुनुको आफ्नोपनको परिचय पनि दिउँन भन्दै कवि कविताबाट बुद्धत्व, शान्ति र नेपालीत्व पनि बोल्दछन्।
स्रष्टाको कलम मूलतः मानव र मानवीय आरोह अवरोहमै रुमलिन्छ। साहित्यकारहरू धरती र आकाश पनि जोड्न र मोड्न सक्छन्। त्यसैले भनिन्छ, कलमको तागत तरवारको भन्दा बलियो मात्र होइन, अत्याधुनिक हातहतियार भन्दा पनि शक्तिशाली हुन्छ। यस्तै आभास दिन्छन्, विश्वविमोहन श्रेष्ठ आफ्ना सिर्जनामा।
दुःखमा पनि खुसीसाथ बाँच्ने अभ्यस्तताले जीवनशैली फरक पर्दोरहेछ। त्यो उनले साँचेका छन्। सबैलाई यस्तो क्षमता र सौभाग्यकहाँ मिल्छ र ? साहित्यक यात्रा नेपाली परिवेशमा नाफारहित क्षेत्र हो तर त्यसैमा समर्पित छन् उनी श्रम, सीप र जाँगरका साथ। २०१३ मा तेह्रथुममा धरती टेकेका उनी २०३० को दशकदेखि कवितामा पहिचान बनाइसकेका थिए। २०४४ सालमा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरेका विश्वविमोहनका कविताहरूले उनलाई समकालीन साहित्यकारमाझ स्थापित गरायो। हुल र हावाको बहावमा बहेर वाहवाही लिने र राजनीतिक दलका मेनिफेस्टोलाई साहित्यको नाम दिएर प्रचारित हुनेभन्दा अलग स्वभाव र शैलीका रचनाहरू लिएर निरन्तर बग्ने कवि हुन्, विश्वविमोहन।
साझा प्रकाशनले २०६२ सालमा प्रकाशन गरेको उनको कविता संग्रह ‘एउटा गन्तव्यको खोजीमा’ का कवितामा समाज र परिवेश बोल्छन्। कविताहरूमा देशको माटो बोल्छ, स्वाधीनता अनि अस्तित्वका निमित्त निर्भयताका साथ टेकेको धरतीको शपथ बोल्छ। उनको कलम यसरी नै निरन्तर बगिरहेछ। २०६२ सालमा अंग्रेजीमा पनि प्रकाशित ‘अंगारका धमिला धर्साहरू’ सशक्त र बौद्धिकताले भरिपूर्ण खुराक छन्। साहित्य साधनामा निरन्तरता र स्तरीयता उनको पहिचान हो। उनी कवि मात्र भएर बाँचेका छैनन्, गीतहरूमा पनि सशक्त रूपमा प्रस्तुत भएका छन्। उनका गीतहरूमा अम्बर गुरुङ, नातिकाजी, राम थापा, शक्ति बल्लभ र न्ह्यु बज्राचार्य आदिले संगीत भरेका छन्।
साहित्य र साहित्यकारको संरक्षण राज्यले गरोस् वा नगरोस् नेपाली समाज र साहित्यिक क्षेत्रले भने उनलाई सम्मान गरेको छ। २०३२ सालको कविता महोत्सवबाट सम्मानित उनी युवा वर्ष मोती पुरस्कार, व्यथित काव्य पुरस्कार, बासु शशि स्मृति पुरस्कार, महाकवि देवकोटा पुरस्कार र केही पदकबाट सुशोभित छन्। उनी साहित्यिक पत्रकार संघमा अध्यक्ष रहेर पनि सक्रिय रहे। साहित्यिक गतिविधिमा सक्रिय रहेका कारण प्रेस काउन्सिलको सदस्य पनि बने। व्यवहारमा सरल र शिष्ट तर असामाजिकता र देशघातीविरुद्ध चोटिलो प्रहार गर्दै सत्य उद्बोधन गर्न उनको कलम हिच्किचाउँदैन।
कति हिंसा र विद्रोह मात्र बोल्नु यो बुद्धको पवित्र भूमिबाट ? कहिलेकाहिँ त कवितामा शान्ति, सगरमाथा र अरनिको पनि बोलौं न। अनेकतामा पृथ्वी पनि बोलौं न र नेपाली हुनुको आफ्नोपनको परिचय पनि दिउँ न भन्दै उनी कविताबाट बुद्धत्व, शान्ति र नेपालीत्व पनि बोल्दछन्। जाँगर र खर्चमा नाफारहित साहित्यिक क्षेत्रका कार्यक्रमहरूमा देशको साठीभन्दा बढी जिल्ला पुगेर पनि उनी अघाउँदैनन्।
निरन्तरतामा स्तरीयता उनको लेखनको पहिचान हो। राम्रो लेख्नु एउटा अत्यन्तै महत्वपूर्ण पक्ष हो तर त्यसलाई अझ राम्ररी प्रस्तुत गरेर पाठकसम्म पुर्याउनु अर्को सुन्दर पक्ष हो। सायद यो शिल्पीमा उनको प्रस्तोताको परिचय अर्को छ। सामाजिक सञ्जालमा संगीतको धुनमा कवितामा छाउँछन्। प्रत्येक स्रष्टाको आफ्नै पहिचान र गर्विलो अस्तित्व हुन्छ तैपनि भन्न मन लाग्छ उनको ‘एउटा गन्तव्यको खोजीमा’ भित्रका छोटा कविताहरूले सुप्रसिद्ध चिनियाँ कवि आइछिङका कविताझैं गहिरो र मिठो अनुभूति दिन्छन्। यथार्थतामा टेकेर उनको कलम उद्घोष गर्छ जिन्दगीको बाटो सजिलो छैन। उकालो–ओरालो, हिलो, कहालीलाग्दो, आँसु र हाँसो। गीतमा जस्तै ‘सोचे जस्तो हुन्न जीवन...। हो, धेरैले भन्छन् नि टेकेको धरती बिर्सिनु हुन्न तर भन्नेहरूले नै कति धर्म थामेका छन् ? त्यो बेग्लै कुरा हो। कवि विश्व पनि कवितासँग एक दिनमा धरती बिर्सेका व्यक्तित्वसँग जम्काभेट गरिरहन्छन् र धरती नै टेकेर बाँचेकाहरूलाई सम्झाइरहन्छन् जीवन र जगत्को यथार्थता।