एबर्टस्
सेप्टेम्बरको सुरुमा स्कुलको नयाँ वर्ष सुरु हुनुभन्दा केही दिनअगाडि इभ आफ्ना आमाबुबाकहाँ सहर फर्किइन्। मैले सोचेको थिएँ कि उनी आउनेछिन् र मलाई बाई भन्नेछिन् तर उनी आइनन्। कालो सुट लगाएका, सीधा ढाड भएका र गमक्क परेका बुबाले उनलाई कालो मर्सिडिजमा चढाएर लगे। उनले कहिल्यै बुबालाई पनि बिदा भन्न आइनन् सपनामा बाहेक। जुन सपनामा मैले स्वास्थ्य केन्द्रको पछिल्लो झाडीका बीचमा बुबा र तिनलाई देखेको थिएँ। उनले बुबालाई कस्सिएर समातिन् र रोइन् अनि बुबाले उनको कपाल सुमसुम्याइरहनुभयो। त्यसपछि उनीहरूले लामो समयसम्म चुम्बन गरे।
मलाई लाग्यो कि बुबाको आँखामा पनि आँसु आएको थियो। यो मैले पहिलो पटक महसुस गरें कि बुबाले पनि मेरा सपनाहरूमा दुःख भोग्नुहुन्छ अनि पहिलो पटक उनको दुःख अन्त हुनेछ। मैले इमानदारीसाथ यो पनि इच्छा गरें कि बुबाले मलाई यो असाधारण कष्ट निको पार्नुहुनेछ। उहाँले सक्नुभएन भने अरू कोहीले डाक्टर क्लाइनडाइन्स्टबाहेक। बुबाले मलाई साथ दिनुभयो र त्यसपछि मलाई त्यागेको अप्रिय सपना जसमा मलाई बुबाले साथ दिएर छोड्नुभएको थियो। म आफ्नो लक्ष्य प्राप्त गर्न सफल भएको थिइनँ।
इभको प्रस्थानपछि पानीको लगातार छविहरूले ममाथि आक्रमण गरे। जसले मेरो दिमागमा अकस्मात् यस्तो मिश्रण भरिदियो कि मैले त्यसबाट छुटकारा पाउन सकिनँ। सबै वस्तु, ध्वनि र गन्धले मेरो ध्यान मभित्र छचल्किएको पानीलाई सम्झाउँथे। दिनरात मेरो भित्री परिदृश्यभित्र पानी अशान्त हुँदै कुदिरहेको थियो। कहिलेकाहीँ यो क्षितिजसम्म पुग्ने ठूलो स्थिर तालसँग मिल्दोजुल्दो देखिन्थ्यो मानौं कुनै जीवित अदृश्य भ्यागुताले सतहलाई तलबाट हल्लायो भने मात्र अथवा ओसको थोपा यसमा रूखको पातबाट खस्दा मात्र जीवित हुन्छ। यद्यपि मैले यस घोचाइलाई घचेट्दै टाढा राखें तर प्रत्येक दिन यो कुरा स्पष्ट हुन्थ्यो कि म केही हराइरहेको छु। मभित्र तिर्सनाको भावना थियो केही हराएकोमा। जुन मेरो अंश बनेको थियो र अब हराएजस्तो देखिन्थ्यो सधैंभरिका लागि।
‘गर्मीको बिदामा मलाई के भयो ?’ भन्ने विषयमा हामीले एउटा निःशुल्क रचना लेख्नुपर्दा स्कुलको पहिलो दिनको भावनालाई थप बल दिइयो। स्मृतिको पानीमा खोज गर्दै साथी सम्बन्धमा आफूलाई श्रेष्ठताको भावना महसुस गर्न सक्दिन थिएँ जसमा गृष्म महिना अकल्पनीय रूपले निरस भएको हुनुपर्छ। मैले उनीहरूले स्कुल कापीहरूमा मेहनत गरिरहेको देख्दा मेरो गर्मी यति फरक, यति असाधारण र रहस्यमय रहेको थियो भन्ने सोचाइमा म गर्वको उफानले भरिएको थिएँ। विगतका घटनाहरूको स्मृतिले म यति गहिरोसँग तानिएको थिएँ कि मैले लेख्न थालें भनेर सोचेकै पनि थिइनँ।
अन्तमा जब लेख्न थालें, यो भन्न सक्ने अवस्थामा थिइनँ कि सपनाहरूलाई रेकर्ड गरिरहेको थिएँ वा सपनाहरू घटिरहेका थिए। यो सपना नै थियो भन्ने स्पष्ट भयो जब अचानक इभलाई मैदानबाट मतर्फ आउँदै गरेको देखें। त्यसपछि मैले बुबालाई भेट्ने आशा गरें तर उहाँ आउनुभएन। इभ एक्लै आइरहेकी थिई सीधा मतिर। यो पहिले देखेको फिल्म हेरेजस्तै भयो तर फरक स्थानमा संशोधित गरेर पुनः छायांकन गरिएको जस्तो।
जब उनी छेउ आइपुगिन्, उनले मेरो हात समात्दै आफ्नो पेटमा राखिन्। ‘म आमा हुन लाग्दै छु’, उनले भनिन्। उनले मलाई तानिन्। अर्को क्षण हामी स्वास्थ्य केन्द्रको प्रतीक्षालयमा थियौं। बुबा शल्यक्रियाको ढोकामा उभिएजस्तै हाम्रो प्रतीक्षा गर्दै बस्नुभएको थियो। उहाँले इभको कम्मरमा आफ्नो पाखुरा राखेर परीक्षण टेबलमा उठाउनुभयो। उनी नांगै थिइन्। अहिले मात्रै उनको अत्यन्तै फुलिएको पेट देखेको थिएँ। उनले आफ्ना खुट्टाहरू तानिन् र फट्टाइन्। बुबाले हातमा प्लास्टिकको पन्जा लगाउनुभयो र उनको भित्री भागमा हात पुर्याउनुभयो, खोतल्नुभयो केही खोजिरहेको जस्तै। इभ चुपचाप सिलिङमा आँखा टँसाएर पल्टिइरहिन्।
‘यो राम्रो देखिँदैन’, बुबाले आफ्नो हात बाहिर तान्दै भन्नुभयो। उहाँ झ्यालछेउ पुग्नुभयो र बाहिरको रूखतिर हेर्नुभयो। मैले चिन्ताको एक लहर महसुस गरें। जब बुबा बोल्नुभयो, उहाँको आवाज रवाफयुक्त थियो। ‘तिम्रो भाइको भ्यागुताको टाउको छ’, उहाँले भन्नुभयो। उहाँले के भन्न खोजिरहनुभएको थियो बुझ्न असफल भएँ। भन्नुभयो, ‘तिम्रो सानो भाइ भ्यागुताको टाउको लिएर जन्मने छ र उसको आँखा बाहिर निस्किएको गोलो गोलो हुनेछ। उसले ती आँखाहरू झिम्काइरहनेछ !’ मेरो खुट्टामुनिको जमिन धसिएको थियो। ‘यो असम्भव छ’, मैले भनें।
बुबाले अझै चिसो आवाज जारी राख्नुभयो कि यो कुनै महत्वको छैन। मैले सोच्नुपर्यो कि त्यहाँ बच्चा छैन, कहिल्यै थिएन र कहिल्यै हुने छैन। ‘तर त्यहाँ एउटा बच्चा छ’, मैले आपत्ति जनाएँ। ‘बच्चा जन्मनुपर्छ। तिमी ठट्टा नगर’, बुबाले भन्नुभयो। के तिमी भ्यागुताको टाउको भएको भाइ चाहन्छौ, ता कि मानिसले तिमीलाई औंल्याउन सकून् ? हामी त्यसलाई सिसाको भाँडोमा राख्नेछौं र सम्भवतः वैज्ञानिक अनुसन्धानका लागि पछि यसलाई तहखानामा लुकाउनेछौं। हामी भाँडोमा एउटा लेबल टाँस्नेछौं, ‘एबर्टस्’, यति नै हो।
त्यहाँबाट हाम्रो घर पुग्छ, जहाँ तीन वर्ष उमेरको एबर्टस् पहिल्यै खेलिरहेको छ। आमाले उसको लागि पकाएर खुवाउनुभयो। उसलाई नुहाइदिनुभयो र उसका अन्य आवश्यकताहरूको पनि हेरचाह गर्नुभयो। बुबा र इभ त्यहाँ थिएनन्। ‘हामीलाई कसैको आवश्यकता छैन’, आमाले भनिरहनुभयो। ‘मुख्य कुरा यो हो कि तिमीसित यौटा भाइ छ, कुरा गर्ने कोही छ।’ तर म एबर्टस्सँग कुरा गर्न सक्दिनथें किनकि ऊ बोल्न सक्दैनथ्यो। मलाई सबैभन्दा मुस्किल कुरा उसका साना आँखासित बानी पार्नु थियो जुन सधैं झिमिक झिमिक गरिरहन्थे भ्यागुताको जस्तै। जब ऊ कराउँथ्यो अनि उसले आफ्नो चौडा मुख अझ व्यापक बनाउँथ्यो।
त्यति बेला यस्तो देखिन्थ्यो कि उसको सम्पूर्ण टाउको उसको मुखभन्दा अरू केही थिएन। पातला छालाका मुजाहरू उसका कान हुनुपर्छ। उसको आवाज अप्रिय रूपमा भ्यागुताको टर्टर् जस्तै चर्काे थियो तर हामीले त्यो आवाज ऊ रोएको बेला मात्र सुन्न सक्थ्यौं अनि ऊ बिरलै रुन्थ्यो। ऊ एक असल भ्यागुता केटा थियो। ऊ धेरै मिलनसार र समझदार पनि थियो। कुनै रूपमा पनि अप्ठ्यारो वा अकडो थिएन। वास्तवमा उसले अक्सर एक मानवभन्दा बढी नम्र र बफादार पाल्तु जनावरझैं भाव पनि दर्शाउँथ्यो।
के अनौंठो लागेको थियो भने ऊ खेलौनामा रुचि राख्दैन। आमा र मैले उसका लागि विभिन्न पुतली, सामान, जनावर, टिन सिपाही, घिसार्ने घडी, कार, ताली पिट्ने बाँदर ल्यायौं तर प्रारम्भिक हर्षित क्षणबाहेक उसले ती सबमा रुचि देखाउन सकेन। त्यसपछि उसले चुपचाप भुइँमा प्रत्येक नयाँ खेलौनालाई राख्यो र उसको खुट्टा लाजले हेरिरह्यो। अफसोस गर्दै कि ऊ हामीलाई खुसी पार्न असमर्थ छ। झ्यालतिर कुर्सी तानें र उसलाई त्यसमाथि राखिदिएँ। जबसम्म उसले बगैंचा, कलात्मक झाडी, सडक, खेतहरू, जंगल र चर्चको पहाडमा भएको चर्चलाई हेर्न सक्दा ऊ खुसी हुन्थ्यो। उसले सबै चीज जिज्ञासा, विचारशील र आश्चर्यको मिश्रणले हेथ्र्याे।
एक दिन उसले एउटा पुस्तक उठायो र पढ्न सुरु गर्यो। जुन अनुप्रयोगको युङको ‘ड्रिम एनालाइसिस इन इट्स एप्लिकेसन’ थियो। उसले यसलाई सहजै ठूलो चासोका साथ पढ्यो मानौं कि उसलाई धेरै वर्षअघि पढ्न सिकाइएको थियो र उसले हजारौं पुस्तक पढिसकेको थियो। जब ऊ अन्तिम पृष्ठमा पुग्थ्यो ऊ अरू पढ्न चाहन्थ्यो। त्यसैले उसलाई बुबाको पुस्तकालयमा लगें जहाँ उसले नजिकको र्याकबाट किताबहरू निकालेर रास लगायो अनि त्यसको छेउमा खुसीको साथ बस्यो। ती पुस्तकहरूबाट हो कि उसले बाहिरी संसारको चमत्कारका बारेमा जानकारीहरू प्राप्त गर्यो जस्तो कि मैले ऊअघि नै गरेको थिएँ। त्यसपछि एक दिन उसले अचानक आफ्नो पहिलो शब्द उच्चारण गर्यो। ऊ अझै संकोचमा थियो तर मनसायमा स्पष्टसँग उसले आफूलाई बाहिर लैजान भन्यो ताकि मान्छे, जंगल, नदी, पहाडहरू हेर्न र आफ्नो छालामा हावा महसुस गर्न सकूँ भन्ने भावनाले।
अर्को हामी जंगलको पछाडि गाउँतिर घाँसैघाँसका मैदानहरू पार गर्दै थियौं। मैले एबर्टस्लाई यति खुसी कहिल्यै देखेको थिइनँ। ऊ खुसीले अनौठा आवाजहरूमा कराइरहेको थियो। ऊ चुप लागेर बस्न सकिरहेको थिएन। ऊ बाटोमा यता र उता दौडन्थ्यो, उफ्रन्थ्यो लगभग भ्यागुताजस्तै। जब हामी एउटा सानो पोखरीमा पुग्यौं उसले पोखरीमा हामफालेको देखेर मेरो सातो उड्यो। ऊ पानीमा उफ्रिरहेको थियो र लगभग आधा समय समयसम्म पानीको पिँधमा बस्यो। जब अन्त्यमा ऊ बाहिर निस्कियो अनि खुसीले बंगुरझैं करायो। त्यहाँ पोखरीमा भ्यागुताहरू थिए। तीमध्ये एउटा तैरिएर ओक पातमा बसेको थियो। उसले लामो समयसम्म त्यसलाई आँखा नझिम्क्याई हेर्यो। हामी बाटोमा हिँडिरहँदा ऊ थाकेको विचारमा हराएको र निरास देखिन्थ्यो।
तर ऊ फेरि जीवन्त भयो। जब हामी मैदानहरू पार गर्दै थियौं तब उसले एक्कासि प्रश्नहरूको खोलो बगायो। किन गहुँ बढ्छ ? हावा कहाँबाट आउँछ ? किन मानिसहरूले जमिनमुनि घरहरू बनाउँदैनन् ? किनभने तिनीहरू मरेपछि तिनीहरूलाई गाडिनु पर्ने थिएन। उसले भन्यो, तिनीहरू केवल घरमा बस्न सक्छन् ? अनि अचानक मेरो बुबा को हो ? मेरी आमा को हो ? म को हुँ ? किन स्याउका रूखहरू फलाँटका रूखहरू भन्दा ठूला छैनन् ? किन केही रूखहरू सीधा छन् र अरूहरू झुकेका छन् ? जब हामी जंगलबाट बाहिर निस्क्यौं। उसको शरीर एक हिँड्ने प्रश्न–चिह्नजस्तो देखिन थाल्यो।
युयुत्सु आरडी शर्माद्वारा अनुवादित ‘मेरा बुबाका सपना’ उपन्यासको अंश