साहित्यले शत्रुको हृदय छुन्छ

साहित्यले शत्रुको हृदय छुन्छ

आधा शताब्दीदेखि साहित्य सिर्जनामा सक्रिय सोमराज अभयका ११ कृति छन्। २०२० को दशकमा लेखिएको ‘विद्रोही काले’ नामक महाकाव्यले उनलाई त्यसबेला निकै विवाद र चर्चामा ल्यायो तर  प्रकाशित हुन सकेन। ४० वर्षपछि प्रकाशनमा आयो। विराटनगरनिवासी उनै अभयसँग ऋतु आसिकले गरेको कुराकानी :

साहित्य लेखनका लागि प्रेरणा कसरी पाउनुभयो ?
अघिल्लो पिँढीका साहित्यिकारका रचना पढेर यस क्षेत्रमा लागेको हुँ। नेपाली साहित्यको विद्यार्थी भएकाले माध्यमिककालीन कविहरूबाट प्रथमतः प्रभावित हुँदै आएँ। प्रगतिशील तथा प्रगतिवादी साहित्यको पनि स्वध्ययन गरें। छात्र जीवनमा पनि रेवतीरमण सापकोटाबाट प्रेरणा पाएको थिएँ।

साहित्य के हो ? कसका लागि र किन लेखिन्छ ?
साहित्य वाङ्मय जगत्को विशालतम वटवृक्ष हो। मान्छे मूलतः दुई वर्गमा विभाजित छ– धनी र गरिब। धनी लेखकले पनि गरिबकै पक्षमा साहित्य लेखेको देखिन्छ। गरिब लेखक पनि स्तुतिवादी साहित्यका लेखक पाइन्छन्। अतः सर्वसाधारण जनता वा आममानिसकै लागि लेख्नु श्रेयस्कर हुनेछ। साहित्य मनोरञ्जनार्थ र यथार्थवादी समाजवादी कित्ताका लागि लेखिन्छ। वर्गीय हिसाबले गरिब वर्गको उत्थान र चेतना सञ्चार गर्नका लागि लेखिन्छ।

साहित्य बेगर राष्ट्र वा राष्ट्रबेगर पनि साहित्य बाँच्न सक्छ ?
साहित्यबिनाको राष्ट्र बाँच्न सक्दैन। भावनात्मक तरंगको अतिरञ्जना साहित्य भएकाले राष्ट्रबिना पनि साहित्य बाँच्न सकेको छ।

मार्स्कवादी साहित्यप्रति तपाईंका धारणा के छ ?
मार्स्कवादी साहित्य गरिब वर्गका लागि अमोध अस्त्र हो, जसले मुक्तिकामी जनचेतनामा संघर्षको बीजाधान गर्छ। जसले समाजका असंगति/विसंगतिहरूको चिरफार गरेर देखाउँछ। समाजमा चलेको रुढीविरुद्ध लड्ने सशक्त मोर्चा बनाउन मद्दत गर्छ। माक्र्सवाद एउटा त्यस्तो हतियार हो जसले धनी वर्गसँग शासन सत्ता खोसेर गरिबवर्गको हातमा राखिदिन्छ। यस अर्थमा मार्स्कवादी साहित्य क्रान्तिकारी हुन्छ।

कुनै आस्थाबिना पनि जीवन्त साहित्य लेख्न सकिन्छ ?
साहित्यकार साहित्य लेखेरै धन कमाउने उद्देश्य राख्दैन। ऊ निरन्तर जनअदालतमा साक्षी बकेर आफ्नो अभिमत जाहेर गरिरहन्छ। फलस्वरूप उसका कैयौं नयाँ पाठक जन्मिन्छन्, रमाइलै हुन्छ। अझ रमाइलो त लेखकले राखेको सामाजिक आदर्श र उचाइमा जनता आऊन्, रमाउन सकून् भन्ने लाग्छ। भन्नलाई आस्था भने नि विश्वास भने पनि दृढता, कठोरताको कुरा चाहिँ आउँछ। जीवनवादी साहित्यकारले रचनामा जीवनकै अस्तित्व खोज्नुपर्छ।

लेखक र साहित्यमा के चाहिँ समाजको ऐना हो ?
लेखक समाजको ऐना होइन। ऊ मूलभूतरूपले दुई वर्गमध्येको एक व्यक्ति हुन्छ। यसले लेखेको साहित्य चाहिँ समाजको ऐना हो। किनभने समाजभित्र प्रधानरूपमा धनी र गरिब दुई वर्ग छन्। जुन वर्गको भए पनि स्रष्टा भनेको रचनाकार हो, विशाल दृष्टिले हेर्ने हो भने उसले दिएको तथ्य र कल्पनाबाट नयाँ लोक उघ्रिएर आएको देखिन्छ भने त्यसलाई सर्वसाधारणले स्विकारेको पाइन्छ।

साहित्य राजनीतिबाट मुक्त हुनुपर्छ वा जोडिनु पर्छ ?
साहित्य भनेकै जीवनलाई चाहिने खुराक भएकाले जीवन नै साहित्य हो। साहित्य नै जीवन हो। पञ्चायतकालतिर भनिन्थ्यो, साहित्यकारले राजनीति गर्न मिल्दैन/पाइँदैन। अहिले नेपाल लोकतान्त्रिक र गणतान्त्रिक हिसाबको भइसकेको छ तर पनि स्रष्टाप्रति जुनसुकै सरकार पनि क्रुर हुन्छन्। हाम्रो देशमा पनि यस्ता स्रष्टा र द्रष्टा छन्। जसप्रति सरकारको सदैव बक्रदृष्टि रहन्छ। जीवन जसरी राजनीतिबाट मुक्त हुन्न, साहित्य त्यसरी नै।

साहित्य र कलाको वर्गीय स्वरूपको प्रतिनिधित्व गरेको हुन्छ कि हुँदैन ?
कलाले शत्रुको हृदय पनि छुन्छ। वर्गीय साहित्यले र कलाले पाठकलाई ज्यादै संवेदनशील र उत्तेजक बनाउँछ। पाठकलाई प्रभावित तुल्याउँछ। यथार्थवादी र  प्रगतिवादी साहित्यले र कलाले वर्गीय प्रतिनिधित्व गरिरहेको हुन्छ।

जीवनको उद्देश्य, मूल्य र अवसानलाई कसरी हेर्नु भएको छ ?
महाकवि देवकोटाले आफ्नो प्रश्नोत्तर कवितामा भन्नुभएको छ– ‘उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक !’ लगभग मैले पनि आफ्नो जीवन उद्देश्यमूलक बनाउन साहित्यमै रूचि राखें। जीवनको उद्देश्य आकाशमा जून टिप्न जाने थियो तर त्यहाँ पुर्‍याउने कुनै भौतिक साधन थिएन। मृत्युपछि पुनर्जन्म हुन्छ। जीवनको कहिल्यै अवसान हुँदैन। आत्महत्या गर्नेले पनि पुनर्जन्म पाउँछ। मरेपछि नजन्मने भए सृष्टिचक्र नै चल्दैन थियो।

अश्लील र श्लील साहित्यको मापदण्ड के हुन् ?
एकथरी मानिस साहित्यमा अश्लीलता हुँदैन भन्छन्। साहित्यको श्रृंगार रसमा बैंसालुहरूको नखशिख वर्णन गरिन्छ। तर सामान्य बातचितमा त्यसो भन्न मिल्दैन। साहित्यको नौ रसमध्ये श्रृंगार प्रमुख रस हो। रसभावका दृष्टिले अश्लीलता रहँदैन। तर समाजपरक र वर्गीय साहित्य कहिल्यै अश्लील हुँदैन। यौनको नग्न चित्रण गरिएको साहित्य अश्लील हुन्छ।

महिलामाथिको भेदभावमा अश्लील साहित्यले प्रभाव पारेको छ ?
महिलामाथिको भेदभाव शोषण वर्गीय शोषण हो। समाजमा शोषण मौलाउँदै गएको पाइन्छ। शोषणविरुद्ध वर्गीय चेतना भएका लेखकले बुलन्द आवाज भएका प्रगतिशील वा प्रगतिवादी काव्य, कविता, कथा, उपन्यास, नाटक र निबन्ध आदि लेखिनु पर्छ।

साहित्यकार साहित्य लेखेरै धन कमाउने उद्देश्य राख्दैन। ऊ निरन्तर जनअदालतमा साक्षी बकेर आफ्नो अभिमत जाहेर गरिरहन्छ। जीवनवादी साहित्यकारले रचनामा जीवनकै अस्तित्व खोज्नुपर्छ।

बढी प्रभाव पार्ने पुस्तक कुनै छन् ?
जति पनि पुस्तक पढें सबैबाट प्रभावित भएँ। स्वदेशी र विदेशी साहित्य पनि पढें। राष्ट्रकवि माधव घिमिरेको मालती मंगले पढ्दा रोएको छु भने महापण्डित राहुल सांकृत्यायनले लेखेको दिमागी गुलामी भन्ने पुस्तिका पढ्दा धेरै प्रभावित भएको थिएँ।

मनपर्ने अन्तर्राष्ट्रिय लेखक पनि छन् कि ?
नेपाली, हिन्दी र संस्कृत भाषा जान्दछु। यी तीन भाषाका केही प्रमुख लेखकबारे पढेको छु। बंगालीका लेखक विश्वकवि रवीन्द्रनाथ टैगोर, हिन्दीका महाकवि तुलसीदास, सूर्यकान्तमणि त्रिपाठी ‘निराला’, सुमित्रानन्दन पन्त, जयशंकरप्रसाद, मैथिली शरण गुप्त, अयोध्याप्रसाद हरिऔध, हजारीप्रसाद द्विवेदी र सुभासचन्द्र बसु, जवाहरलाल नेहरू, इन्दिरा गान्धी आदिका जीवनी र आत्मकथा पढेको छु। 

लेखन तथा प्रकाशनबारे स्मरणीय क्षण केही छन् ?
प्रगतिवादी साहित्य वा समालोचना क्षेत्रका अथक योद्धा अनिरुद्ध तिम्सिना मेरा दुवै महाकाव्यका प्रथम पाठक र कुशल रसभाव–मर्मज्ञ हुनुहुन्थ्यो। पञ्चायती शासनको उत्कर्षकालतिर ‘विद्रोही काले’ लेखिसकेर गुरु चूडामणि रेग्मीलाई झापाको चन्द्रगढीमा देखाएँ। उहाँले अनिरुद्धजीलाई त्यो पाण्डुलिपी दिनु भएछ। त्यतिबेला झापा जिल्लाका सभापति केशवकुमार बुढाथोकी थिए भने अनिरुद्रजी कृषि विकास बैंक, मेची अञ्चलका महाप्रबन्धक। जिल्ला पञ्चायतले पनि २०४३/४४ सालतिर साहित्यकारका कृति छापिदिने सूचना निकालेको थियो। उहाँहरूबाटै मेरो काव्य पनि प्रकाशित गर्न दर्ता भयो। कृतिहरूको जाँचबूझ गर्न समिति गठन भयो। तीनमध्ये एक अनिरुद्रजी पनि हुनुहुन्थ्यो। 

उहाँले ‘विद्रोही काले’ प्रकाशनयोग्य छ भनी सिफारिस गरिदिनु भएछ। झापा जिल्ला पञ्चायतको कार्यसमितिको बैठकले सो काव्य हजारप्रति छपाई लेखकलाई दिने पास गरेको हो। बैठकपछि लगत्तै बसेको जिल्ला सभामा सभापति बुढाथोकीले राजनीतिक विरोधीहरूले काव्यलाई विषय बनाएर पञ्चायत व्यवस्थाको विरोधी काव्यलाई  छपाउन खोजेको भनेर ठुलै विरोध गरे। पञ्चायती गुलामहरू मेरो काव्यलाई नष्ट गर्न चाहन्थे। नष्ट गरेको भए विद्रोही कालेको नाम सुनिन्थ्यो, अनुहार देख्न पाइने थिएन।

त्यसो भए महाकाव्य छापिएन ?
खुसीको कुरा के भने मेरा दुवै महाकाव्य हाल प्रकाशित छन्। अनिरुद्रजीले त्यस्तो अवस्थामा विद्रोही काले प्रकाशनयोग्य छ भनेर सिफिारिस गर्नुभयो जो आफ्नो जागिर जाने र जेल पर्ने हुनसक्थ्यो। उहाँ बिते पनि दुवै काव्यमा उहाँको मन्तव्य छ। 

‘पन्त+प्रसाद निराला लक्ष्मीप्रसाद देवकोटा’ भनेको के हो ?
विख्यात साहित्यकार राहुल सांकृत्यायनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको मूल्यांकन गर्दै भन्नु भएको थियो रे। सात आठ वर्षको हुँदैदेखि सुन्दै आएको थिएँ। उहाँ सायद बुद्ध धर्मका महापण्डित हुनुहुन्थ्यो। पछि एकजनाले ‘भागो नहीँ, दुनियाँ बदलो !’ भन्ने उनको कृति पढ्न सुझाए। पढें पनि। वीपी कोइरालाको विचारमा उनी अलि छिचरा मान्छे हुन् भन्ने पनि उनकै आत्मवृत्तान्तमा पढेको हुँ। अरू धेरै विद्वान्ले पनि उनलाई महापण्डित नै ठहर्‍याएका छन्।
उनले तत्कालीन हिन्दी साहित्यका प्रमुख महारथी पन्तप्रसाद निरालासँग भएको प्रतिभा या चेतना देखे होलान् र त्यसो भने। हो पनि, महाकवि देवकोटा अगाध प्रतिभा र अदम्य चेतना भएका व्यक्तित्व हुन्। राहुलका यसै भनाइबाट नेपाली महाकवि देवकोटा बहुचर्चित र बहुप्रशंसित भएको सबैले स्विकार्छन्।

नेपाली भाषाको सम्वर्द्धन गर्न के गर्नुपर्छ ?
नेपाली भाषा बोल्ने मानिसहरू विश्वभरि छरिएका छन्। विदेशमा भए पनि नेपाली भाषा र साहित्यको उत्थान र प्रगतिमा जो जो लागेका छन्, तिनमा समग्र राष्ट्रियता रहेको पाउँछु। सच्चा नेपाली राष्ट्रियता विदेशमै हुर्किदैछ भन्ने कुरामा विश्वस्त छु।  नेपाली साहित्यकारलाई नेपाल राष्ट्र र नेपाली जातिको समुत्थानमा सदैव दत्तचित्त रहनुहोस् भन्ने चाहन्छु।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.