तन्त्रशास्त्रमा दस महाविद्या
तन्त्रशास्त्रमा दस महाविद्याको महत्व विशेष छ। यसका बारेमा साहित्य एवं उपासनासँग सम्बन्धित अनेकौं विधामा व्यापक चर्चा पाइन्छ। नेपालमा पनि यहाँका विभिन्न तन्त्रसाधक देवीको साधना र उपसनामा समर्पित भएको देखिन्छ। यसलाई संस्थागत गर्ने वा पुस्तकीय रूपमा लिपिबद्ध गर्नेहरूको संख्या भने अति न्यून छ। दस महाविद्याका उपासना पद्धति वैदिकी र तान्त्रिकी दुवै तरिकाबाट भएका छन्। यसका मन्त्रहरूमा पनि अनेकौं भेद उपभेद छन्।
पुरुष देवतावाला मन्त्रलाई मन्त्र भनिन्छ भने स्त्रीदेवतावाला मन्त्रलाई विद्या भनिन्छ। अश्वक्रान्त सम्प्रदायका तान्त्रिकहरूले मन्त्र शब्दको स्थानमा विद्या शब्द प्रयोग गरेको पाइन्छ। दस महाविद्याका अनुष्ठान धेरै ठूला–ठूला विद्वान्हरूले पनि गरेका थिए र अहिले पनि गर्दै छन्। यस उपासनामा नव्य नैयायिक, वैयाकरण, वेदान्ति, साहित्य आदिका विद्वान्हरू प्रसिद्ध छन्। विशेष गरेर तन्त्रसाहित्यमा मूलरूपमा अश्वक्रान्त, रथक्रान्त, विष्णुक्रान्त सम्प्रदाय छन्। यी सम्प्रदायभित्र पनि कादि, हादि, कहादि आदि अनेक उपभेद छन्। कतै कतै उपर्युक्त तन्त्र सम्प्रदाय र तन्त्रोपसना सम्प्रदाय भेदले ग्रन्थहरूमा दस महाविद्याको नाम बदलिएको देखिन्छ।
महाविद्याका फरक रूप
ब्रह्म विद्यातन्त्रमा दस महाविद्याअन्तर्गत लोकेश्वरी, काली, तारिणी, ब्रह्मकपाली, अनन्तश्री, बगलामुखी, सिद्धविद्या, मोहिनी, भुवनेश्वरी र कमला पर्छन्। मालिनी विजय तन्त्रमा दस महाविद्याअन्तर्गत काली, नीला, महादुर्गा, त्वरिता, छिन्नमस्ता, वाग्वाहिनी, अन्नपूर्णा, प्रत्यंगिरा, कामाख्यात बाला र शैलवासिनी छन्। गुह्यकाली तन्त्रमा दस महाविद्याअन्तर्गत कालिका, तारिणी, छिन्नमस्ता, भुवनेश्वरी, सुन्दरी, धुमावती, बाला, भैरवी, महालक्ष्मी र दुर्गा छन्। वामाचार पद्धतिमा काली, तारा, षोडशी, भुवनेश्वरी, छिन्नमस्ता, भैरवी, धूमावती, बगलामुखी, मातंगी र कमला दस महाविद्या पर्छन्। शक्ति संगमिनी तन्त्रमा दस महाविद्या काली, तारा, छिन्नमस्ता, सुन्दरी, बगला, मातंगी, लक्ष्मी, श्यामला, सिद्धिविद्या र धूमावती दस महाविद्या हुन्। चामुण्डा तन्त्रमा दस महाविद्याअन्तर्गत काली, तारा, षोडशी, भुवनेश्वरी, छिन्नमस्ता, भैरवी, धूमावती, बगलामुखी, मातंगी र कमला छन्।
सिद्धि प्राप्त गर्न गुप्त साधना
‘म देवी हुँ, म अरू कोही होइन। ब्रह्म नै म हुँ। शोक कल्याणले मलाई छोएकै छैन। म सधैं रहिरहन्छु। ज्ञानस्वरूप हुँ, आनन्द हुँ, दुःखको लेशमात्र पनि ममा छैन। म अनन्त सुखको समुद्र हुँ। म आत्मा हुँ।’ यसरी देवीलाई परमात्मा स्वरूप मान्नेहरू नेपालमा उत्तिकै मात्रामा देखिन्छन्। दुर्गासप्तशतीको श्लोकहरूलाई विशेष मन्त्र मानेर झारफुक गर्ने परम्परा पनि उस्तै छ। केही शाक्त सम्प्रदायका अनुयायीले दुर्गा सप्तशतीको एघारौं अध्यायलाई तन्त्रको महत्वपूर्ण अंग मान्दछन्। पहाडका धामी, झाँकी फेदाङ्वा आदि र तराई, भित्रि मधेसमा पाइने ओझा, वाम्जा, झाडिया, औरवटे आदि पनि तन्त्रकै विकृत रूप हो।
महाविद्या भनेको महामन्त्र हो। दस महाविद्या शब्दको अर्थ हो दस महामन्त्र। यसले नेपालको तन्त्र परम्परामा महत्वपूर्ण स्थान राखेको छ। नेपाल शाक्त, शैव, वैष्णव वौद्ध साधना एवं तन्त्रबाट पल्लवित राष्ट्र हो।
यसरी अश्वक्रान्त, रथक्रान्त, विष्णुकान्त गरी तीन सम्प्रदायभित्र कादि, हादि, कहादि आदि अनेक भेदोपभेदहरू छन्। सप्तमातृका, अष्टमातृका, दस महाविद्या, नवदुर्गा यी सबै शक्तिकै प्रतीक हुन्। यस वाङ्मयका साधक उपासक अत्यन्त व्यापक र बृहद्रूपमा पाइन्छन्। त्यसैले ठूला–ठूला ऋषि, महर्षिदेखि लिएर विद्वान्, आचार्यसम्मले सिद्धि प्राप्त गर्न पुगे। पछिल्लो कालमा पनि शंकराचार्य, अभिनवगुप्त, भास्कर आदि आचार्यहरू दस महाविद्याका उपासक थिए भन्ने मान्यता छ। गुप्त रूपमा यसको साधना गर्नेहरू पनि उत्तिकै छन्। महाविद्या भनेको महामन्त्र हो। दस महाविद्या शब्दको अर्थ हो दस महामन्त्र। यसले नेपालको तन्त्र परम्परामा महत्वपूर्ण स्थान राखेको छ।
साधनामा दस महाविद्या
नेपाल शाक्त, शैव, वैष्णव वौद्ध साधना एवं तन्त्रबाट पल्लवित राष्ट्र हो। प्राचीनकालदेखि शाक्त परम्पराका अनुष्ठान भइरहेको देखिन्छ। अहिले पनि पाथीभरा, दन्तकाली, गुह्येश्वरी, दक्षिणकाली, मनकामना, विन्द्येश्वरी, उग्रतारा आदिको पूजामा भक्तहरूको उत्तिकै आस्था छ। यी देवीहरूको पूजा अनुष्ठान मुख्यतः तन्त्रबाटै भएको पाइन्छ।
विशेषतः तन्त्रमा दस देवी दस महाविद्याका रूपमा प्रसिद्ध छन्। काली, तारा, महाविद्या (त्रिपुरासुन्दरी), भुवनेश्वरी, भैरवी, छिन्नमस्ता, धूमावती, वगलामुखी, मातंगी र कमला (लक्ष्मी) देवी हुन्। यथार्थमा सवै एकै हुन्, आदिशक्ति शिवा, दुर्गा, पार्वतीमा भिन्नता छैन। यी दस महाविद्याले अभीष्ट फल प्रदान गराउँछन्। महाविद्या साधनाको मन्त्र ज्यादै महत्वको छ, ‘हुँ श्री ही बज्रवैरोचनीये ॐ ॐ फट् स्वाहा ऐं।’ यो मन्त्रले महाविद्याको पूजा तथा जप आदि सबै गर्नुपर्छ। साधकले ध्यान गरेको समयमा श्लोकलाई शुद्धोच्चारण गर्नुपर्छ। महाविद्यादेवी चारवटा भुजा भएकी, सर्पको यज्ञोपवीत धारण गरेकी, महभीमा, करालवदना, सिद्धयुक्त, मुण्डमाला अलंकृत, सुन्दर केश र हँसीमुखी हुन्। सर्वकार्य सिद्धि दिने देवीको ध्यान यसरी गर्नुपर्छ।
मन्त्रको अधीन र प्रभाव
ब्रह्माण्ड रहस्यमय छ। यो पृथ्वी पनि आश्चर्यले भरिएको छ। गहिरिएर हेर्ने हो भने कैयौं कुराहरू आफैंमा अनुत्तरित छन्। परमात्माले सूत्रात्मक रूपमा सबैलाई अन्तरसम्बन्धित गराइदिएका छन्। परमात्माको अधीनमा जगत् छ, देवताहरू मन्त्रका अधीनमा छन्। मन्त्रले सबैलाई अधीनमा राखेको छ, मन्त्रबाट नै देवीदेवतालाई आह्वान, स्तुति र प्रसन्न गरिन्छ। असल कर्म, नियमित परिश्रम, शुद्ध मन्त्र उच्चारणद्वारा देवतालाई आफ्नो अनुकूल बनाउन सकिन्छ।
मन्त्र वेदको अंश हो। वेदमा भेद छैन, यो मानव जातिको साझा ग्रन्थ हो। त्यसैले वेदलाई ज्ञानको भण्डार, परमपूजनीय, परमपावन ग्रन्थ भनिन्छ। जसको चिन्तन मनन र निदिध्यासनले मुक्ति मिल्छ त्यसलाई मन्त्र भनिन्छ। आध्यात्मिक र व्यावहारिक कार्यको प्रारम्भ मन्त्रबाटै सुरु हुन्छ। मन्त्रले जे भनेको छ, त्यही कार्य गर्नु। हिमवत्खण्ड क्षेत्रमा प्राचीनकालदेखि मन्त्रबाट सबै कार्यको प्रारम्भ हुन्थ्यो। जन्म, विवाह, मृत्यु लगायतका सोह्र संस्कारमा मन्त्रकै प्रयोग गरिन्छ। मन्त्रभित्र कार्य गर्ने शैली, समय, स्थानका बारेमा बताइएको हुन्छ। मन्त्र साधन हो, जसबाट साध्य प्राप्त गर्न सकिन्छ। १८ पुराण पढेको स्थान नैमिषारण्य बनेजस्तै मन्त्र पढेको ठाउँ तीर्थस्थल बन्छ, वेद पढ्ने व्यक्तिमात्र पुरोहित वा हुन्छ। त्यसैले ब्राह्मण जातिविशेष होइन, ज्ञानविशेषबाट प्राप्त गर्ने पद हो।
मन्त्रबाटै आगो र पानी
वेदका मन्त्रले चेतना, चिन्तनको अभिवृद्धि गर्दछ, त्यसैले मन्त्र जसले पढ्छ, मनन् गर्दछ त्यसलाई मन्त्रले उद्धार गर्दछ। विश्वामित्रले गायत्री मन्त्र प्राप्त गरी ब्रह्मर्षि बने। साधना सम्पन्न विद्वान्हरूले मन्त्र पढेर यज्ञमा आगो उत्पन्न गर्दथे, पानी पार्दथे। रोगको उपचार गर्दथे, अन्न फलाउँथे, राक्षसी स्वभाव र तामसी शक्तिलाई विनष्ट गर्दथे। मन्त्रबाट जहाज हातहतियार लगायतका भौतिक संरचनाको निर्माण गरिन्थ्यो। लक्ष्मणले मन्त्रद्वारा सीतालाई सुरक्षित ठाउँमा राखेका थिए। रावणले मन्त्र प्रभावबाहिर बोलाएर सीताको अपहरण गरेका थिए। पाश्चात्यहरूले मन्त्रको ज्ञान र शक्तिलाई बुझेर वेदलगायतका ग्रन्थहरूमा झुमेका छन्।
उचित स्थान, समय र गुरुबाट मात्र मन्त्र लिनुपर्छ। ग्रहण लागेको समयमा तीर्थस्थलमा लिएको मन्त्र प्रभावकारी हुन्छ। मन्त्रबाट लाभ प्राप्त गर्न मन्त्रको अर्थ, प्रयोजन, उपयोगिता बुझ्न आवश्यक छ। मन्त्र र ब्राह्मण दुईको नाम वेद हो। लोकव्यवहारमा आचार, विचार, विधिविधान र योग्यताले परिपूर्ण व्यक्तिलाई ब्राह्मण भनिन्छ। ब्राह्मणको अर्थ जाति, विद्वत्ता, पुरोहित आदि हुन्छ। उनीहरूलाई मन्त्रको प्रयोजन, अर्थ, उपयोगिता आदिको राम्रो ज्ञान हुन्छ। त्रेतायुगमा मन्त्रकै प्रभावबाट राम, लक्ष्मण, भरत, शत्रुघ्नको जन्म भएको थियो। मन्त्रको अन्तमा कर्म गर्नु। मन्त्रविना कार्य सफल र प्रतिफलमुखी बन्न सक्दैनन्।
मन्त्रमा सर्वप्रथम ॐ नै किन ?
नित्य, नैमित्तिक कार्यमा प्रयोग गरिने हरेक मन्त्रको प्रारम्भमा ॐ नै आउँछ। ग्रन्थले प्रारम्भ जसरी ’अर्थ’ बाट सुरु हुन्छ। त्यसरी नै ॐ नै मन्त्रको ढोका हो। ॐ परमात्माको बोधक हो। यसरी उच्चारणबाट साधकलाई ऊर्जा मिल्छ, मन एकाग्र हुन्छ, हृदय प्रफुल्ल हुन्छ। ॐ आफैंमा एक पूर्णमन्त्र हो। त्यसैले वेदमन्त्रको प्रारम्ममा ॐ राखिएको हो। धेरै देवी–देवता भएका हिन्दूधर्ममा पूजापाठ, उपासना आदिको विधान बडो विचित्रको छ। बिहान जागेदेखि बेलुका नसुत्दासम्म हरेक कार्यमा मन्त्र वा मन्त्रले निर्दिष्ट गतिविधि गरिन्छ।
जीवन वा दैनिकी नै ॐ बाट सुरु हुने हुनाले ॐ को महत्व महनीय छ। यस मन्त्रलाई व्रत, मध्यम र विलम्बी गरी तीन प्रकारले पढ्ने चलन छ। छिटोछिटो गरी पढ्नुलाई द्रुत, न छिटो न त ढिलो गरी पढ्नु मध्यम र ढिलो गरी पाठ गर्नुलाई विलम्बी भनिन्छ। यी तीनै अवस्थामा हस्व, दीर्घ र प्लुत उच्चारणलाई ध्यानमा राखिन्छ। उच्चारण गलत भयो भने मन्त्रको फल उल्टो हुन्छ। मन्त्रहीन, वर्णहीन, स्वरहीन र मिथ्याशब्दको प्रयोग वाणीका बज्र हुन्।
अशुद्ध उच्चारण भएमा यजमानलाई भय हुन्छ जस्तै इन्द्रलाई मार्न उत्पन्न भएका इन्द्रशत्रु वृत्रासुर उच्चारण भेदले आफैं मारिए। मन्त्रलाई शुद्ध उच्चारण गर्नका लागि गुरुको मार्गनिर्देशन, साधकको अभ्यास, शान्त र पवित्र स्थानको आवश्यकता पर्दछ। मन्त्र दृढसंकल्प हो, त्यसैले हिन्दूहरू जन्मदेखि मृत्युपर्यन्तका अनुष्ठानमा मन्त्रको प्रयोग गर्दछन्।