प्रहरी गम्भीर नभएको आरोप
भोजपुर : लामो समयदेखि प्रहरी प्रशासनको चक्कर काटेकी टेम्केमैयुङ गाउँपालिका–७, कोटकी पुनादेवी राई र उनको परिवारले न्याय पाएका छैनन्। भाइ विशाल राईको मृत्युको अनुसन्धानमा प्रहरीले उदासीनता देखाएको उनीहरूको आरोप छ।
घटनाबारे पटकपटक जाहेरी दिँदा पनि प्रहरीले बेवास्ता गरेको आफन्तको गुनासो छ। ‘न्यायको आशाले प्रहरीकहाँ ६ पटकसम्म पुुगे, जाहेरी लिई कानुनी कारबाही अगाडि बढाउनुस् भनेर अनुरोध गर्दा डीएसपी सापले जाहेरी नै लिनु मान्नु भएन’, पुनादेवीले भनिन्। प्रहरीले जाहेरी लिन नमानेपछि विशालका आफन्तले जिल्ला सरकारी वकिल कार्यालयमा जाहेरी दिएका छन्।
शंकास्पद मृत्युलाई भवितव्य भनेर आरोपितलाई अनुसन्धान नगरी त्यसै छाडिएकाले झन् पीडा थपिएको पुनादेवी बताउँछिन्। प्रहरीले हत्या आशंकामा विशालका ठूलोबुवा तेजबहादुर राईलाई गत फागुन २६ गते र उनका छोरा राजकुमारलाई गत फागुन २७ गते नियन्त्रणमा लियो। तर, डीएसपी कृष्णकुमार चन्द र प्रहरी निरीक्षक प्रदीप लामाले अनुसन्धानमा पक्षपात गरेको पीडित परिवारको गुनासो छ।
माघ २१ गते विशाल तेजबहादुरको घरदेखि करिब एक सय मिटर तल बाटोमा मृत भेटिएका थिए। दुवै आरोपितलाई प्रहरीले छोडिसकेको छ। डीएसपी चन्दले भने सबै जाहेरी लिएको बताएका छन्। पोस्टमार्टम रिपोर्टमा विशालको घाँटीमा अखाद्य वस्तुले सर्किएर मृत्यु भएको बताइएको छ। डीएसपी चन्दले भने, ‘पोस्टमार्टम रिपोर्टअनुसार मृतकको प्रकृति भवितव्य देखिन्छ, हामी पीडितको जाहेरीबमोजिम नै घटनाको अनुसन्धान गरेका छौ।’
पीडित परिवारले घटनाको अनुसन्धान र सत्यतथ्यको खोजीको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोग, प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन्।
प्रतिक्रिया दिनुहोस !