माओवादीले गृहमन्त्री बादल र नेता खड्कालाई सांसदबाट हटायो : गृहमन्त्रीको पद के हुन्छ ?
काठमाडौं : नेकपा (माओवादी केन्द्र) पार्टी छोड्ने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र नेता चन्द्रबहादुर खड्कालाई सांसद पदबाट हटाएको जानकारी संसद् सचिवालयमा गराएको छ।
शुक्रबार माओवादी केन्द्रले संघीय संसद् सचिवालयमा राष्ट्रिय सभाका सदस्य रहेका गृहमन्त्री बादल र नेता खड्कालाई पार्टीले सांसद पदबाट हटाएको जानकारी गराएको हो।
माओवादी केन्द्रका नेता एवम् राष्ट्रिय सभाका सदस्य दीनानाथ शर्माका अनुसार पार्टीले नेता थापा र खड्कालाई सांसद पदबाट हराएको जानकारी संसद् ् सचिवालयमा गराएको बताए।
हाउस चलेको अवस्थामा पार्टीले सांसदलाई कारवाही गरेको विषयमा जानकारी गराउनु पर्ने र हाउस नचलेको अवस्थामा १५ दिनभित्र सूचना टाँस गरेर जानकारी दिनुपर्ने कानुनी व्यवस्था रहेको नेता शर्माको भनाइ छ।
‘रामबहादुर थापा र चन्द्रबहादुर खड्का दुवैजना पार्टीको तर्फबाट राष्ट्रियसभा सदस्य नरहेको निर्णय संसद् सचिवालयमा जानकारी गराएका छौँ’, नेता शर्माले भने, ‘दलको तर्फबाट जानकारी प्राप्त भएपछि हाउस सञ्चालन भएको भए त्यही जानकारी गराउने र हाउस सञ्चालन नभएको अवस्थामा १५ दिनभित्र सूचना टाँसेर उहाँहरुको संसद् पद नरहेको जानकारी सचिवालयले गराउनुपर्छ।’
शर्माले पार्टीले उहाँहरुको संसद् पद नरहेको सूचना सचिवालयमा दिएको प्रष्ट पारे। ‘यो सूचना भनेको उहाँहरु संसद् पद मुक्त भएको जानकारी हो’, शर्माले थपे।
माओवादीले संसद् पद खोसेका बादल राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनित हुन् भने अर्घाखाँचीका खड्का राष्ट्रियसभाका निर्वाचित सांसद हुन्। अर्घाखाँची मालारानी ५ घर भएका नेता खड्का माओवादी सशस्त्र युद्धका क्रममा बाबुराम भट्टराई निकट नेता मानिन्थे। पछिल्लो समय टोपबहादुर रायमाझी निकट मानिएका नेता खड्का सर्वोच्च अदालतले नेकपाको आधिकारिकता विवादमा सर्वोच्चले एमाले र माओवादीलाई अलगअलग बनाएपछि एमालेतर्फ लागेका हुन्।
नेकपा (एमाले) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले गृहमन्त्री बादललाई फागुन २८ गते केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए। सर्वोच्चको फैसलापछि एमाले समूहमा लागेका नेतालाई स्पष्टीकरण सोध्दै माओवादीले कारवाही सुरु गरेको हो।
माओवादी केन्द्रले दल त्यागसम्बन्धी ऐन २०७३ को दफा ३१ र ३२ बमोजिम स्पष्टीकरण माग्दै पार्टी हितविपरित काम नगर्न दिएको निर्देशन अस्वीकार गरेको भन्दै कारवाही थालेको हो। यो कारवाहीसँगै बादलको सांसद पदसँगै गृहमन्त्री पदसमेत गुम्ने भएको छ। नेता खड्काको भने सांसद पदमात्र गुम्नेछ।
यसअघि माओवादीले दल त्याग गरेर एमालेमा प्रवेश गरेका कैलाली–४ का लेखराज भट्ट, अर्घाखाँचीका टोपबहादुर रायमाझी, रौतहट–३ का प्रभु साह र कैलाली–३ का गौरीशंकर चौधरीको सांसद पद खारेज गरेको थियो। संविधानको धारा ७८ अनुसार प्रधानमन्त्री ओलीले मन्त्री पदमा पुननियुक्तिको सिफारिस गरिसकेका छन्।
राष्ट्रपति विद्याभण्डारीले पुनर्नियुक्त मन्त्रीलाई शुक्रबार साँझ शपथ गराउने कार्यक्रम तय भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ। प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णयलाई समर्थन गर्दै साथ दिने गृहमन्त्री बादललाईसमेत ओलीले संविधानको धारा ७८ अनुसार नै पुनः ६ महिनाका लागि मन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।
संसद् नरहेको व्यक्ति मन्त्री बन्ने संवैधानिक अवस्था

प्रतिक्रिया दिनुहोस !