कोसी टप्पु वन्यजन्तु आरक्ष प्रवेशमा प्रतिबन्ध
धरान : कोसी टप्पु वन्यजन्तु आरक्षमा १४ वटा जङ्गली हात्तीले उदण्डता मच्चाउन थालेपछि आरक्ष प्रवेशमा प्रतिबन्ध लगाइएको छ। प्रदेश १ को सुनसरी र उदयपुर र सप्तरीको पर्यटकीय क्षेत्र कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा ठूलो संख्यामा जङ्ली हात्ती प्रवेश गरेर उदण्डता मच्चाउन थालेपछि सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै आरक्ष प्रवेशमा प्रतिबन्ध लगाइएको हो।
कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा १४ वटा हात्तीले आरक्ष क्षेत्रमा विगार गर्न थालेकाले सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै आरक्ष क्षेत्रमा प्रवेश गर्न रोक लगाईको कोसी टप्पु वन्यजन्तु आरक्षका प्रमुख अशोक रामले जानकारी दिएका छन्। कोसी टप्पुमा रहेका घर पालुवा ७ वटा पोथी हात्ती भएका कारण जङ्गली हात्ती कोसी टप्पुमा प्रवेश गर्नेक्रम बढेको उनको भनाइ छ।
जंगली हात्तीको गतिविधि बढेसँगै कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयले सर्वसाधारणको गतिविधिमा रोक लगाउनुका साथै सार्वजनिक सूचना जारी गर्दै वैशाख ७ गते सम्म स्थानीय सर्वसाधारण, आन्तरिक तथा बाहिय पर्यटकहरु र साना सवारी साधनलाई समेत आरक्ष प्रवेशमा रोक लगाइएको आरक्षका प्रमुख रामले जानकारी दिए। आरक्षले चार पाङग्रे बन्द गाडीसहितका पर्यटक आएमा प्रवेश दिइने बताए पनि जोखिम रहेकाले भैपरी अवस्थाबाहेक सकेसम्म आरक्ष क्षेत्रको भ्रमणमा नआउन समेत सबैमा अपील गरेको छ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले कोसी टप्पु वन्यजन्तु आरक्षमा जङ्गली हात्तीको समूहले त्रास फैलाउने गतिविधि गरेका कारण प्रवेशमा रोक लगाइएको बताए।
उनले जङ्गली हात्तीको गतिविधि नियन्त्रण गर्न र मानव बस्तीको संरक्षण गर्न कोसी टप्पु वन्यजन्तु आरक्षलाई उचित व्यवस्थान गर्न निर्देशन दिएको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !