कोठा

कोठा

काका बाहिरबाट भित्र आए। ढोका लगाए। आँटको कुपी फुऽऽऽ गरेर निभाए। अनि बेहुली काकीको कोठामा पो लुसुक्क पसे। अनि खुत्रुक्क आग्लो चढाए। म त छटपटिएँ । उकुसमुकुस भएँ। ला ! त्यो कोठामा त एउटा ओच्छ्यान मात्रै त छ त्यसमा त बेहुली काकी सुतिसकिन् होला। अब काका कहाँ सुत्छन् होला ?


धने र बले काकाहरू छुट्टिने दिन के के न हुन्छ, कत्ति न रमाइलो हुन्छ, भोज नै पो हुन्छ भन्ठानेर गएँ छुट्टिएको हेर्न। आँगन, दलान, पिँढीमा थुप्रै मान्छे थिए। पूजा वा सरादमा पो यति धेरै मान्छे जम्मा भएको थाहा थियो मलाई।

त्यस्तै खान पनि पाइन्छ भन्ने ठानेथें। दंग पर्दै गएको थिएँ। तर ज्यादै नरमाइलो र दिक्कलाग्दो दृश्य पो हुँदोरहेछ दाजुभाइ छुट्टिँदा त। हानाथाप, तँछाडमछाड, लुछाचुँडी। कसैलाई यो भएन कसैलाई त्यो भएन। गुनासै गुनासो, असन्तोष नै असन्तोषै। झन्डै कुटाकुट नै पर्‍यो काकाहरूको।

‘जुटेको राम्रो फुटेको नराम्रो।’ यस्तै त सोच्यो मेरो बाल दिमागले। बले काकाको भागमा घर पर्‍यो। धने काकालाई आमा परिन्। कस्तो अचम्म ! छुट्टिसकेपछि मन मात्र होइन, व्यवहार नै पो छुट्टिएर टाढा हुँदोरहेछ। धने काका र आमै अटाउन सकेनन् मूलघरमा। हिजोसम्म ढलीमली गरेको घर भएर के गर्नू ?

मूल घरदेखि अलिकति पर धने काकाले घर बनाए। सानो चिटिक्क परेको एउटै कोठा सोलोढोलो। दुई आमा छोरालाई कोठा नै पो किन चाहियो र ? मझेरीको एक छेउमा आमै सुत्दथिन्। अँगेनानेरको मूल ओच्छ्यानमा काका सुत्दथे। ननिदाउञ्जेल र बिउँझेपछि आमा छोरा गुनगुन गरिरहन्थे। पहिले पहिले म काकाकहाँ रात बस्नै जान्थें।
धने काका लक्का जवान भए। एक दिन धने काकाको बिहे हुने भो। खुसी हुँदै गएँ उनको घरमा। धने काका ढोका छेउको कुनापट्टि बारेर कोठा बनाउँदै रहेछन्। उत्सुकतावश सोधें, ‘के बनाएको काका यो ?’ ‘हेर् न। मेरो बिहे हुन लाग्यो। अब बिहे गरेर काकी ल्याएपछि काकीलाई सुत्ने कोठा चाहिएन त ? त्यसैले कोठा बनाउन लागेको नि।’ धने काकाले फुरुक्क हुँदै भने।
‘काकीलाई चाहिँ सुत्न किन कोठा नै चाहियो नि काका ?’ 
‘बिहे गरेपछि कोठामै सुत्नुपर्छ क्या। नत्र लाज हुन्छ।’
‘अनि काकीलाई चाहिँ एक्लै कोठामा सुत्न डर लाग्दैन त ?’
‘काकीसँग म पनि सुत्छु नि त।’
‘छि ! यो काका त कस्तो लाज पनि नभाको। कतै केटा मान्छे पनि केटी मान्छेसित सँगै सुत्छन् त ? केटाकेटा, केटीकेटी पो सुत्छन् त। हामी त बा र म सुत्छौं अनि आमा र बहिनी सुत्छन्। बरु तपैं पनि काकी ल्याएपछि आमैसँग काकीलाई सुत्न लाए त भैहाल्छ नि। काकी र आमै केटीकेटी एकै ठाउँ सुत्छन्। तपैं चाहिँ छुट्टै सुत्दा हुँदैन र ?’
काकाले मुसुमुसु हाँस्दै हकार्दै भने, ‘धत् लाटा। तँ अहिले सानै छस् क्या। बुझ्दैनस् कोठाको महŒव। पछि ठूलो भएपछि बिहे गरेपछि मात्रै थाहा पाउँछस्। ल धेरै नबोल। बरु काम सघा मलाई।’ काकाको बिहे भयो। त्यस दिन काकाकोमै बसें। बिहेको रमझम सकिएकै थिएन। त्यसैको लोभले बसायो बिहे घरमै। साँझमा गाउँका केटाकेटी मिलेर खुबै नाचगान गरे। घरि क्यासेट बजाउँदै घरि मादल बजाउँदै नाचिरहे अबेरसम्म।

बेहुली काकीलाई चाहिँ धने काकाले बारेको त्यही कोठामै राखे। बेहुली काकी एकदमै राम्री लाग्यो। खुबै मन पर्‍यो। उनका गाजले आँखा, हातभरि छमछम बज्ने चुरा, नयाँ सारी चोलो कस्तो सुहाएको। म घरि घरि काकी भए ठाउँमा जान्थें, हेर्थें अनि कसैले नदेख्ने गरी छुस्स छुन्थें। बोल्न खोज्थें तर लाज लाग्थ्यो। बोल्दिनथें, उनले बोलाउँदा पनि चुप लाग्थें। अनि फेरि घरिघरि नाचे ठाउँमा पुग्थें। सबैभन्दा खुसी त म थिएँ त्यो घरमा त्यस दिन। घरिघरि आफूले लगाएको नयाँ लुगा हेर्थें र दंग पर्थें।

अबेरसम्म नाचगान गरेपछि नजिक हुनेहरू सबै आआफ्नो घरमा गए। बिहेमा आएका टाढाका पाहुना मात्र बाँकी रहे। तीमध्ये पनि कोही मूलघरमा सुत्न गए। कोही छिमेकीका तिर। दुई चारजना मात्र बाँकी रहे त्यस घरमा। त्यसमा म पनि थपिएको थिएँ, बच्चै भए पनि विशिष्ट पाहुनाजस्तै। सबै सुत्ने तरखर गर्न थाले। काकाले सबैलाई सुत्ने व्यवस्था मिलाए। पाहुनामध्ये कोही धने काका सधैं सुत्ने ओच्छ्यानमा सुते। आमै सुत्ने मझेरीमा पनि ठूलो सुकुल र राडी ओच्छ्याए काकाले। बाँकी सबै त्यहीँ पल्टिए। काठको पिर्काको सिरानी लगाएर।
म आउँदा सधैं धने काकासँगै सुत्दथें। मूल ओच्छ्यानमा नै तर आज त कोन हो पराई मान्छे पो सुते काकाको ओच्छ्यानमा त। मलाई पनि पराई मान्छेसँग सुत्न पो भने। पराई मान्छेसँग सुत्न मनै लागेन। ठुस ठुस गर्दै अगेनो छेउमा बसिरहें। काकाले भने ल त्यसोभए खुरुक्क आमासँग सुत्। मलाई आमैसँग पनि सुत्नै मन लागेन। आमैले तानेर आफैंसँग सुताइन्। केटी मान्छेसँग सुत्नुपर्दा कस्तो लाज लागेको थियो। कक्रुक्क परेर सुतें।

सबैजना सुतिसकेका थिए तर मलाई भने पटक्कै निन्द्रा लागेन। काकाको पीर लागिरह्यो। काकालाई त सुत्ने ओछ्यान पनि थिएन। काकाको सधैंको ओछ्यानमा पनि बिहेमा आएका पराइ मान्छे नै सुतिसकेका थिए। मझेरीको ओछ्यानमा पनि पाहुना आमैहरू थिए। अब काका कहाँ सुत्छन् होला भनेर म घरिघरि आँखा उघारेर हेरिरहेको थिएँ। सबैजना सुतिसकेपछि काका बाहिर निस्के। आँटमा टुकी बलिरहेकै थियो। पाहुना र आमै गफ गर्न छाडिसकेका थिए। सबै निदाए होलान् सायद। मेरो छेउमा अर्कापटि फर्केर सुतेकी आमै पनि घुर्न थालिसकेकी थिइन्।
निकैबेर पछि काका बाहिरबाट भित्र आए। ढोका लगाए। आँटको कुुपी फुऽऽऽ गरेर निभाए। अनि बेहुली काकीको कोठामा पो लुसुक्क पसे। अनि खुत्रुक्क आग्लो चढाए। म त छटपटिएँ । उकुसमुकुस भएँ। ला ! त्यो कोठामा त एउटा ओच्छ्यान मात्रै त छ त्यसमा त बेहुली काकी सुतिसकिन् होला। अब काका कहाँ सुत्छन् होला ? रातभर यही पीरले सताइरह्यो। एक त आमै घुरेर सुत्न नसकेको र अर्कातिर काका कहाँ सुते होला भन्ने पीर। रातभर निदाइनँ। 

भोलिपल्ट सबै पाहुना गैसकेका थिए ! म चाहिँ त्यहीँ बसें। अँगेना छेउको मूल ओच्छ्यानमा आमै सुते आज त काकासँग सुत्न पाउछु होला भन्ठानेको त काका त कोठैमा लुसुक्क पसेर आग्लो चढाए। काकाले आमैसँगै सुत्न भनेका थिए। बेकार घर नगएर बसेजस्तो लाग्यो।  आमैसँग त पटक्कै सुत्नै मन लागेन। त्यो दिन पनि अमिलो मन पारेर आमैको भित्तापट्टि कुक्रुक्क परेर सुतें।

धने काकाका पनि दुई छोरा र दुई छोरी भए। उमेरमा निकै फरक र साइनोमा काका भतिज भए पनि धने काका र म धेरै मिल्थ्यौं, साथीजस्ता। बेलाबेला धने काकाकोमा गइरहन्थें। उनी पनि मेरोमा आइरहन्थे। ऐचोपैंचो अर्मपर्म उधारो सबै चल्थ्यो हाम्रो। काकाका छोराछोरी ठुला हुँदै गइरहेका थिए। आफूले पढ्न नपाए पनि छोराछोरीलाई स्कूल भर्ना गरे काकाले। केही वर्षपछि आमै पनि बितिन्। घरमा जम्मा एउटा मात्र कोठा थियो। काकाकाकी कोठामै सुत्दथे। आमै सुत्ने मूल ओच्छ्यानमा काकाका दुई छोरा सुत्थे। मझेरीमा गुन्द्रीमाथि राडी, भकुल्ला ओच्छ्याएर दुई छोरी सुत्दथे।

एकदिन यत्तिकै बरालिँदै काकाकोमा गएँ। काकाका बाउछोरा मझेरीपट्टि गारो लगाउँदै थिए। मैले सोधें, ‘के बनाउन लागेको काका ?’ ‘ए, तँ पो ! यी हेर् न ! कोठा बार्न लागेको। छोरीहरू ठुली हुँदै गए। अब सधैं मझेरीमै सुत्न पनि अलिक अप्ठेरो पो पर्दाेरहेछ। फेरि कहिलेकाहीँ पाहुनापाछा आउँदा त सुत्ने ठाउँ नै नहुने रैछ बाबै। खान त खोले, फाँडो, ढिँडो, रोटो जे खाए पनि त भयो। त्यसैले छोरीहरूका लागि यसो एउटा कोठा पो निकालिदिऊँ कि भनेर नि।’
‘हो नि त कुरो त।’ मैले सही थापें। सघाइदिएँ काकालाई गारो चढाउन पनि। पछाडि पट्टिको गारो खोलेर सानो झ्याल पनि निकाले। त्यसपछि दुई छोरी त्यही कोठामा सुत्न थाले। समय बग्दै गयो। मेरो पनि बिहे भयो। काका मूल ओच्छ्यान छोडेर किन कोठामा सुत्न पसेछन् र कहाँ सुते होलान् त्यतिखेर भन्ने मेरो अबोध जिज्ञासा पनि आफैं हल भयो। आफैंलाई कुरीकुरी लाग्थ्यो आफ्नै त्यो बालचिन्ता सम्झेर।

केही वर्षपछि काकाकी जेठी छोरीलाई राम्रै कुटुम्ब माग्न आए। उमेर त त्यति पुगेकै थिएन । भर्खरै एसएलसी त दिएकी थिई छोरीले। पहिलो कुटुम्ब उम्काउन चाहेनन् काकाले। सरसल्लाहका लागि आएस् है भनेर खबर पठाएछन् काकाले मलाई। धने काका आँगनमा बसेर खाँबो चिल्याउँदै थिए म पुग्दा। कौतुहल जाग्यो मलाई। काकाले देख्नेबित्तिकै आफैं भने, ‘हेर् न भतिज। छोरीको बिहेको कुरा चल्दैछ। राम्रै कुटुम्ब आएको छ। पहिलो आएको जस्तो अर्का हुन्न भन्छन् तैं भन् न के गरुँ ? सल्लाह गर्न पो बोलाको तँलाई।’
‘सबै बुझेकै होला ! राम्रो छ भने दिए भै गोन्त’ भन्दिएँ। अनि सोधें, ‘के गर्न यो खाँबो ताछेको काका ?’ ‘छोरीको बिहे भैगो भने त दुल्हन फर्काउन आउँदा ज्वाइँलार्ई सुत्ने कोठै पो नहुने भो त। त्यही भएर यतातिर लाछी गाँसेर एउटा सानो कोठा पो बनाइदिऊँ कि भनेर नि।’ घरको तल्लो पट्टि देखाउँदै भने काकाले। मैले पनि सघाइदिएँ काकालाई कोठा बार्नलाई। काकाले छोरीको विवाह धुमधामसँग गरिदिए।

धने काकाका छोराहरू पढ्नमा तेज निस्किए। सरकारको सिन्दुर लगायो जेठोले, यानेकी आर्मी भयो। कान्छो छोरो पनि हाईस्कुलमा मास्टर भयो। अलिकति पातलो दिसा आउँदादेखि कुखुराको एउटा अण्डा बेच्नु पर्‍यो भने पनि काकाले मैलाई गुहार्थे। एकदिन काकाको निम्तो आयो। उनको घर पुग्दा त काका जस्केलोको उतापट्टि बलेसी झर्ने ठाउँतिर धमाधम सफा गर्दै रहेछन्। ‘हैन जन्तेबाख्रो पकाउने ठाउँ नै पो बनाउन थाल्यौ कि के हो काका अहिलेदेखि नै’ ठट्यौली पारामा भनें।
‘तँलाई खालास् जन्तेबाख्रो खुबै। नानी पाउनु कहिले कहिले कन्दनी बाट्नु अहिले भनेजस्तो नि।’ ‘अनि के गर्न लागेको त यो घाममा धमाधम गरेर।’ फेरि सोधें। ‘सरकारी सिन्दुर लगाइ पल्टेको जेठोलाई धनीकी छोरी दिन आएका छन् बाबै। धनीकी छोरीबुहारी आउने भएपछि दाइजो पनि प्रशस्तै आउने भैगो। तर लु तँ हेर् त खै दाइजो थन्क्याउने गतिलो कोठा ? अनि भएन त समस्या ? अब एउटा गतिलै कोठा बनाइदिनु पर्‍यो भनेर क्या !’ काकाले जुँगामा ताउ लाउँदै अलिकति रवाफिलो पाराले भने।
केही दिनमै ठुलो हावादार कोठा बनायौं काका–भतिज भएर। काकाको छोराको धुमधामले बिहे भयो। साँच्चै नै कोठामा नै नअटाउने गरी दाइजोको सामान आयो। काका दंग भए। आवश्यकतापिच्छे कोठा थप्दै जाँदा काकाको पुरानो घर भद्दा देखियो नसुहाउँदो पाराको। यता टालेको उतै टालेको, छन्द न बन्दको। छोराहरूको कमाइले काकाको आर्थिक अवस्था पनि निकै उक्सिँदै थियो। त्यो घर भत्काएर अर्काे पक्की घर बनाउने सल्लाह भएछ  परिवारमा। केही समयपछि कोठैकोठा भएको एकतले चिटिक्क परेको गजबको पक्की घर बन्यो। अब भने सबैका आआफ्नै कोठा ! कसैलाई पनि चिन्तै भएन।

केही समय मेरो र काकाको भेट भएन आआफनै कामको चटारोले। मेरा त बाआमा अभिभावक भनेकै काका मात्रै त थिए। न्यास्रो मेटाउन एकदिन काकाकोमा पुगें टुप्लुक्क। आँगनभरि घर निर्माणका सामग्री थिए। सामानतिर लक्षित गर्दै सोधें, ‘अझै घर सकिएन र काका ?’ ‘के गर्नु भतिज ! घर त बनाइयो तर अझै कोठै पो पुगेन। पाँचवटा कोठा सबैलाई एक एकवटा ठिक्क भैगो। भान्सा कोठा, पूजा कोठा, भण्डार कोठा, बैठक कोठा खै केही त पुगेन। माथि अर्को तला पो थप्न पर्‍यो भनेर हिजो सामान झारेको।’ काकाले प्रस्ट्याए।
माथिल्लो तला थपेपछि कोठैकोठा भएको सबैैभन्दा ठूलो र राम्रो घर भयो काकाको। काकाको कान्छो छोरा र छोरीको पनि बिहे भयो। जेठाको पनि आफ्नै परिवार भए। कान्छाका आफ्नै। एउटै कोखका दाजुभाइ भए पनि मिलेर बस्न नसक्ने दाजुभाइको जात। दन्त बझान् सुनिन थाल्यो घरमा अलिअलि गर्दै। काकाले संकेत बुझेर दुवैलाई भातभान्सा छुट्याइदिए। दुवै छोरालाई अंशबण्डामा एउटा एउटा तला दिए रे। धने काकाहरू छुट्टिँदाको दिनको दृश्य मेरो बाल मस्तिष्कमा बिझिरहेकै थियो। त्यसैले गइनँ उनका छोराहरू छुट्टिँदा। दुवै तलाका कोठामा आआफ्नै सरसामानले भरिए दुवै परिवारका।

बूढाबूढीलाई त आफ्नो कोठा नै पो भएन छ ! पुरानो घर भत्काइ सकिएको थियो। जेठाको तलामा नै बस्थे काकाकाकी। एक दिन काकाकाकीलाई भेट्न गएँ। दुवैजनालाई देखिनँ। काकालाई तलैबाट बोलाएँ। जेठाभाइकी छोरीले बताइ छतमा हुनुहुन्छ हजुरबा हजुरआमा। छतमा उक्लें। निन्याउरा थिए काकाकाकी। अलिक पर एउटा मान्छे के के काम गरिरहेको थियो। काकाकाकीलाई ढोगें। काकीले मुडा दिइन् बस्न। सन्चो बिसन्चो सोधें, ‘खै बाबु ! सन्चो भनौं कि बिसन्चो ?’ कुरा चपाए काकाले।

‘के छत चुहियो, पर्खाल भत्कियो कि के हो काका ? मिस्त्री पो आएको छ त।’ कुरा खोतलें। ‘के हुनु नि भतिज ? बाह्र छोरा तेह्र नाति बुढाको धोक्रो काँधै माथि।’ अब एक एकवटा तलामा आआफ्नै सामान भरि भरि छन् केटाहरूकै। हामी बुढाबूढीलाई यसो टिनसिन हालेर भए पनि एउटा छुट्टै कोठा यही छतमा पो निकाल्न पर्‍यो भनेर लागेको।’ काकाले मनको अमिलो पोखे मेरा सामू। सिरानको एउटा कोठामा काकाको सिंगो संसार अटायो। बिहे गरेपछि र छोराछोरी भएपछि र झन् छुट्टिएपछि त सबैको संसार भनेको आफ्ना छोराछोरी र लोग्नेस्वास्नी मात्रै त हुँदारहेछन्। बाउआमा पनि पो अर्कैका जस्ता। काकाकै देखें मैले त नजिकैबाट।

काकाकाकीलाई ढोगें। काकीले मुडा दिइन् बस्न। सन्चो बिसन्चो सोधें, ‘खै बाबु ! सन्चो भनौं कि बिसन्चो ?’ कुरा चपाए काकाले। ‘के छत चुहियो, पर्खाल भत्कियो कि के हो काका ? मिस्त्री पो आएको छ त।’ कुरा खोतलें। ‘के हुनु नि भतिज ? बाह्र छोरा तेह्र नाति बुढाको धोक्रो काँधै माथि।’

जेठा कान्छाका परिवार नै प्रायः माथि उक्लन भ्याउँदैनथे। खाना खान बिहान जेठाको, बेलुकी कान्छाको पालो थियो। खाना खाएर उक्लेका काकाकाकी फेरि खान मात्रै झर्थे तल। आउने जाने मान्छे पनि तीन तलामाथि को उक्लिराखोस् तलैबाट फर्कन्थे। धेरैजसो त काकाकाकीलाई नभेटिकन नै। यदाकदा छोरी ज्वाइँ आउँदा भने मात्रै तेस्रो तल्ला उक्लन्थे। बस्थे, गफसफ गर्थे, सन्चो बिसन्चो सोध्थे।

काकाकाकीको अवस्था देखेर माया लाग्थ्यो बेस्सरी, आफ्नै बाआमाजस्तै। उनीहरू पनि आफ्नै छोरालाई जस्तो माया गर्थे। तर जति माया लागे पनि उनीहरूलाई आफ्नो घरमा ल्याएर राख्न सक्दिनथें न त सेवा गरेर सधैं उनीहरूसँगै बस्न नै। काकाकाकी दिनानुदिन डाँडापारिको घामजस्तै हुँदै गए। तलमाथि गर्न पनि गाह्रो हुन थाल्यो। हुन त मेरा पनि हिँड्दा खुट्टा दुख्थे। जिउ थरथर काम्थ्यो। दम बढ्थ्यो। मन भएर पनि काकाकोमा सधैं जान सक्दिनथें।
केही दिन नजाँदा काकाकाकी मेरै आसमा बाटोभरि आँखा ओच्छ्याएर बसिरहन्थे। मलाई पनि नियास्रो लागेर हुलुक्क हुन्थ्यो मन। अनि घर परिवारको आँखा छलेर भए पनि भागिहाल्थें उतै। सकिनसकि हर्‍याक हर्‍याक गर्दै भए पनि। यो माया र आत्मीयता भन्ने चीज पनि अचम्मकै हुँदोरहेछ। निकै दिन म आफैं थला परें। न म काकाकोमा जान सकें न त उनी नै मलाई भेट्न आउन नै सके। मनमनले मात्रै हामीले एकअर्काको तिर्सना मेटिरह्यौं। अलिक सन्चो भएपछि घस्रिँदै पुगें काकाकोमा।

काका भुइँमा याने कि आँगनमा नै मुडामा बसिरहेका थिए। मुडामा बसे पनि लौरो टेकेर आड लिइरहेका। काकी भुइँमा सुकुलमाथि घाम तापेर सुतिरहेकी। टुप्लुक्क पुगें। काकाकाकीकै आँखा सजल भए मलाई देखेर। मेरो पनि गह भरिएर आयो। ‘के छ काका हालखबर ? सञ्चै त छौ ? किन आज त यहीँ भुइँमै पो देख्छु त ?’
सजल आँखा पुछ्दै काकाले भने, ‘के गर्नु बाबै ! घरभरि कपडा बिरे नांगै !’ भनेझैं भा’छ। यी यत्रो घर छ कोठैकोठा भ’को तर हामी बुढाबढीलाई भने...। तर अब त्यो तीन तलामाथि बस्दा त हामी बिराना पो भयौं। टिन र छत तातेर बस्नै नसकिने। फेरि भात भान्सा, दिसापिसाब गर्न चर्पी जान तलै झर्नुपर्ने। तलमाथि गर्न नै नसक्ने भई घुँडा दुखेर झन् काकी त।
अब दिनदिनै थला परिन्छ। माथि नै बस्योे भने त हामी कोठामै सिद्धिराखेको हुन बेर नहुने भो। तेरा भाइबुहारी पनि माथि उक्लिन भ्याउने होइनन्। बरु यहाँनेर गिलेबाको जोडाई गरेर र परालले नै छाएर भए पनि एउटा सानो कोठा ननिकालिन्त भएन है भतिज। कि कसो भन न ए ?’ निर्णयात्मक उत्तर पो मागे काकाले मसँग। झट्ट बोल्नै सकिनँ काकाको कुरा सुनेर त। निकैबेर पछि ‘हुन्छ त काका ! सितल पनि हुने पैसा पनि कम लाग्ने बरु पहिले नै माथि नबनाएर यहीँ बनाउनुपर्ने।’ सल्लाह दिएँ।

काकाकाकी तलै सरे। दिनभरि आँगन, दलान, कोठा, बाटो गर्न सजिलो पनि भयो। आउने जाने बाटो हिँड्नेसँग पनि बोल्न पाए। बूढाबुढी भएपछि झन् आफन्त र सामिप्यता खोज्दोरहेछ मान्छेले। दुई भाइ छोरा भए पनि कतै आफ्नोपन भेटेनन् काकाकाकीले। दिन पर्खनु मात्रै रह्यो अब उनीहरूको उद्देश्य। केही महिनापछि काकाकाकी पनि तीन महिनाको फरकमा बिते।
‘पहिले मलाई नै अघि जान दे है भनेको छु मैले त’ काका सधैं सुनाउँथे आफ्नो निर्णय। नभन्दै उनको माग पूरा नै भएर छोड्यो। दुःखै लुक्यो बुढाबुढीको। आजभोलि मलाई काकाको ज्यादै न्यास्रो लाग्छ। अनि म घस्रेर उनको घरको बाटोमा निस्कन्छु। अगाडिको चौतारीमा बस्छु। परैबाट देखिन्छ उनले आँगनमा बनाएको कोठाको छाना भताभुंग परेको। हावाले पराल उडाएर भुत्ल्याएजस्तै भएको छ। झ्यालका पंग्लाटा फुस्केका छन्। ढोकाको खापा झिकेर ह्वांगै छ। भित्ताभर बन्सो र वनमारा उम्रिएको छ।
सबै देखेर चरक्क भएर आउँछ मुटु। काकाले पहिलोचोटी मझेरीमा कोठा बनाउँदा भनेको सम्झन्छु झल्याँस्स, ‘तँ बुझ्दैनस् क्या केटा कोठाको महत्व...!’ अनि सम्झन्छु बिहेको रात काका सुटुक्क बेहुुलीको कोठामा छिरेको र मचाहिँ काका कहाँ सुते होलान्, ओछ्यान त एउटा मात्र त थियो भनेर रातभर पीरलोले ननिदाएको क्षण !!!
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.