पर्वतको कुश्मा नगरपालिकाको कार्यालय एक हप्ताका लागि बन्द
कुश्मा : कोभिड–१९ को नयाँ भेरियन्ट फैलन सक्ने अवस्थालाई मध्यनजर गर्दै कुश्मा नगरपालिकाका सम्पूर्ण सेवाहरु एक साताका लागि बन्द गरिएको छ। कार्यालयका प्रमुख प्रशाकीय अधिकृत कुमानसिंह गुरुङलाई कोरोना संक्रमण पुष्टि भएपछि भोलि बिहीबारदेखि लागु हुने गरी वैशाख १५ गते बुधबारसम्म सबै सेवा ठप्प पारिएको हो।
कार्यालयबाट सम्पादन हुने नियमित सेवाहरु योजना सम्झौता, योजना फरफारक, राजश्व संकलन भुक्तानी लगायतका कार्यहरु पूर्ण रुपमा बन्द गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद तिवारीले जानकारी दिए। उनका अनुसार अत्यावश्यक सेवाहरु जस्तै स्वास्थ्य, फोहोरमैला संकलन, दमकल लगायतका सेवाहरु भने नियमित रुपमा संचालन हुने भएका छन्।
एक साता नगरपालिका बन्द हुँदा सेवाग्राहीमा पर्ने असरप्रति क्षमायाचना गर्दै कोभिड–१९ विरुद्ध संवेशनशील बन्न कार्यालयले आग्रह गरेको छ। नगरपालिकाले वडा नं. ३ दुर्लुङ्गको चनौटे गाउँमा आयोजना गरेको सातौ नगर सभा समेत स्थगित गरेको छ। पहिलोपटक कार्यालय बाहिर बिहीबार आयोजना गरिएको सभा संक्रमणकै कारण स्थगित गरिएको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिए।
यसैबीच जिल्ला प्रशासन कार्यालयले पनि सुचना जारी गर्दै भिडभाड हुने सबै गतिविधि बन्द गर्न आग्रह गरेको छ। प्रहरीले मास्क लगाउने अभियानलाई प्रभावकारी बनाउन बजार क्षेत्रमा चेकजाँचलाई कडाइ गरिएको छ भने सवारी साधनहरुमा समेत आवश्यक सतर्कता अपनाउन भनिएको छ।
प्रतिक्रिया दिनुहोस !