भोजपुर गोल्डकप : इलामलाई स्तब्ध पार्दै गोर्खा ब्वाइज सेमिफाइनलमा
भोजपुर : गोर्खा ब्वाइज क्लब रुपन्देही भोजपुरमा जारी चौँथो अन्तर्राष्ट्रिय आमन्त्रण मेयर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार रेडहर्स फुटबल क्लब इलामलाई १–० ले स्तब्ध पार्दै रुपन्देही अन्तिम चारमा पुगेको हो।
निकै प्रतिस्पर्धात्मक रहेको खेलमा निर्धारित ८० मिनेटमा पनि दुवै टोलीबाट कुनै गोल हुन सकेन। थपिएको अतिरिक्त समयमा रेडहर्स इलामका खेलाडीले डिबक्स नजिकै फल गरेपछि पाएको फ्रिकिकलाई सुन्दर सदुपयोग गर्दै रुपन्देहीका अजित गुरुङले गोलमा परिणत गरेर टिमलाई जित दिलाए। म्यान अफ दि म्याच समेत घोषित भएका गुरुङले ३५ सय नगदसहित मेडल पाए। केही सुन्दर अवसर पाए पनि इलामले गोललाई विपक्षी पोष्ट चुमाउन नसक्दा हार व्यहोर्नुपर्यो।
जितसँगै रुपन्देहीले सेमिफाइनलमा आयोजक टिम भोजपुरसँग प्रतिस्पर्धा गर्नेछ। यता हारसँगै इलाम प्रतियोगिताबाट बाहिरिएको छ। धनकुटा, धरान र मोरङ यसअघि नै प्रतियोगिताबाट बाहिरिएको छ। योसँगै प्रतियोगिताको सम्पूर्ण क्वार्टरफाइनल खेल सकिएको छ। प्रतियोगिता अन्तरगत पहिलो सेमिफाइनल खेलमा बिहीबार भगवती स्पोर्टस् क्लब खोटाङ र अफ्रिकन रुट्स एशोसियसन क्यामरुन बीच भिडन्त हुनेछ। त्यस्तै दोश्रो सेमिफाइनल खेलअन्तरगत शुक्रबार गोर्खा ब्वाइज रुपन्देही र आयोजक भोजपुरबीच प्रतिस्पर्धा हुनेछ।
प्रतिक्रिया दिनुहोस !