दैलेखमा कोरोना संक्रमितको उपचारका लागि ४१७ बेड तयारी अवस्थामा
दैलेखः दैलेखमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारका लागि चार सय १७ बेड तयारी अवस्थामा राखिएको छ ।
भेन्टिलेटर सहितका दुई वटा, अक्सिजन सहितका ६३ वटा र सामान्य ३ सय ५२ गरी चार सय १७ वटा बेड संक्रमितको उपचारका लागि तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए । प्रमुख जिल्ला अधिकारी प्याकुरेलका अनुसार एक सय १ वटा अक्सिजनको सिलिण्डर तयारी अवस्थामा राखिएको छ ।
सरकारले कोभिड–१९ का संक्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योगधन्दा केही समय बन्द गर्न आग्रह गरिसकेको छ । यस्तै संक्रमणको जोखिमलाई मध्यजनर गर्दै जिल्लामा १४ वटा एम्बुलेन्सहरु समेत तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले जानकारी दिए ।
हाल जिल्लामा नयाँ भेरियन्ट सहित तिव्र गति फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रिय संक्रमितको संख्या ९० जना छ । ती मध्ये १३ जना जिल्लाका विभिन्न आइसोलेसनमा उपचाररत छन् भने ७७ जना होम आइसोलेसनमा छन् । बुधवार मात्रै एक जना संक्रमितको दैलेख अस्पतालको आइसोलेसनमा निधन भएको थियो । विश्व्यापी रुपमा फैलिएको कोरोना संक्रमणबाट अघिल्लो बर्ष एक हजार पाँच सय ११ जना नागरिक संक्रमित भएका थिए । ती मध्ये ६ जनाको निधन भएको थियो ।
दैलेख अस्पतालमा ओपीडी सेवा बन्द
स्वास्थ्य सेवा कार्यालय दैलेख, दैलेख जिल्ला अस्पतालको ओपीडी सेवा बन्द गरिएको छ । चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि ओपिडि सेवा शुक्रवारबाट बन्द हुने भएको हो । बिहीवार एक विज्ञप्ति जारी गर्दै हाललाई अस्पतालको ओपिडि सेवा मात्रै बन्द गरिएको जनाएको छ ।
स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीका अनुसार ओपिडि सेवा अर्को सूचना जारी नहुँदासम्म बन्द रहनेछ । अन्य सेवाहरु भने नियमित रुपमा सञ्चालन हुने रेग्मीले बताए । अस्पतालले कोरोना भाइरस (कोभिड–१९) को महामारीमा धैर्यताका साथै सरकारबाट लागु भएका जनस्वास्थ्य सम्बन्धी मापदण्डहरुको पूर्ण पालना गर्न जिल्लाबासीलाई अपिल गरेको छ ।
जिल्ला प्रशासनको सेवा पनि बन्द
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण जिल्ला प्रशासन कार्यालय दैलेखको सेवा प्रवाह बन्द गरिएको छ । प्रशासनले बुधवार विहान एक सूचना जारी गर्दै सेवा प्रवाह बन्द गरिएको जानकारी दिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण सेवा बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले जानकारी दिए ।
नयाँ भेरियन्ट सहितको कोरोना भाइरस नेपालमा समेत फैलिएको र मानवीय क्षती भईरहेको अवस्थामा दैलेखमा पनि संक्रमण तिब्र रुपमा बढिरहेको हुँदान संक्रमणलाई थप फैलिन नदिन सेवा प्रवाह बन्द भएको देवकोटाले बताए । शान्ति सुरक्षा, विपद् व्यवस्थापन र मुद्धा बाहेक जिल्ला प्रशासन कार्यालय दैलेखबाट प्रवाह गरिने नियमित सेवा प्रवाह अर्को सूचना जारी नहुँदासम्म बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी देवकोटाको भनाई छ ।