जनादेश
बशिरा
मैले पनि लिउँ कि क्या हो आज जनादेश
लामो यात्रा तय गर्न लगाईरहें रेस
एक्लै रहर बुन्दै गएँ फुल्दै गए केश
अझै ठाउँ पा’को छैन कता गरौं पेश
मैले पनि लिउँ कि क्या हो आज जनादेश।
कोही भन्छन् बाघचाल खेलौं कोही भन्छन् चेस
जे खेले नि बाघ मोटाउने बाख्रालाई ठेस
यहाँ छु म भन्छन् सबै थाहा छैन के छ
विचार होइन बलको लडाई के रहन्थ्यो केश
मैले पनि लिउँ कि क्या हो आज जनादेश।
ठाक्क ठुक्क सधैं पथ्र्याे आज ठुलै परो
गरिदिएँ मैलेपनि कुरा आज खरो
कि त आउ कि त जाउ भन मनमा के छ
डेरा सर्ने बानी रै’छ बिग्रियो परिवेश
मैले पनि लिउँ कि क्या हो आज जनादेश।
बुढी भन्छे सुनको सिक्री छोरो भन्छ बाइक
छोरी जान्छे ब्युटीपार्लर टिकटक बन्छ लाइक
बाँडौं भन्छन् मिलिभगत आपसमा जे छ
गाह्रो भयो धान्न जीवन फेरिएछ भेष
मैले पनि लिउँ कि क्या हो आज जनादेश।