सुनसरीमा वैशाख ३१ सम्म पूर्ण लकडाउन
धरान : कोरोना संक्रमितको संख्यामा कमी नआएको भन्दै सुनसरीमा वैशाख ३१ गतेसम्म पूर्ण लकडाउनको घोषणा गरिएको छ। कोरोना भाइरसले जिल्लामा झन् संक्रमण फैलाएको भन्दै मंगलबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको डीसीसीएमसीको बैठकले सुनसरीलाई सुरक्षित बनाउन वैशाख ३१ गतेसम्म पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।
भारतसँग खुला सीमाना रहेको सुनसरीमा ६ सय भन्दा बढी व्यक्तिमा कोरोना संक्रमण भएका कारण पूर्ण रुपमा लकडाउन गर्नु परेको प्रजिअ ढकालको भनाइ छ। लकडाउनको समयमा अत्याआवश्यकबाहेक हिँडडुल गर्न नपाइने, कुनै पनि सवारी साधन संचालन गर्न नपाइने पनि ढकालले बताए। लकडाउनको अवधिमा कलकारखाना, उद्योग धन्दा, होटल पसल सबै बन्द गर्ने निर्णय गरिएको छ।
खाद्यान्न, तरकारी र निर्माण सामाग्रीका पसल भने बिहान १० बजेसम्म खोल्न पाइने छ। प्रजिअ ढकालले स्थानीय प्रशासनको निर्देशनलाई उलंघन गर्ने जो कोहीलाई पनि संक्रमण ऐन अनुसार पक्राउ गरी कारवाही गर्ने चेतावनी दिएका छन्।
सुनसरीमा वैशाख १७ गतेदेखि लागु गरिएको निषेधाज्ञामा समेत संक्रमितको संख्या दैनिक बढ्दै गएकाले पूर्ण लकडाउन गर्नु परेको डीसीसीएमसीका सदस्य तथा सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक माधवप्रसाद पौडेलले बताए।

प्रतिक्रिया दिनुहोस !