इलाममा कोरोनाबाट थप दुईजनाको मृत्यु
इलाम : इलाममा कोरोना भाइरस (कोभिड –१९) को नयाँ भेरियन्टको संक्रमणबाट एकैदिन दुईजनाको मृत्यु भएको छ । कोभिड फोकल पर्सन विमल बरालका अनुसार मंगलबार इलाम नगरपालिका ७ का ७४ वर्षीय पुरुष र इलाम नगरपालिका ४ की २९ वर्षीया युवतीको मृत्यु भएको हो । पुरुषको झापाको वीएण्डसी अस्पतालमा र युवतीको नोवेल अस्पताल विराटनगरमा मृत्यु भएको बरालले जानकारी दिए ।
यसअघि इलामको चुलाचुलीमा गाउँपालिका १ का ८४ वर्षीया महिला र चुलाचुली गाउँपालिका ५ का ८८ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भइसकको छ । बरालका अनुसार मंगलबार दिउँसोसम्ममा इलामका ६३ जनामा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि भएकामध्ये स्वास्थ्यमा समस्या देखिएका ५ जना विभिन्न अस्पतालमा उपचाररत छन् भने अन्य होम आइसोलेसनमा रहेका छन् ।
इलाम नगरपालिकाको ७ र रोङ गाउँपालिका ४ मा सबैभन्दा बढी संक्रमित देखिएको बरालले बताए । सदरमुकाम आसपासमै दुईजनाको मृत्यु भएपछि निजी क्षेत्रले आफ्नो सेवा बन्द गर्न सुरु गरेका छन् । बचत तथा ऋण जिल्ला सहकारी संघले घरघरमा पुगेर बचत संकलन गर्ने कार्य बुधबारदेखि बन्द गर्न मातहतका सहकारीलाई निर्देशन दिएको अध्यक्ष लिला थापाले जानकारी दिए ।
पूर्वेली जीप तथा ट्याक्सी यातायात सेवा प्राली इलामले पनि बुधबारदेखि आफ्ना सबै टिकट काउन्टर बन्द गर्ने जनाएको छ । प्रालिका अध्यक्ष गृष्मि सुब्बाले अत्यावश्यक बाहेकको अवस्थामा गाडी नचलाउन व्यवसायीलाई अनुरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !