गण्डकी प्रदेश प्रमुख भन्छिन्- अविश्वास प्रस्ताव निस्क्रिय जस्तै
पोखरा : गण्डकी प्रदेशका लागि नवनियुक्त प्रदेश प्रमुख सीता पौडेलले बुधबार पदभार ग्रहण गरेकी छन्। सहिदचोकस्थित कार्यालय पुगेर उनले बिहान ११ बजे पद सम्हालेकी हुन्। सरकारको सिफारिसमा सोमबार उनको नियुक्ति भएको थियो। गण्डकीमा उनी तेस्रो प्रदेश प्रमुख हुन्।
अमिक शेरचनलाई हटाएर सरकारले पौडेलको नियुक्ति गरेको हो। शेरबहादुर देउवा सरकारले नियुक्त गरेका बाबुराम कुँवरलाई हटाएर गतवर्ष कात्तिक १७ गते अमिक शेरचन नियुक्त भएका थिए। उनले १८ महिना जिम्मेवारी पाए।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता छ, त्यसको छिनोफानो गर्न अधिवेशन चल्दाचल्दै स्थगित भएको अवस्थामा शेरचनको ठाउँमा प्रदेश प्रमुख भएर पौडेल आएकी हुन्। उनले अविश्वास प्रस्ताव निस्क्रिय जस्तै भइसकेको प्रतिक्रिया सञ्चारकर्मीलाई दिएकी छन्।
‘नियम कानुनको परिधिभित्रै बसेर निकास दिन काम गर्ने हो। नियमअनुसार भन्ने हो भने अब अविश्वास प्रस्ताव निश्क्रिय भएको जस्तो अवस्था छ,’ पौडेलले भनेकी छन्, ‘छलफल चलिसकेको मतदानमा जान लागेको कुरा एकाएक बन्द गर्दा अब के बुझ्ने त ? न सरकारलाई दोष दिने ठाउँ छ त्यहाँ। जिम्मेवारी सबै सभामुखले लिनुपर्छ। सभामुखले नै कसरी निकास दिने हो त्यो सभामुखले नै ल्याउनु पर्यो।’
प्रदेश सभामा २ वैशाखमा अविश्वास प्रस्ताव दर्ता भएको थियो। त्यसमाथि मतदान गर्न १५ गतेलाई प्रदेश सभामा कार्यसूची प्रकाशित भएको थियो। तर, एकजना सांसद अनुपस्थित भएको भन्दै सभामुखले सदन अनिश्चितकालका लागि स्थगित गरेका थिए। दलहरुबीच सदन फेरि कहिले चलाउने भनेर सहमति जुट्न सकेको छैन।
कोभिड महामारीका बेला मानिसहरु भेला भएर सभा समारोह गर्न नमिल्ने भन्दै सत्तारुढ एमालेले सदन वैशाखपछि अर्थात् जेठको २ गते डाकिनुपर्ने बताएको छ भने विपक्षीहरुले छिट्टै बोलाउनुपर्ने बताइरहेका छन्।
प्रतिक्रिया दिनुहोस !