आफ्नै गाउँ आफ्नै कथा
नदीजस्तै केही उकाला बोकेर केही ओराला बोकेर आफ्नै गाउँ आएको छु। यो आफ्नै माटोको एउटा परिदृश्य हो। कति गाउँ फेरिएन भनेर कराइरहनु? गाउँ केही हदसम्म फेरिएकै छ। पहिला गाउँमा रोडबाट छ घण्टा हिँडेर पुग्थें। अलि पछि जीपमा चढेर गाउँ पुग्न थालें। अहिले त सार्वजनिक बस नै पुगेको छ गाउँमा।
सरकारको अभियान ‘एक पालिका, एक अस्पताल’ अन्तर्गत गाउँमा १५ शैयाको अस्पतालको शिलान्यास भएको छ। टोलटोलमा बालमैत्री धारा छन्। बैंक तथा वित्तीय संस्थामा कारोबार गर्न सदरमुकाम पुग्नुपथ्र्याे पहिले। अहिले सबै गाउँमा उपलब्ध छ। तर गाउँलेको जीवन स्तर ज्यूँका त्यूँ छ। सररर गाडी गुड्ने गाउँमा, धेरै गाउँलेहरूलाई सपनाहरूको चाङले गाउँ छोड्न विवश पारेको छ। घर छन् तर घरबेटी छैनन्। डाँडाघरे काका अझै घरमा एक्लै छन्। छोराबुहारीहरू जीविकोपार्जन गर्न भारत भासिएका छन्। निधारमाथि हत्केला राखेर घाम छेक्दै छोराबुहारीको बाटो हेरिरहन्छन्। बडी बाटोको आँगनबाट आँखाले भ्याउञ्जेल हेरिरहन्छन्। मात्र हेरिरहन्छन्।
डल्ली बौजुका दुःख ज्यूँका त्यूँ छन्। छोरो पिठ्युँमा बोकेर कर्म गर्न उज्यालो नहुँदै दैलो छोड्छन्। अँध्यारोले छोएपछि मात्र घर आइपुग्छन्। ‘छोरो हुर्काउनु अनिकालमा बिउ जोगाउनु र हुर्काउनुजस्तो गाह्रो केही नहुँदोरहेछ बाबु !’ भनेर दुःखेसो पोख्नुहुन्छ बौजु। सपना, जीवन र उज्यालाका ससाना त्यान्द्राहरूमा झुन्डिएर बाँच्नु भनेकै जीवन हो बौजु भनेर सम्झाउन खोजें। बौजुका आँखाका चेपचेपबाट तरररर आँसुका गहिरा ढिकाहरू खस्न थाले। दुःखहरूको महासागरमा पौडिँदा शीतल होइन, गर्मी हुँदोरहेछ।
पँधेरा घरे आमैले अझै वृद्धभत्ताको सहारामा सास फेर्न बिर्सिनुभएको छैन। तीन तीनवटा छोरा भएका पधेर्नी आमै आज सिंगो घरमा एक्लै हुनुहुन्छ। छोराहरू विदेशका गल्लीमा कसको गुलामी गर्दैछन् ? कसको दैलोमा पसिना बेच्दैछन् ? आमालाई यसको पिरलोले लखेटिरहन्छ। सपनामा भूतले लखेटेजस्तो। गैराघर निवासी चट्याङ बाजेको हालत उही छ। बाख्रा चरायो, घर फर्कियो। खुट्टामा लाउन चप्पल छैन। दस ठाउँ टालेको ज्याकेट लाएर बतास थुन्नुहुन्छ। अभावका बिचमा उहाँ मुस्कान फलाइरहनु हुन्छ। जसरी काँडाहरूको बिचबाट गुलाफको फूल फक्रिरहन्छ। चट्याङ बाजेको मुस्कान पनि गुलाफका काँडाबिच फुलेको फूलभन्दा कमको छैन।
चैत वैशाखको चरम अभावमा भोक पिउन लागेकी बाटुली बौजुका दुःखका भारी उस्तै छन्। अर्को वर्ष आउँछु भनेर विदेशिएका बाटुली बौजुका श्रीमान्ले त्यसपछि घर देखेका छैनन्। श्रीमान् विदेशिएका यतिका वर्षसम्म पनि बाटुली बौजुले ज्यालामा कर्म गरेर एक छोरो र एक छोरी हुर्काएकी छन्। भोक, अभाव, तिर्खा, समस्या र पीडासँग एक्लै लडेकी बाटुली बौजुमा अब छोराछोरी बुझ्ने भएपछि आत्मविश्वासको हाँगो पलाएको छ। श्रीमान्को मायाको पात अझै पहेंलो भएको छैन।
चैत वैशाखको चरम अभावमा भोक पिउन लागेकी बाटुली बौजुका दुःखका भारी उस्तै छन्। भोक, अभाव, तिर्खा, समस्या र पीडासँग एक्लै लडेकी बाटुली बौजुमा अब छोराछोरी बुझ्ने भएपछि आत्मविश्वासको हाँगो पलाएको छ।
पहिला पहिला गाउँमा ढुंगा÷स्लेटले छोएका घर हुन्थे। खरले छाएका घर हुन्थे। आजभोलि गाउँलाई ‘जस्तापाता’ले खाएको छ। हरेक घरको छानो टिनले छोएको छ। गाउँको पुरानो मौलिक अनुहार साँच्चै हराएको छ। मौलिकपन र पुख्र्यौलीपनलाई आधुनिकताको गहनाले छपक्कै ढाकेकै छ। भर्खरै भित्र्याएकी नयाँ बुहारीजस्तो। यसरी गाउँले आफ्नो अनुहार त फेरेकै छ तर गाउँलेको अनुहार फेरिएको छैन। जीवन धान्न धौधौ परेका गाउँलेहरूको घाउमा लगाउने मल्हमपट्टि अझै फेला परेको छैन।
कच्ची सडकको एक छेउमा टिनले बनाएको एक घर छ। जहाँ बसेर दर्जी दाइ कपडा सिलाउनुहुन्छ। कामको सिलसिलामा भारत गएर फर्किदा बाटोमा दुर्घटनामा परे दर्जी दाइ। त्यही बेला उनले आफ्नो दाहिने खुट्टा गुमाए। आजभोलि हिँडडुल गर्न वैसाखी चाहिन्छ। जीविका चलाउन सहज होस् भनेर सिलाइकटाइको तालिम सिकेर गाउँमै केही गर्ने सोच बनाएका रहेछन्।
उनको पसल पुग्दा उनी कपडाको धुलो टक्टक्याउँदै थिए जसरी उनलाई सपनाले टक्टक्याउँदो हो निदरीमा। मलाई कुर्ची दिए र बस्न भने। चिसो पानीले स्वागत गरे। आफ्नै गाउँ फर्की आउँदाका केही कुराहरू सुनाएँ। कपडा नाप्दा नाप्दा दर्जी दाइले सपना पनि ठूलै नाप्न थालेका रहेछन्। कपडा सिलाउँदा सिलाउँदा परिवारका दुःख, अभाव, पीडा र समस्या पनि केही हदसम्म सिलाएका रहेछन्। छोराछोरीलाई राम्रै स्कुलमा पढाएका रहेछन्। यिनको जीवनस्तर चाहिँ केही हदसम्म फेरिएको रहेछ। दर्जी दाइलाई नमस्कार गरेर हिँडें।
श्रीमान्ले अर्की श्रीमती ल्याएर भारत भागेपछि चैती बौजुको बिचल्ली भएछ। लगातार पाँच छोरी जन्मिएपछि श्रीमान्ले छोरा जन्माउनकै लागि अर्को बिहे गरेको दुःखेसो सुनाउनु भो बौजुले। छोरी नै छोरी जन्मिएपछि सासुससुराको हेपाइ सहँदा सहँदा आफ्नो दिल अचानो बनाइसकेको कुरा बताउनु भो। श्रीमान्ले अर्को बिहे गरेर भारत भासिएपछि चैती बौजुले चिया पसल खोल्ने निधो गर्नुभएछ। चिया बेच्न जानेकी चैती बौजुले जीवन बेचेकी छैनन्। पसिना बेच्न जानेकी उनले स्वाभिमान बेचेकी छैनन्। आटो (पिठो) बेच्न जानेकी उनले आत्मसम्मान बेचेकी छैनन्।
चियाको कित्लीमा उडेको बाफ देखाउँदै भनिन्, ‘बाबु ! यसैगरी मेरा दुःख, पिर, व्यथा, समस्या र अभावहरू पनि उडिदिन्थे भने स्वतन्त्रताको चरी भएर उड्ने थिएँ।’ खडेरीले होला यो पाली खोलामा पहिलेजस्तो गतिलो पानी छैन। खोली किनारका पालुवाहरू हरिया नभएर फुस्रा छन्। जताततै हरियो देखिनुपर्ने यो बेला उजाडै उजाड देखिन्छ। खोली किनारको एक छेउमा जौमती दिदीको पानीघट्ट छ। पानीघट्टले जीवन मात्रै धानेकी छैनन्, छोरीछोरीलाई पढाउने लेखाउने खर्च पनि पिठो बेचेर निकाल्छिन्। पिठो राम्रै पिस्न जानेकी जौमती दिदीले आफ्ना दुःखहरू कहिल्यै पिस्न सकिनन्। दुःखका पोका र अभावका भारीहरू उस्तै छन् उनका।
यी सबै म हुर्किएको गाउँका केही प्रतिनिधि आत्मकथा मात्रै हुन्। गाउँका कुना कन्दरा अझै पुग्ने हो भने त्यहाँ कलमले होइन, पसिनाले लेखेका कैयौं कथा भेटिनेछन्। अनि आँसुले पोतिएका कैयौं व्यथाहरू भेटिनेछन्। राजनीतिप्रति गाउँलेहरूको वितृष्णा छ। भोट मागेपछि नेता कहिल्यै गाउँ नफर्केको गुनासो गाउँलेहरू पोखिरहन्छन्। हामी केवल भोट गर्ने हाते मेसिन मात्रै रहेछौं भनेर टोकेसो फलाक्छन् (बोल्छन्)। नेताहरू देखेर जिब्रो टोक्छन्।
बाजुराबाट