जनगणना, जोखिम र जिम्मेवारी

जनगणना, जोखिम र जिम्मेवारी

तथ्यांक कार्यालय सुर्खेतमा कार्यरत म अहिले राष्ट्रिय जनगणना २०७८ को महाअभियानमा छु। जाजरकोट जिल्लाको जिम्मेवारी लिएर केही महिनाका लागि खलंगामा छु। कोरोना महामारीको कहर विश्वभर फैलिरहेको छ। पछिल्लो चरणमा नेपालमा पनि दु्रतगतिका साथ कोरोना संक्रमण फैलिरहेको छ। कोरोना महामारीबिच पनि सरकारले जनगणनाको कामकाज नरोकी अगाडि बढाउने निर्णय गरेको छ।

राज्यले सुम्पेको जिम्मेवारी कसरी कुशलतापूर्वक पूरा गर्ने भन्ने कुराको व्यवस्थापनमा व्यस्त भएकै बेला नेपालगञ्जमा रहेका पत्नी बिरामीको खबरले निकै तनाव बनायो। ज्वरो आउने टाउको दुख्ने, रुघाखोकी लगायतका लक्षण देखिएको छ। ‘तपाईंलाई फुर्सद हुन्छ भने आउनुहोला’ भन्ने पत्नीको टेलिफोन सन्देशले दिनभर सोचमग्न बनाइरह्यो। ज्वरो नथामिएपछि कोरोना महामारीको संक्रमण फैलिरहेकाले परीक्षण गर्नु भने। उनले पीसीआर परीक्षण गराइन्। रिपोर्ट के आउला ? टाढा छु। यदि पोजेटिभ आयो भने कसरी व्यवस्थापन गर्लान् ? आमाछोरी मात्र छन्। यस्तै कुरा मनमा खेलिरहे दिनभर। उनी आफू स्वास्थ्यकर्मी पनि हुन्।

वैशाख १४ गते अफिसकै काममा व्यस्त थिएँ। मोबाइलको घण्टी बज्यो। मोबाइल हेर्दा पत्नीको फोन थियो। मेरो ढुकढुकी निकै बढ्यो। जुन कुराको आशंका थियो त्यही भइदियो। ‘मलाई पोजेटिभ देखियो।’ रुन्चे स्वरमा उनले बोलेर फोन राखिदिइन्। निकै आत्तिएँ। अब के गरौं ? यता जनगणनाको तयारीका लागि सुपरिवेक्षकको तालिम कार्यक्रम तय भइसकेको थियो। प्रशिक्षक आफैं थिएँ। तर पनि सुखदुःखको साथी पत्नी जीवनमरणको दोसाँधमा भएको बेला मैले साथ र सहयोग गर्न सकिनँ भने जीवनभरको पछुतो रहने छ भन्ने सोचेर माथिल्लो निकायमा सबै कुरा अवगत गराएँ। विदा मागें तर पाइनँ। सञ्जोग पनि त्यस्तै पर्‍यो। वैशाख ११ गते सहायक जिल्ला जनगणना अधिकारी टेकबहादुर घर्तीको पत्नी कोरोना संक्रमण भई नेपालगन्जमा कडा लक्षणहरू देखिएपछि उपचारको व्यवस्था गर्न उहाँलाई त्यता पठाइयो।

त्यसपछि २०७८ वैशाख १४ गते आफू कार्यरत खलंगामा रहेको स्थानीय जनगणना कार्यालयका स्थानीय जनगणना अधिकारी मोतीराम भण्डारी स्वयं कोरोना संक्रमित भई घरमै आईसोलेसनमा बस्नु पर्ने भयो। दुई जना कर्मचारी कार्यालयमा नभएको र तालुकदार अफिसले समेत कार्यालय छोडेर जान मिल्दैन भनेपछि जिम्मेवारीबाट पनि पन्छिन सकिनँ। आफू आउन नसक्ने अवस्थाबारे पत्नीलाई सम्झाएँ। उनले पनि मेरो बाध्यता बुझिन् होला भन्ने लागेको छ। तर पनि मनमा कता कता आफैंलाई आत्मग्लानी भइरहेको छ।

‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ सञ्चालन हुने १२औं जनगणना २०७८ का सम्पूर्ण कार्यहरू सफलतापूर्वक सम्पन्न गर्ने गरी २०७७ चैत्र १ गतेदेखि नै कार्यालय स्थापना गरी जिल्लामा गर्नुपर्ने सम्पूर्ण व्यवस्थापकीय कार्यहरू गर्दै जिल्ला स्तरमा तीव्र गतिमा काम हुँदै आएका छन्। सम्पूर्ण स्थानीय तहसँग समन्वय लगायतका कार्यहरू सम्पन्न भए। केन्द्रीय तथ्यांक विभागले सर्टलिस्ट गरेका सुपरीवेक्षकहरूको प्रमाणपत्रहरू छानबिन गर्ने काम सम्पन्न भई सर्ट लिस्टमा योग्यता नपुगेका व्यक्तिलाई हटाउँदासमेत दबाबको सामना गर्नुपर्‍यो। सुपरीवेक्षकहरूलाई अन्तिम सूची निकाल्ने काम भयो।

वैशाख १४ गते नै प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला जनगणना समन्वय समितिको बैठक सम्पन्न भयो। बैठकले नेपाल सरकारले थप निर्णय नगर्दासम्म राष्ट्रिय जनगणना २०७८ का गतिविधिहरू स्वास्थ्य मापदण्ड प्रयोग गरी निरन्तर गर्ने निर्णय गरियो। माथिबाट कुनै निर्णय नभएका कारण सुपरिवेक्षकहरू फोन सम्पर्क गरी तालिम हुन्छ कि हुँदैन भन्थे तर कुनै जवाफ दिन सकिएन। गृह मन्त्रालयबाट जनगणनाका गतिविधिहरू स्वास्थ्य सुरक्षाका मापदण्ड प्रयोग गरी गर्ने भनेपछि १५ गतेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले १८ गते राति १२ बजेबाट लकडाउन गर्ने निर्णय गर्‍यो।

नेपालगन्ज बस्ने पत्नी तीन दिन पहिलेदेखि टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्ने र श्वास फेर्न गाह्रो हुने लक्षणसहित बिरामी भएको जानकारी आयो। परीक्षण गर्दा कोरोना पोजिटिभ रिपोर्ट आएपछि त उनलाई कडा लक्षणहरू देखिए। के गर्ने के नगर्ने ? अन्योलमा रहें। यता कार्यालयका कर्मचारी नै संक्रमित उता घरमा पत्नी र सँगै छोरी पनि भएकाले दुवै जना ज्यान नै जोखिम भएको दिमागमा झल्झली आइरह्यो। बिरामीको उपचार गर्दा गदै बिरामी भएकी पत्नीलाई कता भर्ना गर्ने छोरीलाई के गर्ने भन्ने सोचिरहें। यता राष्ट्रिय जनगणना २०७८ लाई सम्पन्न गर्न १६ गतेबाट सुपरीवेक्षकको तालिम गराउनु पर्ने थियो।

तालिम दिने जिल्लामा एकजना मात्रै छु। तीनवटा समूहमा सहजीकरण गर्नुपर्नेलगायत तालिमको व्यवस्थापकीय कार्यहरू गर्नुपर्ने दोहोरो तनावमा भएँ। पत्नीलाई हेरचाह गर्न जाने कि जनगणना तालिम गर्ने ? तनाव हुँदै गयो। अन्तिममा राज्यले दिएको जिम्मेवारी भएकाले तालिम प्रशिक्षक कोही नभएपछि अन्तिममा तालिमलाई निरन्तरता दिने निर्णयमा पुगें। पत्नी र छोरीलाई भगवान्ले नै रक्षा गर्छन् भन्ने निष्कर्षमा पुगें। पत्नी र छोरीको अनुहार दिमागमा झल्झली आउँदा पनि तालिम चलाउन बाध्य भएँ। सहायक जनगणना अधिकारी पत्नी उपचारकै क्रममा हुनुहुन्थ्यो। यसरी जोखिम मोलेर तालिम गर्दा तीनवटा कक्षा भएकाले सहजीकरण गर्न नसकिने भयो। यो बुझेर उहाँ तत्काल आउनुभयो।

एउटा कक्षा तथ्यांक कार्यालय सुर्खेतबाट काजमा ल्याएका खरिदार उमेशकुमार कार्कीले पाइलट जनगणना गरेको अनुभवको आधारमा सञ्चालन गरेपछि सहज भयो। यसरी यस्तो महामारीका बिच परिवारका सबै सदस्यहरू संक्रमित हुँदा पनि सहयोग गर्न नसक्ने अवस्था भए पनि राज्यप्रतिको कर्तव्य पनि हो भन्ने ठानी तालिम कार्यक्रम निरन्तर सञ्चालन गरिरहेको छु। यति गरिरहँदा पत्नी र छोरीले मलाई परिवारप्रति गैरजिम्मेवार भनी बुझ्ने छैनन् भन्ने विश्वास मनमा छ। 

मेरो परिवारलाई घरमै डेरा गरी बस्ने एक जना बहिनीले खाना लगायतका कुरामा सहयोग गरिरहेकी छन्। पत्नी र छोरीका लागि धन्यवादकी पात्र उनै बहिनी बनिन्। घरमै अक्सिजन सिलिन्डर राखेर उपचार भइरहेको छ। दुई दिन निकै गाह्रो भए पनि अहिले उनको अवस्थामा सुधार आएको छ। तन, मन सबै नेपालगञ्जमा रहेका पत्नी र छोरीप्रति भए पनि भगवान् पुकार्दै तालिम चलाइरहेको छु।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.