मृत्युको अघिल्तिर उभिँदा
सर्जक रिसाउन् कि खुसाउन्। एक पाठकको नाताले कवितामाथि लागेका कुरा नढाँटी बोल्छु। केही महिनाअघि महिनैभरि रजस्वला बगिरहने समस्याले प्रदर्शनीमार्गस्थित काठमाडौं मोडल अस्पतालमा जाँचका लागि गएकी थिएँ। पट्यारलाग्दो अस्पतालको लाइनलाई सहज बनाउन कवि मणि लोहनीका कविता संग्रह ‘मृत्युको अघिल्तिर’ हातमा थियो।कविता पढ्दै रमाएर परीक्षणको पालो कुरिरहेकी थिएँ। डाक्टरले मलाई देख्नुबित्तिकै पुस्तकतिर हेरेर भनिन्, ‘के हो यो मृत्युको अघिल्तिर ? सब पछिल्तिर सोच्ने हो। पागलहरू !’
डाक्टरसँग प्रतिवाद गर्नु हुँदैन, नत्र महँगो मूल्य चुकाउनुपर्छ भन्ने घटनाको अनुभवी मान्छे परें। २०६२ सालमा डाक्टरसँग प्रतिवाद गरेकै कारण दीर्घरोगी भएको मान्छे हुँ। अँ, डाक्टरले पुस्तककै बारेमा कुरा गर्दै मेरो पाठेघर खोतलेर पनि सकिन्।भनें,‘साथीको कविता संग्रह हो, राम्रो छ पढिरहेको छु।’ मेरा लागि औषधि लेखियो। किनेर बस चढें। सिटमा बस्नासाथ, किताब पल्टाइहालें,
र, उभिएर मानचित्रमाछोपी दिऊँ सबै धर्साहरू
जसरी प्रेमले छोपिदिन्छ, अवगुण मानिसका
जसरी मुस्कानले छोपिदिन्छ, उदासी अनुहारका
मलाई यतिखेर छोप्न मन लागेको छ
एकताले, नक्साभित्रका सबैसबै धर्साहरू...।
कविता पढिसकेपछिसोचमग्न भएँ। साँच्चै नेपालमा यसरी असमानताका धर्साहरू छोपिएर जातीय विभेद, लिंगीय असमानता, वर्गीय विभेद नहुँदो हो त हामी यतिखेर के गरिरहेका हुन्थ्यौं होला ? सायद नेपाल पनि विकासका चरम उत्कर्षमा पुगेका देशहरू झैं पृथ्वीभन्दा अर्को ग्रहमाथि नेपालीको हकदाबी पो गरिरहेका हुन्थ्यौं कि ? नेपालजस्तो बनेर देखाउन छिमेकी मुलुकहरूलाई सुझाइरहेको पो हुन्थ्यौं कि ?दुर्भाग्य, यिनै असमानताहरूलेबाँधिएका छौं। दुनियाँले विकासको फन्को मार्न लाग्दा हामी भने गोडाका उल्झन फुकाउनमै जीवन सिध्याइरहेका छौं।
कविता पढ्दापढ्दै कृतिलाई सुरुको पेजतिर पल्टाइहेरें। पढिरहेको हरफहरू वक्तव्य पो हो किजस्तो लागेको थियो। होइन; कविता भनेरै राखिएको रहेछ। तर कविताको नाममा भाषण लेख्न मिल्छ र ? उदृत नामहरू मिथ भइसकेका भए नामको अगाडि किन यति लामो उनीहरूको परिचय ? मिथ हुनको लागि त नामले पो परिचय बोकेको हुनुपर्छ। जस्तै बुद्ध,गान्धी, पासाङ ल्हामु अनि मोदर टेरेसा। कवि बोल्छन्, ‘जसरी भोगें जानी नजानी, त्यसैगरी लेखें जिन्दगीलाई। प्रेमका, सम्बन्धका र मान्छेका नाममा मैले लेखिरहेको जिन्दगी नै हो। जिन्दगीभन्दा पर पुग्नु कहाँ छ र ? नजिक छन् मान्छेहरू।’ मणिका कविता मिठो हुन्छ भन्नु मात्रै मिथ्या हुनेरहेछ। बोल्ने तरिकै कवितात्मक रहेछ। उनका दुई पेज भनाइलाई अरूका जस्तै मानेर छुस्स एक हरफ हेर्छु भन्दा त त्यहीँ टासिएँ। लामो कविता पढेजस्तै सबै हरफ पढिसिध्याएँ । ‘हामीले लेखिरहेका र पढिरहेका धर्साहरू मात्रै हुन् जिन्दगीका...हामी मृत्युको अघिल्तिर उभिएर जिन्दगीका स–साना धर्साहरू कोरिरहन विवश छौं।’
मणिका कविता मिठो हुन्छ भन्नु मात्रै मिथ्या हुनेरहेछ। बोल्ने तरिकै कवितात्मक रहेछ। उनका दुई पेज भनाइलाई अरूका जस्तै मानेर छुस्स एक हरफ हेर्छु भन्दा त त्यहीँ टासिएँ।
संग्रहमा ३२ कविता छन्। पहिलो खण्ड ‘देशको नाममा’ र दोस्रो खण्ड ‘प्रेमको लय’। कविताहरू पढिरहँदा, हरफहरू सकिजालान् कि भन्दै डराएर बिस्तारै फारो गरेर पढ्न मन लाग्छ। गाह्रो काम गर्दा जसरी बीचबीचमा बिसाएर चिया चुरोट खाएर फेरि काम गर्नको लागि ऊर्जा बटुल्छौं नि, हो यी कविताहरूले पनि पाठकको दिमागलाई आरामको अनुभूति दिलाउँछ। थाकेको हृदयलाई शीतलता प्रदान गर्छ। कविताहरूले आरामको सत्य सावित गर्न सक्दछन्।कवितामा क्रान्तिका लागि भनेर लडिरहेका लडाकुको प्रेम अनुभूति मज्जाले पढ्न पाइन्छ। मृत्युलाई अत्यन्तै नजिकबाट नियालिरहेका युवाले जीवनप्रति गरेको निराशालाई भोग्न पाइन्छ। क्रान्तिबाट भागेर जाने कही ठाउँ नभएपछि जति बाँचिन्छ त्यतिन्जेलको लागि बाँच्ने सहारा एउटै बन्दुकको नाल मात्र भएको कथाकविताभित्र पाइन्छ। तेस्रो र अन्तिम खण्ड ‘जीवनको उज्यालो’बाट शीर्ष कविता :
लाग्छ, कविता लेखेकै कारण मारिनेछु म
प्रेम गरेकै कारण रोकिनेछ मुटुको चाल
सोच्नु काफी छ
यस्तै केही सोच्दासोच्दै एक दिन मारिनेछु म
जसरी मारिन्छन् मानिसहरू।
यो कविताको बनोट हेर्दा चाहिँ लाग्छ, जनआन्दोलनताका लेखिएको हो। राज्यको विरुद्ध कविता लेखे पनि मारिन्थ्यो कवि, क्रान्तिको विरुद्ध लेखे पनि मारिन्थ्यो कवि। वर्तमान स्थितिमा शब्दको कारबाहीमा सिधै गोली खाइन्नतर विगत फरक थियो। दायाँबायाँतिर ठटाइन्छ मनग्य। भनौं न, मर्नुभन्दा बहुलाउन पाइन्छ। मणिका ईश्वरप्रतिको धारणा पो सबैभन्दा गज्जबको छ त यहाँनेर। ‘धर्मध्वनि’ शीर्षकमा लेखिएको कविता सायद कुनै घोर आस्तिकले पनि पढ्यो भने ईश्वरप्रतिको उनको विश्वास थोरै त पातलिन्छ होला। अरूको हत्या गरेर ईश्वर खुसी पार्ने मूर्खहरूलाई यो कविता पढाउन सके कति जाति हुन्थ्यो होला। यदि म कुनै शासक हुन्थें भने म यो कविता प्रत्येक मस्जिद, मन्दिरको ढोकामा टाँस्न लगाउने मन थियो।
अतः मैले मन पराएका कविता अरूलाई पनि मन पर्नैपर्छ भन्ने त छैन। तर ‘मृत्युको अघिल्तिर’ संग्रहले कविताका पारखीलाई धित मारेरै छाड्छ। हुन त कुनै मानिसको औंला मात्र देखाएर ‘यो मानिस कस्तो छ ?’ भनी प्रश्न गर्नुजस्तै शिखा बुक्सले प्रकाशन गरेको यस संग्रहका दुईचार हरफ कविताले सिंगो संग्रहको पहिचान त खुल्दैन। पाठकले कविता पढ्नैपर्छ। यहाँ भित्र यति मिठो कविताहरू छन् कि वर्णन गर्न असमर्थ छु। यदि मणि लोहनी कुनै विदेशी कवि हुन् भने, उनका कविता सायद कविता पारखीको लागि नभई नहुने खुराक हुने थियो। भाग्यले उनी हाम्रै नेपाली कवि हुन्। नजिकको देउता हेलाँ भनेजस्तै, मणि हाम्रा नजिकका मान्छे त हुन्, बिस्तारै पढौंला भनी पर सारियो भने पाठकलाई नै राम्रा कवितामा रमाउने अवसर छुट्नेछ।