आधुनिक संगीतका युगपुरुष

आधुनिक संगीतका युगपुरुष

जब स्टुडियोमा प्रेमध्वज प्रधान कुनै गीत गाइरहनुहुन्थ्यो तब उहाँको अनुहारमा गीतको भाव झल्किन्थ्यो। गीतका शब्दहरूलाई अनुहारले प्रदर्शन गथ्र्यो। हाँसिरहने, बिस्तारै बोलिरहने प्रधान मेरो सांगीतिक गुरु हुनुहुन्थ्यो। उहाँसँगको करिब २५ वर्षे सांगीतिक सहयात्रा साँच्चीकै मेरा लागि अनुपम अनुभव हो। उहाँकै गीत सुनेर हुर्किएँ। उहाँका शब्दहरू गुनगुनाउँदै गितार र हार्मोनियमका किबोर्ड चलाउन सिकेको हुँ।

ससाना कुरामा लामा छलफल गथ्र्यो हामी। बागबजारमा रहेको उहाँको घरबाट पुतलीसडकमा रहेको मेरो आर्टोम्यूज स्टुडियोमा उहाँ हिँडेरै आउनुहुन्थ्यो। संगीतका केही नयाँ कुरा थाहा पाउनुभयो भने फोन गरेर सुनाउनुहुन्थ्यो। भन्नुहुन्थ्यो, ‘जुगल आज मैले यो सिकेंनि, यति काम गरेर सकें।’ मोबाइलको घन्टी बज्यो भने अहिले पनि मलाई उहाँको फोन आएजस्तै लाग्छ। कोरोना महामारी सुरु भएपछि उहाँसँग प्रत्यक्ष भेट भएको थिएन। फोनमा भने कुरा भइरहन्थ्यो। स्वास्थ्यमा निकै सजक प्रधान हरेक चिजमा पर्फेक्ट प्याकेज हुनुहुन्थ्यो। आफ्ना आनीबानीमा आफ्नै नियन्त्रणमा हुनुहुन्थ्यो। लकडाउन खुलेपछि केहीप्रेमसम्बन्धी गीत र नेपाल भाषाको गीत रेकर्ड गर्ने योजना बनाएका थियौं। सामान्य अस्वस्थ भएर अस्पताल भर्ना हुनुभएको उहाँ अस्पतालबाट फर्कन पाउनु भएन। सम्झँदा अझै पनि विश्वास गर्न सकिरहेको छैन। जुगल भन्दै बोलाउँदै कतैबाट टुप्लुक्क आउनुहुन्छ कि जस्तो लाग्छ।

उहाँको सरल स्वाभाव सबैले सिक्न पर्ने बानी हो। सरल खालको बानीव्यहोरा, समयमा उठ्नुपर्ने, हरेक दिन रियाज गर्ने, आँखामा राखे पनि नबिझाउने, सामान्य जीवन नैउहाँको व्यक्तित्व हो। संगीतप्रतिको लगाव पनि अजीवको थियो उहाँको। अरूले भन्दा फरक तरिकाले बुझ्नुभएको थियोगीतसंगीतलाई। गीतमा जस्तो कम्पोजीसन भएपनि सुन्दा सरल तरिकाले सुनिनुपर्छ भन्ने उहाँको मान्यता थियो। मुटुसम्म पुग्ने गरी गाउनुपर्छ भन्नुहुन्थ्यो हामीलाई। भन्नुहुन्थ्यो, ‘गीतले स्रोताको मनलाई छोएर बहनुपर्छ। संगीत अरूले मन पराउने पेशा हो आफूले मन पराएर हुन्न। आफूले गाएको लेखेको त मिठो हुन्छ नि। तर अरूलाई मुटु छुनुपर्छ। गीतले स्रोताको मुटु हल्लाउनु पर्छ ताकि गीतका शब्दमा हरेकले आफूलाई कल्पना गरोस्।’

गीत गाउने गम्भीर काम हो तर सुन्ने मान्छेले हेर्दा सहज तरिकाले सुनिनुपर्छ। गीत सर्कसको कामजस्तो होइन नि भन्ने मान्यता थियो उहाँको। रियाज गर्न छाड्यो भने स्वरमा खिया लाग्छ भन्नुहुन्थ्यो।

उहाँको गायकी नै यस्तो थियो कि जस्तो गीत पनि उहाँको हातमा पुगेपछि पर्फेक्ट बन्छ। गीत हिरा बन्थ्यो। गाउँदा हरेक शब्दलाई एक्प्रेसन गर्नुहुन्थ्यो। टोनमै गीतको भाव झल्किने। निकै मेहनत गर्नुहुन्थ्यो। गीतको शब्दले जे भन्छ त्यो भाव उहाँको अनुहारमा झल्किने गथ्र्यो।कुनै एउटा गीत रेकर्ड गर्दाचारपटक गाउनुहुन्थ्यो। उहाँको हातमा गीत परेपछि घरमै पटक पटक अभ्यास गर्ने। गीत कण्ठै पार्ने अजीवको स्वाभाव थियो। अहिलेका गायक गायिकाहरू स्टुडियोमै आएर गीत हेर्छन्। त्यहीँ लय सिक्छन् र हेरेर गाउँछन्। गाउनुलाई पेशा मात्रै सम्झने गायकगायिका पनि प्रशस्तै छन्। तर प्रेमध्वजका लागि गाउनु काम मात्रै नभएर गायकीमा लगाव हुनुपर्छ भन्ने भाव प्रबल थियो। प्रेमध्वजले गाउने गीत पहिल्यै मुखमा कण्ठाग्र हुन्थ्यो।
गत वर्ष नेपाली हौं हामी गर्व गर्छौं भन्ने गीतमा सँगै काम गरेका थियौं। उहाँको लिपसिङ खिच्न बाँकी नै थियो। लकडाउनपछि गीत लन्च गर्ने तयारीमा थियौं। उहाँको लिपसिङ बिनाको यो राष्ट्रिय भावनाले ओतप्रात भएको गीत अधुरै हुनेभयो। करिब २५ वर्ष अगाडि उहाँसँग पहिलोपटक भेट भएको थियो। स्टाफ कलेजमा अलंकार नामक एल्बमको विमोचन थियो। त्यो एल्बममा मेरो म्युजिक एरेन्ज थियो। ललितकला क्याम्पसमा म्युजिक पढ्ने भाइबहिनीले यो एल्बम निकालेका थिए। गीत सुनिसकेपछि उहाँले भन्नुभएको थियो,‘सुन्दा परिपक्व सुनिने गीतमा पनि केही न केही कमजोरी हुन्छ। क्रमवद्धरूपमा सुधार्नुपर्छ।’

उहाँबाट मैले खासमा जिन्दगीको संघर्षको पाटो बुझे। संगीतमा धेरै मानिस रहर गरेर आउँछन् तर निकै थोरै मात्रै सफल हुन्छन् भन्ने उहाँ हरेकलाई लगनशील भएर काम गरिराख्न सुझाव दिनुहुन्थ्यो। नेपालमा अहिले मात्रै केही कलाकारहरू संगीतमै लागेर जीवनयापन गर्न सक्षम भएका छन् तर उहाँले कमाउनका लागि गीत गाउँछु भनेर नआउन अनुरोध गर्नुहुन्थ्यो। संगीतमा लागेकालाई पनि जीवनयापनका लागि अन्य काम गर्नका लागि भन्नुहुन्थ्यो। ताकि पैसा र लगानीको अभावमा बीचमै संगीत छाड्ने र पलायन हुने स्थिति नआओस्।संगीतमा ठुलो महत्वाकांक्षा राखेर आउन हँुदैन। यो एकै दिनमा सिकिँदैन भन्नुहुन्थ्यो उहाँ। हरेक दिन काम गरिरहने तर फलको आस नगर्ने पेशा हो यो भन्ने उहाँ साँच्चीकै सांगीतिक क्षेत्रका एक होनहार प्रतिभा हुनुहुन्थ्यो। काम गरिरहेपछि नाम र दाम कमाइन्छ भन्ने आशावादी व्यक्ति पनि।

गीत गाउने गम्भीर काम हो तर सुन्ने मान्छेले हेर्दा सहज तरिकाले सुनिनुपर्छ। गीत सर्कसको कामजस्तो होइन नि भन्ने मान्यता थियो उहाँको। रियाज गर्न छाड्यो भने स्वरमा खिया लाग्छ भन्नुहुन्थ्यो। करिब७०० भन्दा बढी गीतमा स्वर दिनुभएका प्रधानका धेरै कालजयी गीतहरू त गुमनाम नै छन्। उहाँका गीतहरू कलेक्सन गर्ने क्रममा गुमनाम प्रायः भएका निकै कालजयी क्लासिक गीतहरू सुन्ने मौका पाएको थिएँ मैले। ती गीतहरूको चर्चा हुन जरुरी छ। पुनः रेकर्डमा ल्याएर बजारमा पठाउन जरुरी छ।नेपाली आधुनिक संगीतको उहाँ एक युगपुरुष हो। उमेरले ८५ वर्षको भर्‍याङ चढिरहँदा पनि प्रधान भने सिकारुजस्तो हरेक दिन रियाज गरिरहनुहुन्थ्यो। उहाँको टोन कहिल्यै बदलिएन। सदैव युवाजस्तो बुलन्द आवाज दिइरहनुभयो। उहाँबोल्दा मसिनो, सुस्त बोल्ने। जब स्टुडियोमा पसेर माइक अगाडि उभिनुहुन्थ्यो, अजीवको जाँगर देखिन्थ्यो उहाँमा।

बुलन्द बोल्ड र ठुलो स्वर निस्कने अजीवको गुणस्तर थियो। पछिल्लो समय रेकर्ड भएका धेरै गीतहरूमा उहाँको स्वर सुन्दा यस्तो लाग्छ ‘यी गीतहरूउहाँले अहिले नै गाउनुभएको हो र ?’ उमेर ढल्कँदै गएपछि प्रायःजसोमा स्वर काप्ने, गीत गाउन सास नपुग्ने हुन्छ तर उहाँको टोन कहिल्यै पनि परिवर्तन भएन। स्वर बदलिएन। भोकल कर्डलाई अति नै माया  गर्ने। स्वरलाई माया गर्नुपर्छ भन्ने अति नै मिलनसार व्यक्ति। उहाँसँग भेटेर कुरा गरेको मानिस घमण्ड गर्न छाड्छ। उहाँको सरल व्यवहारले हरेक मानिस पग्लन्थ्यो।

मेरो बाबाको पुस्ताले उहाँलाई सहकर्मीको रूपमा चिन्छ। मेरो पुस्ताले एक अग्रज दाजुको रूपमा चिन्छु र उहाँकै गीत संगीत सुनेर हुर्किएँ। मेरा छोराछोरीले समेत उहाँको स्वर मन पराएर गाउँछन्। नाति पुस्ताले अग्रज भनेर सम्मान गरेर उहाँको गीत सुन्छ। एउटै व्यक्तिले चार पुस्ताका स्रोतालाई तानेर राख्न सक्नु, आफ्नो स्वरमा बाँध्न सक्नु चानचुने कुरा नै कहाँ हो र ?बागबजारमा भान्जी र श्रीमतीसँगै घरमा बस्नुहुन्थ्यो। अमेरिकाको ग्रीनकार्ड छोडेर आउनुभएको थियो। उहाँको आमा असनको बुबा सिन्धुपाल्चोकको। बुबाआमाको मिल्ती भएन। २००१ सालतिरै पारपाचुके भयो। बुवाले अर्को बिहे गरेपछि आमाले असनमा कपडा पसल चलाउनुभयो। परिवारमा पुरानै जग्गाको किचलो थियो। काकाहरूसँग मुद्दामामिलाको झमेलाले समेत उहाँलाई अल्झायो। बुबाआमा पहिल्यै छुट्टिएकाले काकाहरूले अंशकै विषयमा किचलो गरे। यसैकारण पनि युवावस्थामा अझ धेरै संगीतलाई समय दिन सकिन भन्नुहुन्थ्यो उहाँ।

अमेरिकी लाइब्रेरीमा काम गर्नुहुन्थ्यो। केहीवर्ष जागीरबाट विदा लिएर संगीत सिक्नका लागि भारत जानुभएको थियो। प्रधान नेपालमै पहिलोपटक डिस रेकर्ड निकाल्ने गायकको रूपमा चिनिनुहुन्छ। नेपाली गीतलाई मुम्बईमा लगेर रेकर्ड गरेर नेपालमा डिस रेकर्डको सुरुआत गर्नुभएको थियो। मुम्बईमा नै बसेर भारतका वरिष्ठ संगीतकार जयदेवसँग संगीत सिक्नुभएको थियो। स्वरका लागि निकै अनुशासित र नयाँपुस्ताका प्यारा थिए प्रधान। भर्खरै सिक्दै गरेका युवापुस्तासँग काम गर्ने मन गर्ने मान्छे हो उहाँ। भन्नुहुन्थ्यो, ‘हामीले यसरी सिक्ने अवसर पाएनांै र दुःख भयो। तर नेपाली संगीतलाई माया गर्ने र भविष्य खोज्नेहरूलाई हामीले सहयोग गर्नुपर्छ।’ प्रायःजसो गीत विमोचन तथा सांगीतिक कार्यक्रममा उहाँ पुगेकै हुनुहुन्थ्यो।

नेपाली आधुनिक गीतसंगीतमा नेपाली शैली भित्र्याउने पनि उहाँहरूकै समूहले हो।  नातिकाजी, शिवशंकर, नारायण गोपाल, प्रेमध्वज प्रधानको पालामा नै नेपाली आधुनिक गीतको शैली परिवर्तन भएको हो। यसपछि नै नेपाली संगीतले धार परिवर्तन गरेको हो।नेपाली शैलीमा गीत रेकर्ड हुन थालेको हो। यो अघि बन्ने नेपाली गीतहरू हिन्दी जस्तै हुन्थ्यो। हिन्दी गीतको शैली र स्वाद आउने गथ्र्यो नेपाली गीतमा। हिन्दी गीतमा नेपाली शब्द भरेजस्तै सुनिन्थ्यो गीत। उहाँहरूको पालादेखि नै नेपालको आधुनिक गीतले आफ्नो शैली पायो।

करिब एक दशकअघि उहाँको गायनमा केही ग्याप भयो। पुराना दाँत झरेर नयाँ दाँत लगाउनुभएको थियो। कृत्रिम दाँत अलि मोटो हुनेरहेछ। गीत गाउँदा शब्दहरू प्राकृतिक जस्तो सहज तरिकाले उच्चारण नहुने उहाँको अनुभव थियो। कृत्रिम दातालाई आफैंले घोटेर आफ्नो स्वर अनुकूल बनाउनुभएको थियो। स्टुडियोमा आउँदा तीन चार सेट दाँत लिएर आउनुहुन्थ्यो। फरक फरक दाँत लगाएर गीत रेकर्ड गर्नुहुन्थ्यो।जुन गीत उहाँका लागि पर्फेक्ट सुनिन्छ त्यही फाइनल हुन्थ्यो। संगीतमा मिहिन लगाव भएकै कारण उहाँ प्रेमध्वज प्रधान बन्नुभएको हो।भन्नुहुन्थ्यो, ‘गीतगाउन सक्नु कला हो यसको व्यापार गर्नु हुन्न। सिर्जनाको किनबेच हँुदैन। मूल्य पनि हुँदैन। अनमोल चिज मन पर्नेहरूले बुझ्ने गर्छन् संगीतको मर्म र स्वाद।’
प्रस्तुति : अजवी पौड्याल 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.