मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुर–चखेवाभन्ज्याङ सडकखण्डको कालोपत्रे अन्तिम चरणमा
भोजपुर : पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुर–चखेवाभन्ज्याङ सडकखण्डको कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ। भोजपुर–खोटाङ जोडिने उक्त ४२ किलोमिटरको सडकखण्डको ९५ प्रतिशत निर्माण काम सकिएको हो। कोरोनाका कारण लकडाउन हुँदा सामान ढुवानी र प्रतिकूल मौसमले अड्चन थपिए पनि निर्माण काम जेठभित्रै सम्पन्न गरिसक्ने पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय पाँचथरले जनाएको छ। कालोपत्रेको कामका गतिलाई तीव्रता दिइएको योजना कार्यालयका प्रमुख सुरेश न्यौपानेले बताए।
‘पहिलो चरणको लकडाउनमा पर्याप्त काम गर्न सकिएन, सामान ढुवानी गर्न सकिएन, अलकत्र पकाउनलाई वनपैदावर र ढुंगाको समस्या भयो,’ उनले भने, ‘दोस्रो चरणको लकडाउनमा भने हामी कामलाई तीव्रता दिएका छौं, चाँडै सक्ने लक्ष्य छ।’
गोल्डेन गुड्स निर्माण कम्पनीले २०७२/०७३ बाट उक्त लोकमार्गको कालोपत्रे काम थालेको थियो। यसअघि नै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम थालिए पनि पहिलो चरणको लकडाउन, प्रतिकूल मौसमका कारण काममा ढिलाइ भएको कम्पनीले जनाएको छ। काम सम्पन्न गर्न पाँच महिना लाग्ने भएकाले काममा केही बाधा पुगेको कम्पनीका इन्जिनियर शैलेन्द्र मल्ल बताउँछन्।
करिब ६५ करोड लागतमा सम्पन्ने हुने उक्त सडकखण्डको कालोपत्रे काम दुई प्याकेजमा भइरहेको छ। पहिलो प्याकेजअन्तर्गत कालोपत्रे काम पूर्ण रूपमा सम्पन्न भएको र दोस्रो प्याकेजअन्तर्गत दुई किलोमिटर मात्र कालोपत्रे गर्न बाँकी रहेको कम्पनीले बताएको छ।
सडकको कालोपत्रे निर्माण काममा टेम्केमैयुङ गाउँपालिकाले स्थलगत अनुगमन गरिरहेको छ। कम्पनीको कामको गति हेर्दा काम जेठभित्र नै सम्पन्न हुने देखिएको गाउँपालिका अध्यक्ष धु्रवराज राईले बताए।
उनले भने, ‘कामको गति हेर्दा यो जेठभित्र सम्पन्न हुनुपर्ने हो, कामलाई गुणस्तरीय तवरबाट समयमा नै सम्पन्न गराउन हामीले बेलाबेला अनुगमन गरिरहेका छौं, सडक कालोपत्रे निर्माणले पूर्णता पाएपछि यहाँका नागरिकलाई सहज हुनेछ।’
सडक कालोपत्रे सम्पन्न भएपछि समग्र जिल्लाको विकासमा टेवा मिल्ने सरोकारवालाहरू सुनाउँछन्। निर्माण कामले गति लिएपछि आन्तरिक तथा बाह्य पर्यटकहरूको समेत आवागमनमा वृद्धि हुने भएकाले आर्थिक विकास हुने स्थानीय सरोकारवाला विवेक राईको ठम्याइँ छ।
सडकको सहज पहुँच पुगेसँगै लोकमार्गले छुने टेम्केडाँडा, चखेवाभन्ज्याङजस्ता पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरू पुग्न थालेका छन्। साथै सडकको सहज पहुँचले उत्पादित कृषि उपजलाई बजारसम्म पुर्याउनसमेत सहज भएको टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णका स्थानीय केदार अधिकारी बताउँछन्। भन्छन्, ‘सडक कालोपत्रे भएपछि यहाँ अन्तरिक तथा बाह्य पर्यटकको आवतजावत बढ्नुसँगै यहाँको कृषि उपजलाई सदरमुकाम, बजारसम्म पुर्याउन सजिलो भएको छ।’
प्रतिक्रिया दिनुहोस !