संक्रमित हुँदासम्म ल्यापटपमै

संक्रमित हुँदासम्म ल्यापटपमै

विश्वविद्यालयमा ३७ वर्षसम्म अध्यापन गरी अवकास लिए पनि उहाँको कलमले लेखनबाट कहिल्यै विश्राम लिएन। सक्रिय व्यक्तित्व भएरै सायद अवकासपछि समग्र नेपाली साहित्यमा सांस्कृतिक विमर्शको दोस्रो पुस्तक सांस्कृतिक अध्ययन र नेपाली साहित्यजस्तो समालोचनाको नयाँ ट्रेन्ड समिश्रित आलोचना ग्रन्थ, समसामयिक नेपाली उपन्यास तथा नेपाली समालोचना परम्परा र प्रवृत्ति तथा नेपाली समालोचना परम्परा र प्रवृत्ति, सिर्जनात्मक लेखन सिद्धान्त र विश्लेषण आदि नामक मौलिक लेखन, रत्न बृहत् नेपाली समालोचनाका दुई भाग, समसामयिक नेपाली समालोचना, जुगल नेपाली सैद्धान्तिक समालोचनाजस्ता सार्थक कृतिहरूको गम्भीर सम्पादन उहाँबाट हुन सक्यो।

किशोर निबन्ध, तीर्थ पर्यटन, जीवन गोप्य शिलबन्दी खाम, सम्राटको सीमाभित्र र बाहिरका भानुभक्तजस्ता निबन्धहरू उहाँका एक दशकका प्राप्ति बनेर रहे। उहाँ अर्थात् वरिष्ठ साहित्यकार डा. राजेन्द्र सुवेदीलाई विश्वव्यापी महामारी कोरोनाले यसै साता हामी सबैबाट अलग्यायो। जन्मदाता पिता उहाँ ७५ वर्षअघि मेची अञ्चलको पाँचथरमा जन्मनुभएको थियो। बुबाले उच्च शिक्षा भारतको कालिम्पोङ, वाराणसी र त्रिभुवन विश्वविद्यालयमा प्राप्त गर्नुभएको हो। वाराणसीमा अध्ययनरत छँदै मञ्जरी नामक पत्रिकामा कविता प्रकाशन गरी उहाँको साहित्यिक जीवन सुरु भएको थियो। नेपाली कांग्रेसका नेता प्रदीप गिरी, प्रगतिवादी कवि युद्धप्रसाद मिश्र तथा भारतीय विद्वान् मदनमोहन मालवीय आदिबाट प्रभावित भई उहाँमा साहित्यिक तथा राजनीतिक चेतनाले पाइलो हालेको हो। एउटा राजनीतिक चिन्तकका रूपमा परिचित रहे पनि उहाँ पूर्णकालीन राजनीतिको साटो साहित्य र शिक्षाका क्षेत्रमै रमाउनुभयो।

साँझ पाँच बजेतिर रिपोर्ट आउनेवाला थियो। त्यतिबेलासम्म पनि राजेन्द्र सुवेदीका औंलाहरू ल्यापटपको किबोर्डमै नाचिरहेका थिए। लगभग १६०० पृष्ठको नेपाली बृहत् साहित्यकोशको लेखनको उहाँ अन्तिम चरणमा हुनुहुन्थ्यो। ९५ प्रतिशत काम सकिइसकेको थियो।

त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयमा स्नातकोत्तर तहको उपाधिपश्चात् महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाम, त्रिचन्द्र बहुमुखी क्याम्पस, नेपाली केन्द्रीय शिक्षण विभाग कीर्तिपुर र कोटेश्वर बहुमुखी क्याम्पस आदि उहाँ कार्यरत शैक्षिक संस्था रहे भने गोरखापत्र संस्थानमा उहाँ एक कार्यकाल अध्यक्ष तथा महाप्रबन्धक हुनुभयो। महाकवि लक्ष्मीप्रसाद देवकोटा, शंकर लामिछाने, भैरव अर्याल, तारानाथ शर्मा तथा कृष्णचन्द्र सिंह प्रधान प्रवृत्तिका निबन्धकारहरूको भाइपुस्ताका निबन्धकार भए पनि ती दाजुहरूले खनेको निबन्धको यात्रा गर्ने गोरेटोलाई फराकिलो गर्ने कार्य उहाँबाट भयो। यसैगरी समालोचनाको क्षेत्रमा सांस्कृतिक समालोचनाको उठानकर्ताका रूपमा पनि उहाँको परिचय समालोचकहरूले दिए। प्रा.डा. वासुदेव त्रिपाठीबाट समालोचक उत्तराधिकारी घोषित बुबाले मूलत उपन्यास, निबन्ध तथा समालोचनामाथि प्रतिसमालोचना गरी वास्तविक परिचय प्राप्त गर्नुभयो। किशोर निबन्धकार, महाकाव्यकार, उपन्यासकार तथा उत्कृष्ट सम्पादकका रूपमा पनि उहाँको परिचय बनेको छ।

काठमाडौं कोटेश्वरको उहाँको जीवन सार्वजनिक र सामाजिक रह्यो। स्थानीय सामुदायिक क्याम्पस कोटेश्वर बहुमुखी क्याम्पसको संस्थापक क्याम्पस प्रमुखका रूपमा उहाँले झन्डै दुई दशक कार्य गर्नुभयो भने मृत्युपर्यन्त उहाँ सोही संस्थाको व्यवस्थापन समितिमा हुनुहुन्थ्यो। साहित्य सम्वद्र्धन केन्द्रको अध्यक्ष, भारद्वाज संस्कृति सम्वद्र्धन केन्द्रको सदस्यसचिव, उत्तम पुरस्कार गुठी, नूरगंगा प्रतिष्ठान, धर्मराज थापा सावित्री थापा स्मृति गुठी, शमीशम प्रतिष्ठान र मदन भण्डारी कला साहित्य प्रतिष्ठानको सल्लाहकार तथा लेखनाथ काव्यसभा आदि संस्थासित उहाँको संलग्नता रह्यो। केही वर्षअघि भएको हिमवत्खण्ड कला साहित्य सम्मीलन नामक बृहत् अन्तर्राष्ट्रिय साहित्यिक तथा सांस्कृतिक समारोहको पनि उहाँले अध्यक्षता गर्नुभयो।

विश्लेषण पद र प्रतिष्ठाका लागि बुबाले कहिल्यै मरिहत्ते गरेको पाइनँ। घर, करेसाबारी, फूलबारी आदिलाई सुन्दर र चिटिक्क पार्न उहाँलाई साह्रै मन लाग्थ्यो। घरमा भएका दुईवटा इनारबाट पानी तानेर भूमिगत ट्यांकीमा चढाउन उहाँलाई औधी रहर लाग्थ्यो। केही घन्टा ती कार्य गर्न खर्च गरेपछि उहाँका औंलाहरू ल्यापटपको किबोर्डमै नाचिरहेको देख्थें। राति म सुत्दा पनि उहाँका औंला किबोर्डमै हुन्थे। बिहानको पहिलो भेटमा केही वर्षदेखि व्यायाम गर्नुहुन्थ्यो।

हरेक हप्ताजसो साहित्यिक सांस्कृतिक कार्यक्रमहरूको आतिथ्य, प्रमुख आतिथ्य, विमोचक र वक्ताहरूको सूचीमा उहाँको नाम हुन्थ्यो। भौतिक रूपमा यो क्रम गतसाल कोभिड प्रकरणसम्म नियमितजस्तो रह्यो भने कोभिडको पहिलो चरणको समाप्तिपछि पनि केही समय रह्यो। भर्चुअल माध्यमका रूपमा पनि सो कार्य निरन्तर रहेको पाइन्थ्यो। भर्चुअल संसारमा उहाँलाई परिचित गराइ निपुण पार्ने मेरो छोरा (उहाँको नाति) श्रेयसप्रति उहाँ निकै अनुगृहीत हुनुहुन्थ्यो। आत्मबल दह्रो थियो उहाँको। ४५ वर्षकै उमेरमा उहाँले छोरीलाई दागबत्ती दिनु परेको थियो भने थुप्रै हन्डर पचाउनुभएको थियो।

कोभिडको पहिलो चरणलाई उहाँले सहजै पचाउनु भयो। दोस्रो लहरको आगमनसँगै गएको वैशाखको १२ गतेबाट उहाँमा कब्जियत देखियो भने तीन दिनपछि सामान्य ज्वरो आयो। दुईदिन यो क्रम रहेपछि उहाँ र आमाको पीसीआर परीक्षण गराइयो। साँझ पाँच बजेतिर रिपोर्ट आउनेवाला थियो। त्यतिबेलासम्म पनि उहाँका औंलाहरू ल्यापटपको किबोर्डमै नाचिरहेका थिए। लगभग १६०० पृष्ठको नेपाली बृहत् साहित्यकोशको लेखनको उहाँ अन्तिम चरणमा हुनुहुन्थ्यो। ९५ प्रतिशत काम सकिइसकेको र विगत चार वर्षदेखि निरन्तर गरिएको सो कोश लेखनकार्य यसरी उहाँको संक्रमण पोजेटिभ आउँदा पनि निर्वाध चलिरहेको थियो।

रिपोर्ट जे आए पनि बुबा घरपरिवारमै रहेर कोरोनालाई परास्त गर्ने मूडमा हुनुहुन्थ्यो। आमाको सुगर तथा प्रेसरको समस्याका कारण पारिवारिक अनुरोध वा भनौं सानोतिनो दबाबमा नै उहाँ राजधानीको नाम चलेको निजी अस्पतालमा निकै पापड बेलेपछि भर्ना हुन पाउनुभयो। जहाँ उहाँ पाँच दिन रहनुभयो। बाहिर हेर्दा उहाँको अवस्था सामान्य नै थियो। परिवारजनलाई फोन गरिरहनुहुन्थ्यो। डिस्चार्जपछि घर आउनुभयो तर दुर्भाग्य घर आएको १४ घन्टापछि उहाँको स्वास्थ्यमा पुनः गिरावट आयो। अक्सिजनको मात्रामा भारी गिरावट देखिएपछि सोही अस्पतालमै लगियो। कोभिडको सन्त्रासमा अस्पतालमा प्रवेश पाउनु नै ठूलो युद्ध जित्नु भएको बेला दोस्रोपटकको अस्पताल वासमा पनि उहाँ आफन्त र इष्टमित्रलाई आफैं फोन गर्ने अवस्थामा हुनुहुन्थ्यो।

इमर्जेन्सी वार्डमा उपचार चल्दै गर्दा डाक्टरको टिमले हामीलाई यसो भन्यो, ‘उहाँलाई तत्कालै सघन उपचार कक्षमा राखेर भेन्टिलेटरको प्रयोग गर्नुपर्ने हुनसक्छ। हाम्रो अस्पतालमा यस्तो कक्ष अहिले उपलब्ध छैन।’ अब हाम्रा लागि भीमकाय पहाड तेर्सियो। अस्पतालमा सामान्य बेड पाउन नै ठूलो आन्दोलन गर्नुसरह थियो। अस्पतालका लागि हामी सबै आफन्तहरूका औंलाहरू त्यसरी नै मोबाइलका स्क्रिनमा नाँचे जसरी बुबाका औंलाहरू ल्यापटपको किबोर्डमा। काठमाडौंमा रहेका आफन्त, प्रशासक, राजनीतिक नेता तथा शुभेच्छुक गरी झन्डै ३०० कल गर्‍र्यौं तर सबैतिरबाट असमर्थताको मात्र जानकारी आएपछि निराश भयौं। यस्तैमा पैतीस घन्टा बिताएपछि एउटा यस्तो फोन आयो जसले तत्कालको हाम्रो समस्यामा हरियो बत्ती देखायो। त्यो फोन नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको थियो। बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा सघन उपचार कक्ष उहाँले मिलाइदिनुभयो।

त्यो अस्पतालमा भर्ना गराउँदासम्म बुबाको स्वास्थ्यमा गम्भीर संकट पैदा भइसकेको रहेछ। फोक्सोमा निमोनिया भई पानी जमेको जानकारी गंगालालका चिकित्सकहरूबाट पायौं। शनिबार त्यहाँ भर्ना हुनु भई अर्को शनिबार हुँदासम्म उहाँको अवस्था निकै नाजुक भइसकेको जानकारी चिकित्सकले गराए। अप्रिय छनकहरू प्राप्त भइरहेका बेला २०७८ जेठ ३ गते उहाँको चोला बिसर्जन भयो। त्यही जेठ ३ मा नेताहरू मदन भण्डारी तथा जीवराज आश्रितको दासढुंगामा दुःखद् अवसान भएको थियो। यसरी झन्डै साठी वर्षको उर्जाशील लेखकीय जीवन नेपाली साहित्यलाई सुरक्षित पारेर मोक्ष प्राप्त गर्ने बुबा राजेन्द्र सुवेदीको संक्षिप्त कोरोना कथाको बिट मार्दै अश्रुमिश्रित श्रद्धाञ्जलि अर्पण गर्दछु।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.