नेपाल चोक टू दुबई
अनेकौं बिहानीमध्ये हलुका चिसोको अनुभूति गर्न सकिने एक बिहानी। केही मान्छेले थन्क्याएका पातला ज्याकेटलाई दराजबाट निकाल्न भ्याइसके। जाडोकै लागि भनेर नयाँ ज्याकेट कसैले किनेको नदेख्नुको अर्थ जाडो भव्य रूपमा सुरु भइनसकेको अनुमान लगाउन सकिन्थ्यो।
बिहान साढे छ बजेको हाराहारीमा ऊ नेपाल चोकमा उभियो। एक्लै। आफन्तीहरूलाई अर्कै भूगोलमा छोडेर रात्री बसको यात्रा गरेको थियो उसले। नेपाल चोकमा पर्खिरहेका यात्रु अरू पनि थिए। उसको ध्यान तानिनु पर्ने कारण नहुँदा नहुँदै पनि अगाडिको मासु पसल र त्यही मासु पसलको भित्तामा ठोकिएको पात्रोमा देखिने देशको चुच्चे नक्साले तान्यो। उसको रोजाई होइन, नेपाल यातायात बाध्यता हो।
वृद्ध लठ्ठी टेकेर कामिरहेका थिए। ती वृद्धलाई उलगायत केही यात्रु शरीर खोप्रो पारेर स्थान बनाइदिन संघर्षरत थिए। ऊ सोचिरहेको थियो, ‘नेपाल यातायातले जादुझैं आफ्नो आकार बढाइदेओस्।’
तीनवटा साना गाडीलाई हारालुछ गर्दै यात्रु चढाएर पठाइसक्यो। तिनीहरूमा चढ्ने आँट नगर्नुमा हतार खासै थिएन भनेर बुझ्यो भने गलत हुन्छ, कारण उसलाई चाहिन्थ्यो नेपाल यातायात नै। बगरेले एक क्रेट जिउँदो कुखुरा गोदामबाट ल्यायो। त्यो क्रेटमा हुनुपर्छ सातवटाजति कुखुरा।
आकार मात्रै भएको नेपाल यातायात आएको परैबाट देखियो। मन मार्दै, आफूलाई निरास पार्दै भरिभराउ नेपाल यातायातभित्र खाँदियो ऊ। ‘ओ दाइ ! सुट्केस राख्ने ठाउँ छैन।’ सहचालकले भुईँमा पिच्च थुक्दै भनिसकेको थियो।
यात्रामा निस्केका यात्रुसँग केही न केही सामान हुने नै भए खाली हात आउने खाली हात जाने शास्वत नियम भए पनि ! यो कुरा चालक सहचालक किन बुझ्दैनन् ?
आफ्नो सुट्केसलाई आफ्नै टाङमुनि घिसार्दै बडो कठिनसँग पाइला चाल्न सक्यो नेपाल यातायातभित्र उसले। नेपाल यातायातभित्रका सबै यात्रुसँग सुटकेस थियो, अप्ठ्यारोसँग टिकाइरहेका। दुवै खुट्टा टेक्ने ठाउँ नपाउनु, शरीर सग्लो राख्न पनि नपाउनु कस्तो दुर्भाग्य ?
नेपाल यातायातभित्र सजाय काटिरहेका यात्रुलाई देखेपछि सन्तोष मान्नै पर्यो। उनीहरूलाई सहज पार्न उसले भने आफ्नो शरीरलाई अझै कुँज्यायो। देशमा अघोषित संकटकाल भएपछिको दैनिकी हो यो। यो सजाय आफूले आफैंलाई दिन चाह्यो, देशमा बस्दै नबस्ने वाचा गरेर। उसको परिचय नेपाल यातायातमा यात्रा गरिरहेको फगत यात्रु नै त हो।
उसले आँखा र ध्यान सजाय भोगिरहेका नेपाल यातायातका यात्रुभन्दा बाहिर पुर्याउनै सक्दैन। यतिखेर उसले आफूलाई सटही गरी तह मिलाएर पर्समा राखिएको विदेशी मुद्रासँग तौलियो। गाउँतिर भर्खरै हरिया सागका पात किचेर हाल्दै गरेको गुन्द्रुक सम्झिन भ्यायो आफूलाई।
‘भित्र भित्र जानुस् है, भित्र भित्र जानुस् है...’ सहचालक अघिदेखि रिस उठाउँदो स्वरमा चिच्याइरहेकै थियो। यात्रुहरू कसैले पनि उसको स्वरलाई मिठो नमान्नुको कारण ऊभित्रको कमाउने स्वार्थ र पराग गनाउने सासबाहेक केही हैन। यात्रुहरू कोही पनि भित्र जाने ठाउँ खोज्दैनन् किनकि त्यो प्रयास गर्नु स्वदेशमै जिउन खोज्नुभन्दा कम छैन।
‘कस्तो अटेरी होला, यस्ता मान्छेले नेपाल यातायात किन चढ्नु ?’, भित्रका यात्रुको अटेरीमा सहचालक थप रिसायो। ऊ यात्रुलाई तह तह मिलाउन तल्लिन देखिन्थ्यो। बलियालाई छतमा, बच्चालाई अगाडि काखमा, महिला वृद्धलाई भित्र। सहचालकको उक्त भनाइ परिवर्तित भएर, ‘यस्तो देशमा किन जन्मिनु’ भनेको ठान्यो।
यात्रु सबै बाध्य थिए, लाचार थिए, निरास थिए। केही वृद्ध अनि महिलाहरूको गुनासो सहचालक र चालकको कानसम्म पुग्दैन किनकि चर्काे स्वरमा बजेको गीतले त्यो हाइवे ब्लक गरेथ्यो। उसलाई अनुमान गर्न गाह्रो पर्दैन, त्यहाँ सत्र जना उभिएका थिए। २८ जना सिटमा बसेका र दुईजना छतमा उक्लिएका। छानामा छोएको टाउको नचलाई आँखा मात्र घुमाएर उसले आफूसमेतलाई गन्ति गरेको हो।
अरूको शरीरको स्पर्श मन नपर्नेहरू कुहिनाले घोचिरहेकै थिए। टच गर्न खोेज्ने युवकलाई युवतीहरू आँखा तरिरहेकै थिए। विभिन्न कम्पनीले तेल, पफ्र्युमको विज्ञापनका लागि यात्रुलाई खटाएझैं पनि नलाग्ने हैन। यात्रुहरू बढी कोच्ने प्रमुख उद्देश्य एवं अकुत पैसा कमाउने महान् लक्ष्यका साथ चालकले कुदाइरहेको थियो नेपाल यातायात। नियम कानुनको के वास्ता ! बढी यात्रु कोच्न नपाउने नियम कल्ले मान्ने ?
सिटको सिरानमा भित्तातिर लेखिएको थियो, ‘महिला सिट’। जहाँ महिला हैन पुरुषहरू विराजमान देखिन्थे। अर्काेतिर त्यसैगरी लेखेको देखिन्थ्यो, ‘अपांग सिट’। त्यहाँ हैकम जमाइरहेका थिए सपांग पुरुषहरू। ‘ज्येष्ठ नागरिक आरक्षण’ सिटमा ज्येष्ठ नागरिकहरू पुग्ने हिम्मत बटुल्दैनन्। मनपरीतन्त्र चलेको थियो। नियमकानुन चालक सहचालक मान्दैनन्, यात्रुहरू झन् मान्दैनन्।
झ्याल हेरौं, झ्याल झ्यालजस्तो लाग्दैन। नेपाल यातायातको भित्री स्वरूप विरूप भइसकेको थियो, बिखन्डनजस्तो लाग्ने ! नक्साले मात्रै छुटिन्थ्यो। हो ठिक यही बेला पिँजडामा कोचेर कतै लगिरहेको, पखेंटा भाँचिएको, भुत्ला झरेको, विभिन्न रोगले झोक्र्याइरहेको, दुईचार दिनदेखि भोको बोइलर कुखुराझैं मान्यो उसले।
एउटी (तेल भिसा लागेकी) वृद्धले ‘स्वाँ स्वाँ’ गरेको आवाज प्रस्ट सुनियो तर उनको गुनगुन सुन्ने कसैले आँट गर्दैनन्। यात्रुको गुनासो सुन्ने विभाग नै थिएन !
‘ल, ल अलि भित्र जानुस्... मिलेर बस्नुस्। ...ओ दाइ अलि मिलेर बस्नु न।’ सहचालक रिस उठ्दो स्वरमा चिच्याउन छोडेन। ऊ अर्काे साइडतिरबाट चिच्याएको हो, आएको आवाजको गतिअनुसार अनुमान लगायो।
‘मिलाएर बसाउने जिम्मा कस्को हो ? भित्र भित्र जानुस् भनेर मात्रै हुन्छ ? नियम कानुन मान्नु परेन, मिलाएर बसाउन जान्नु परेन। पैसा मात्र असुल्न खोजेर हुन्छ ?’ उसले चिच्याएर भने पनि चालक सहचालकसम्म गुनासो नपुग्ने कारण थियो नै।
‘यो देशमा यस्तै छ है भाइ। न चालकले नियम मान्छन्, न सहचालकलाई नियम थाहा छ। न यात्रु नै सचेत छन्।’ कष्टसाथ यात्रा गरिरहेको एउटा यात्रु (सेनजेन भिसावाला) को आवाज आयो। को हो चिन्नलाई ध्यान नदिएर शरीर बंग्याएर अरूलाई सजिलो पारिदिने कोसिस गर्यो।
बेवास्तासँग टस न मस भएर उभिइरहने पनि थिए (स्टुडेन्ड अनि डिपेन्डेन्ट भिसावालाहरू)। उसले ठ्याक्कै यतिबेला मात्रै सोचेको हैन, बारम्बार यही कुरा खेलाइरहन्थ्यो, ‘सबैले आफ्नो सजिलो हेर्छन् र यात्रा पूरा गर्छन्। त्यही भएर यो देश नबनेको।’
यतिखेर उसले यही सोचिरहेको थियो किनकि नेपाल यातायातभित्रका सबै यात्रु बिनासुविधा कष्टकर यात्रा पूरा गर्न बाध्य थिए। ग्वार्काेमा प्रतिक्षारत केही यात्रु छतमा उक्लिए। तीनजना महिला वृद्धलाई भित्र घचेट्न थाल्यो सहचालक। उसको प्रयत्नलाई भित्र भएका यात्रुहरूले सहज बनाइदिनै पथ्र्याे। उनीहरू त्यसो नगर्न सक्दैनथे।
‘ल, ल बुढो मान्छेलाई सिट छोडिदिनुस् त।’ सहचालकले हैन वृद्धसँग आएकी अलि कम बुढी देखिने एक महिलाले भनिन्। उनीहरूले पनि जबरजस्ती सुटकेस घिसारेकै थिए। एकछिनसम्म कोही उठ्ने तरखर गर्दैनन्। सिटमा बस्नेले यही सोचिरहेको हुनुपर्छ, ‘आफू उठेर उभिने भूगोल कहाँ छ ?’
वृद्ध लठ्ठी टेकेर कामिरहेका थिए। ती वृद्धलाई उलगायत केही यात्रु शरीर खोप्रो पारेर स्थान बनाइदिन संघर्षरत थिए। ऊ सोचिरहेको थियो, ‘नेपाल यातायातले जादुझैं आफ्नो आकार बढाइदेओस् र यात्रुले यात्रा अवधिभर सुख शान्ति पाउन्।’
‘भयो, भयो म यहीँ टुसुक्क बस्छु।’ उनी अरूकै खुट्टामाथि अडिएको आफ्नै सुटकेसमा बस्न खोजे।
‘ज्येष्ठ नागरिक’ लेखिएको सिटतर्फ ऊ लक्षित भयो। त्यहाँ विराजमान थिए, छ फिटे युवा (स्टुडेन्ट भिसावाला)। उसले कानमा वाकमेन घुसारेको थियो। सबैले बुझे, उसले परिस्थितिलाई बेवास्ता गर्ने कोशिस गरेको। सबैको प्रहारपछि ऊ लज्जित हुँदै सिटबाट उठ्यो र वृद्धलाई बस्ने स्थान बनाइदियो।
के ऊ यति सजिलै उठ्यो ? मनपरी गाली चालक र सहचालकलाई गर्यो। अनावश्क हिन्दी गीत चर्काे स्वरमा घन्किरहेको थियो। चालकको जीउ त्यही गीतको तालमा झुमिरहेथ्यो।
त्यो गीतमा बजेको बाजाकै तालमा गाडी उफाथ्र्याे ! गाडी चलाउने कुनै ढंग नभएको। यात्रुहरू रिसले चुरचुर हुन्थे। गरुन् के ? भनुन् के ? ‘मेरो सम्पत्ति, मेरो खुसी, तिमीहरूलाई के चासो ?’ भनिसकेको थियो चालकले। ‘बाजे कहाँसम्म ?’
उठ्दा उठ्दै उसले सोध्यो। ‘सिड्नी...।’ वृद्धको फुस्फुस् कसैले सुनेनन्। अर्काे ठाउँमा आइपुगेपछि केही यात्रु थपिए। त्यसपछि थाहा भयो भित्र आँखा नदेख्ने बालक पनि रहेछ !
‘आइज छोरा आइज...। तपाईंहरू त अपांगता भएको व्यक्ति हैन नि ?’ ती महिलाका आँखा त्यही सिटमा पुग्यो। उनको कुरा सुनेर त्यो सिटमा बसिसकेको एउटा मान्छे जुरुक्क उठ्यो। त्यसरी उठ्न उसको शरीर मन राजी थिएन।
कोटेश्वर पुग्नुअघि चालकले एक्कासि ब्रेक थिच्यो। ‘ओई ओई, के गर्छ के गर्छ ? कस्तरी चलाको ?’ यात्रु चिच्याएको आवाज कोलाहलमै हरायो, चालकको उन्माद, बजेको गीतको असर !
‘के भएछ ? लुकिङ ग्लास फुटेछ हैन ? के गरी चलाको होला ? मान्छेलाई छोएको भए के गथ्र्याे होला ?’ सहचालक चालकमाथि तेर्सियो। ‘झन्डै मार्यो, के मनपरि गरेर चलाएको होला। यो देशका मानिस कहिले शिक्षित हुन्छन् !’ यात्रुले बोले यो र यस्तै आशयका संवाद।
कोटेश्वरमा गाडी अडिँदा झन् सास फेर्ने ठाउँ पनि रहेन। ‘भित्र भित्र जानुस् त। भित्र भित्र जानुस् है भित्र भित्र !’ सहचालकले यात्रुसँग झन् रिस पोख्यो। नेपाल यातायातको तन्किने भाग नदेखेर ऊ निरास भयो। उसले सोच्यो, बेलुनझैं तन्किने भइदिए सबैलाई सहज हुनेथ्यो।
कोटेश्वरबाट यात्रु छतमा चढे, छतमा डर लाग्नेहरू ढोकामा झुन्डिए। ‘मिलेर बस्नुस् है मिलेर बस्नुस्।’ भूगोलअनुसार असाध्यै नमिल्ने वाक्य बोलेर सहचालकको रिस उठ्दो स्वरले निरन्तर घोचिरहेको थियो। यात्रुलाई निरन्तर भित्र कोचिरहेको थियो। ट्राफिकले सिठी अर्काे गाडी भएतिर फुक्यो। मनपरी गर्ने नेपाल यातायातलाई नदेख्ने सेटिङ पहिल्यै भएथ्यो। त्यही गतिमा गैरी गाउँमा पनि यात्रु कोच्यो। मनपरी ढंगले पैसा असुल्न पाएकोमा चालक मख्ख ! सहचालक झन् मख्ख ! यात्रु कसैले पनि नरुचाएको चर्काे कर्कश विदेशी गीतमा झुमिरहेका थिए दुवै। यात्रुको सकस चालक सहचालकलाई के चासो !
‘छ, छ भाइ रोक।’ ‘रोक, रोक, कति अगाडि लगेको ?’ ‘के डाइवर हो, कहाँ रोक्ने भन्ने बुद्धि पनि छैन।’ यात्रुका विभिन्न स्वर सुनिन थाले। बजेको चर्काे विदेशी गीतले चालकले कसैको कुरा सुनेन। सुने पनि उसले आफूलाई मन लागेको ठाउँमा रोक्ने हो, रोक्न मिल्ने ठाउँ होस् कि नहोस् !
यात्रुहरू बिस्तारै आआझ्ना सुट्केस घिसारेर ओर्लिंदै नेपाल यातायातको भूगोल छोडे। चार जात छत्तीस वर्णकै मानिस नियाल्दै, जोगिँदै जोगिँदै, असाध्यै सकससाथ कुच्चिएको ढोकासम्म आइपुग्यो ऊ।
समाउने ठाउँ देख्दा घिन लाग्यो। पराग चपाएर ओठका दुई कापबाट चुहिँदा पनि थाहा नपाउने सहचालकलाई मुखैमा थुकिदिउँ कि ? सोचेको मात्तै हो उसले। सारा यात्रुको ज्यान जोखिममा राखेर नेपाल यातायात हाँक्ने चालकलाई पच्काइदिउँ जस्तो लागेको हो।
सुटकेस घिसारेर एयरपोर्टतिर लागेका सबै यात्रुलाई नियाल्यो केहीबेर ! अन्तिममा शितल सास फेर्छु भनेर हत्तपत्त नेपाल यातायातको भूगोलबाट खुत्रुक्क ओर्लियो र गलित, थकित, अपराजित खेलाडीझैं कर्म थलो दुबईको भूगोलमा टेक्यो रामकुमारले।