सरुभक्तको चुली ‘क्रेम्पोन पाइलाहरू’

सरुभक्तको चुली ‘क्रेम्पोन पाइलाहरू’

प्रयोगवादी साहित्यकार सरुभक्तको ‘चुली’ उपन्यासको केन्द्रीय कथानक र वैचारिक पृष्ठभूमि हेमिङ वेको ‘ओल्ड म्यान एन्ड द सी’ समानान्तरको विन्दुमा देखिन्छन्। दुवै लघु उपन्यास अर्थात् नोबेला हुन्। ‘पागल बस्ती’ लेखेर मदन पुरस्कार पाएका सरुभक्तको यो उपन्यास  यतिका दिनसम्म मैले किन पढेको रहेनछु ? अचम्मित छु।

विक्रम संवत् २०६० को सेरोफेरोमा प्रकाशित यस उपन्यासबारे मलाई जानकारी नहुनु मेरो कमजोरी हो तर देर आए दुरुस्त आए। २०७५ सालमा प्रकाशित पुनः संस्करणको प्रति हात पर्‍यो, पढें र गौरवान्वित भएँ। लाग्यो, नोबल पुरस्कार प्राप्त ‘ओल्ड म्यान एन्ड द सी’सँग तुलना गर्न सकिने उत्कृष्ट कृतिको उपस्थिति पनि रहेछ नेपाली साहित्यमा। नेपाली साहित्यकारबीच पनि अंग्रेजी साहित्यबारे चर्चा हुँदा ‘ओल्ड म्यान एन्ड द सी’को प्रसंग बारम्बार आइरहन्छ। नेपाली साहित्यको बहस हुँदा ‘चुली’को चर्चा भएको थाहा पाइनँ।

साहित्य आरोहण एक आस्थाको आरोहण हो, अहंको आरोहण हो। समर्पणको आरोहण हो, सृजनात्मकताको आरोहण हो। यी आरोहणका क्रेम्पोन पाइलाहरू मात्रै हिँडिरहनु पर्छ, उक्लिरहनु पर्छ।

‘चुली’ मानव जीवनलयको कथा हो। चुली मानव संघर्षको यात्रा वर्णन हो। यस्ता कृति कमै लेखिन्छन् तर लेखिँदा रहेछन्। आजका युवा पिँढीले पढ्नुपर्ने एउटा उन्नत सोचको उत्पादन हो, चुली। यसमा हिमाल आरोहणबारे भनिएको छ। हिमाल मानव जीवनको बिम्ब हो, आरोहण संघर्षको अभिप्रेरक बिम्ब हो र चुली जीवनको लक्ष्य हो। चुली लक्ष्य प्राप्तिका लागि गरिएको हिमाल यात्रा हो भने हेमिङ वेद्वारा रचित ओल्ड म्यान एन्ड द सी लक्ष्य प्राप्तिका लागि गरिएको समुद्र यात्रा हो। चुली पढ्दै गर्दा ओल्ड म्यान एन्ड द सीको अन्त्यबारे अवगत थिएँ। चुली उपन्यासको आरोही हिलारी टेपु पुग्दा चुलीको अन्त्य के होला भनेर उत्सुकता नभएको होइन।

१३ र १४ वर्षको उमेरमा हिन्दीका उपन्यासहरू पढ्ने ताका पाना पल्ट्याएर निष्कर्ष हेर्ने बानी थियो तर अहिले त म छिप्पिएको मान्छे। आख्यानकार सरुभक्तसँग पुरानो परिचय र राम्रो चिनजानले केही बानी थाहा भएकाले कसरी अन्त्य गरेका होलान् भन्ने कौतूहलता बढेकै हो। हेमिङ वेको स्यान्टियागो समुद्रको विशाल माछासँग लड्दै गर्दा विजयी हुन्छ तर अन्त्यमा उसले त्यो विशाल माछाको काँडामात्र प्राप्त गर्छ। चुलीको अन्त्यबारे सोच्दै गर्दा आशंकित हुन्थें, कतै ऊ पात्र हिरोले आफ्नो लक्ष्य प्राप्त गर्न नसक्ने त होइन ? अनि भनें,  त्यसो नहोला किनकि लेखकलाई नजिकबाट चिन्दछु। उनी एउटा अठोटपूर्ण जीवन बाँच्ने मनुवा हुन्।

आफ्नो सोचको आकारलाई साकार पार्ने खालको छ उनको जीवनशैली। पुनः सोचमग्न भएँ। कतै हिरोले चुलीमा पुगेर फर्कने क्रममा मृत्युवरण त गर्ने होइन ? त्यसो हुँदा लक्ष्यले त सफलता पाउने छ तर जीवन हारेर मात्र। प्राप्तिको दृष्टिकोणले स्यान्टियागो पनि त असफल नै हो। यसरी हेर्दा ओल्ड म्यान एन्ड द सीको स्यान्टियागोको प्राप्ति माछाको काँडा हो भने चुली नायकको प्राप्ति मृत्युु। यो दुई चरित्रको भौतिक असफलता मानव जीवनका लागि रोमाञ्चकारी प्रेरक आयाम हो।

सरुभक्त मानव जीवनका प्रत्येक चुनौतीसँग परिचित रहेर एउटा यथार्थवादी शिक्षकले झैं पाठकलाई जीवनका ती चुनौतीहरू बताउँदै गर्छन्। जसको अनुसरण गरेमा जीवनले सफलता प्राप्त गर्नेछ। पाठकलाई जीवनका कठिनाईहरूसँग परिचय गराउँदै सतर्क रहन आग्रह गराउँदैछन्। कवि हृदयका आख्यानकार सरुभक्तको अनुकरणीय मानवीय आचरण हो। उनी सृजनामा जति सफल छन् त्यति नै जीवनवादी आदर्श विचारका सम्प्रेषक पनि।

सरुभक्त निबन्धकार, आख्यानकार, नाटककार हुन् तर उनको हृदयमा कविको सुन्दर महल छ यसर्थ उनका रचनाहरूमा यत्रतत्र कविता छचल्किन्छ। हिमाल चढ्नु भनेको अवश्य नै एउटा जोखिमपूर्ण अठोट हो तर साथै त्यस जोखिमलाई नै कवि सरुभक्त कविताझैं भावनामा पोखिन्छन्। जीवन भनेको जोखिमहरूको एक सुन्दर कविता हो। जोखिमहरूदेखि तर्सनेहरू सधैं कुरूप कविता रचना गर्छन् भनी उनले लेखेका छन्। उपन्यासभित्रको कथा सरल छ। एकजना पर्वतारोहीले एक्लै सगरमाथाको चुली पुग्ने अठोट गर्छ। मौसम बिग्रेकाले दुई दिन ऊ आधार शिविरमा आफ्ना भरियाहरूसँगै बस्छ तर त्यसपछिको उसको यात्रा एकल हुन्छ। अनेकौं दुःख सहँदै र हन्डर खाँदै ऊ सगरमाथाको चुली पुग्न सफल हुन्छ। मौसम बिग्रेको अवस्थामा आधार शिविरमा रहँदै गर्दा उसले आफ्नो यात्राको उद्देश्यबारे मनन् गरेको थियो, ‘सगरमाथा उसको सपना हो। सपना उसको चुली हो। यो एउटा हिमालको चुली मात्र होइन, सर्वोच्चताको चुली पनि हो।’ ऊ चुली विजय गरेर फर्कंदा तुफानको प्रचण्ड वेगसँग पराजित हुन्छ र मृत्युवरण गर्छ।

उपन्यासभित्रको कथा यतिमात्र हो। उपन्यासबाहिर भने एउटा राम्रो पाठकले सशक्त आख्यानसँग परिचय प्राप्त गर्न सक्छ। उसो भए यस उपन्यासभित्र के छ ? आरोहीको मृत्युसँगै उसको कथा समाप्त हुन्छ तर उपन्यासको कथा कहिल्यै समाप्त हुँदैन। आरोहणको क्रममा गरिएका उसका एकालाप यस उपन्यासको शक्ति हो। फर्कंदा मृत्युपश्चात् निस्केका उसका आत्मवाणी उसका अमर वाणी हुन्। यी सदैव जीवित रहने छन् किनकि यी शब्दहरूमा छन् यात्राको निरन्तरता र जीवन बाँच्नुको सार।

‘प्रिय सगरमाथा ! मलाई बिदा देऊ तर मेरो बिदाइ सम्पूर्ण मानवताको बिदाइ होइन। विश्वास गर, मेरो जीवन समाप्त भएपछि पनि सबै कुरा समाप्त हुने छैनन्। मान्छेका अहंकारहरू समाप्त हुने छैनन्। मान्छेका अदम्य संघर्षहरू समाप्त हुने छैनन्। मान्छेहरू हिमाल चढ्न आइरहनेछन्। आइरहनेछन्। आइरहनेछन्। मानव जीवन आखिर हो के त ? मानव जीवन संघर्ष हो र यस उपन्यासभित्र संघर्षसम्बन्धी ज्ञानका कुरा छन्। प्रतिवद्धताका कुरा छन्, दृढताका कुरा छन्। जीवन परिभाषाका कुरा छन्, जीवन दर्शनका कुराहरू छन् अनि छन् चुनौतीहरूका कुरा। सगरमाथाको चुलीसम्म पुग्ने अनेकानेक बिसौनी र बाटाका कुराहरू छन्।

उपन्यासमा सगरमाथाको चुलीमा पुग्दासम्म पथिकले खाएका हन्डरहरूको विवरण छ। यी हन्डरहरूलाई प्रत्येक मानवयात्रीको जीवनका हन्डरहरू भन्न सकिन्छ। हो यो एक सिसिफसकै कथा हो। जसको मूल उद्देश्य जीवन यात्रा हो। पहाडी होस् वा समतल, एउटा दृढ प्रतिज्ञा सिसिफसको यात्रा अठोटसँगै अविरल बगिरहन्छ। उपन्यासको भाषामा जताततै एउटा कविको उपस्थिति छ साथै प्रत्येक पृष्ठका धेरैजसो अनुच्छेदमा जताततै छिरलिएर बसेका छन्, सरुभक्तका जीवन दर्शनका बिम्बहरू। त्यस आरोहीको संकल्प सलामयोग्य छ, प्रतिबद्धता अनुकरणीय छ र आँट अनि अठोट डरलाग्दो छ। उसले हिमाल चढिरहँदा एउटा भोटेकुकुरले उसलाई पछ्याएको हुन्छ तर धेरै बेर पछ्याउन सक्दैन। आरोहीको कविहृदयले भन्छ, ‘सायद त्यसलाई ज्ञान हुन्छ हिमाल चढ्ने काम मान्छेको हो, कुनै कुकुरको होइन।’

अभिव्यञ्जना ११ साँच्चै, मलाई मेरो कथा संग्रह ‘व्रत्भंगु’भित्रको एउटा कथा पिल्लाको सम्झना भयो। मेरो कथामा एकजना पथिकको पछिपछि हिँडिरहेको कुकुरको एउटा सानो छाउरो उकालो बाटोमा चढ्न नसकेर फिर्ता हुन्छ। कुकुरहरू उकालो चढ्न सक्दैनन् साथै मेरो आशय कुकुर स्वामीभक्त जनावर हो तर कसैको विचार र यात्राको अनुयायी होइन भन्ने पनि हो।

साहित्य स्वयं आफैंमा एउटा हिमाल हो। यस हिमालमा चढ्ने अधिकार सबैमा सुरक्षित छ र छातीमा साहित्यकारको बिल्ला भिरेर कतिपय साहित्यारोहीहरू प्रयत्नरत हुन्छन् र छन् पनि तर चुलीमा पुग्ने क्षमता ककसले राख्छन् ? यो एउटा गम्भीर प्रश्न हो। कसले जीवनका लागि लेख्यो ? वा कसले लेख्नका लागि लेख्यो ? सरुभक्तले उपन्यासमार्फत यो प्रश्न पनि खडा गरिदिएका छन्। अब समालोचनाकै कुरा गर्ने हो भने यस पुस्तकमाथि कृष्णचन्द्रसिंह प्रधानद्वारा लेखिएको ‘मात्रै हिँडिरहनुपर्छ क्रोम्पोन पाइलाहरू।’ भन्दा राम्रो समालोचना के पो हुन सक्ला र ? चुलीमाथिको आफ्नो दृष्टिकोणको अन्त्यमा उहाँ लेख्नुहुन्छ, ‘साहित्यमा त एउटा साउथ समिटपछि अरू समिटहरू आउँछन्, जो मिटरले नापिँदैन। साहित्य आरोहण एक आस्थाको आरोहण हो, अहंको आरोहण हो। समर्पणको आरोहण हो, सृजनात्मकताको आरोहण हो। यी आरोहणका क्रेम्पोन पाइलाहरू मात्रै हिँडिरहनु पर्छ, उक्लिरहनु पर्छ। चुली त आफैं नुहिदिन्छ।’

जीवन आरोहणको यो कृति नेपाली साहित्यको इतिहासमा सरुभक्तझैं चुली मै रहने छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.