भूपि भन्थे, ‘सितन होइन चेतन !’
चेतन कार्की सादा जीवन र उच्च विचारमा हुर्के, बढे र पढेको नेपाल आमाको एक सच्चा स्वाभिमानी सपुत। कवि, गीतकार, उपन्यासकार, चलचित्र निर्देशक, लेखक, लोकसंस्कृतिविद् एवं गायकको व्यक्तित्वको सिंगो रूप हो, चेतन। भूपिले पिउँदा ‘मलाई सितन होइन चेतन भए पुग्छ’ भनी खोजेको स्रष्टाको रूपमा चिन्दछु।
सार्थक जीवन बाँच्नु, निरर्थक बाँच्नु के बाँच्नु ? भन्ने बिचार बोकेका उच्च विचारका धनी हुनुहुन्थ्यो चेतन। जुद्धवीर र चन्द्रमाया कार्कीका माइलो सन्तानका रूपमा स्याङ्जाको बाँटरी गाउँमा १९९५ कात्तिक २२ गते जन्मिनुभयो। सानैदेखि भारतको देहरादुनमा हुर्किंदै शिक्षादीक्षा प्राप्त गर्नु हुने कार्की २० को दशकबाट लेखनमा प्रवेश गर्नुभयो। उहाँले २०२५ सालमा हिरासिंह खत्रीसँग सहायक निर्देशकको रूपमा काम गरी पहिलोपटक ‘परिवर्तन’ चलचित्रका लागि कथा, सम्वाद र गीत लेखनबाट चलचित्र क्षेत्रमा पाइला टेक्नुभएको थियो। २०२३ सालमा कल्याण शेरचनको कल्याण पकेट बुक्सबाट ‘आत्मा बेचेको छैन’ उपन्यास प्रकाशनसँगै साहित्यमा कार्कीले आफ्नो प्रभाव देखाउनुभयो।
परिवर्तन, मायाप्रीति, कान्छी, भुमरी, बदलिँदो आकाश, कन्यादान, विश्वास, पहिलो प्रेम लगायतका थुप्रै चलचित्रका गीतकार व्यक्तित्व हो चेतनको। उहाँले परिवर्तन चलचित्रबाटै हीरासिंह खत्रीको सहायक निर्देशक भई निर्देशनको काम पनि सुरु गर्नुभयो। उहाँले लेखेका चलचित्रका अधिकांश गीतमा गोपाल योञ्जनले संगीत दिएका छन्। योञ्जन कार्कीलाई दाजुको रूपमा आदर गर्दै आफ्नो गुरु भन्न रुचाउनु हुन्थ्यो। योञ्जनको अवसानपछि कार्कीले गीत लेख्न त्यति रुचाउनु भएन। तर पछिल्लोपटक उहाँमा यस्तो जाँगर पलायो कि एक वर्षमा मसँग मात्र ६७ वटा गीतको काम गर्नुभयो। जसमध्ये १८ गीत रेकर्डिङको प्रक्रियामा छन्।
‘सार्थक जीवन भए जिउनु ! निरर्थक जीवन के जिउनु !’ भन्नुहुन्थ्यो चेतन कार्की, ‘सत्कर्मले अरूको मनमष्तिष्कमा लामो समयसम्म बाँचिरहनु नै अमरत्व हो।’
कार्कीले सिर्जना गरेका ‘बुझ्नै सकिनौ तिमीले’, ‘आँखाको भाका मेरो’, ‘बैनीको दया छ भने’, ‘छोरीको जन्म हारेको कर्म’, ‘तीजको रहर आयो बरीलै’, ‘माया पिरतीको चोखो कथा’, ‘यी ओठ तिम्रा मुस्कान तिम्रा’, ‘कान्छी हे कान्छी’ लगायतका दर्जनौं गीत कालजयी बनेका छन्। उहाँका ‘जून निदाउन थाल्यो’, ‘मायाप्रीतिको चोखो कथा’ (नेपाली भाषामा), कल्पना टूट चुकी है (हिन्दी कविता संग्रह), दिल जिगर के टुकडे (उर्दू भाषामा) पुस्तक प्रकाशित छन्। यस्तै साइट ‘साउन्ड एन्ड पल्स’ पुस्तक अंग्रेजी भाषामा प्रकाशित छ। ‘आत्मा बेचेको छैन’, ‘ढलेको गिलास’ र ‘हनिमून’ उहाँका चर्चित उपन्यास मानिन्छन्। चेतन दाइसँग फोनमार्फत दैनिकजसो करिब चार घन्टा गीतको काम गथ्र्यौं। मेरो कानमा मोबाइलको एअर फोन र हातमा हार्मोनियम अनि उहाँको कानमा रिसिभर हातमा कलम र कापी। यसरी करिब ४/५ महिनामा हामीले ६७ वटा गीतलाई पूर्णाकार दियौं। उहाँको भनाइ बारम्बार एउटै थियो– मलाई धुनले अपिल गरेपछि एकदम चाँडो लेख्न मन लाग्छ बाबू ! त्यसैले होला, अघिल्लो दिन सुनाएको धुनलाई टपक्क टिपी भोलिपल्टको बिहानीमा गीत दिनुहुन्थ्यो। अनि त्यसलाई मैले संगीतमा ढालेर त्यति नै बेला गाएपछि बडो खुसी हुँदै ल आज एउटा सृजना पूर्ण भयो भनी सन्तुष्टी पोख्नुहुन्थ्यो।
‘सार्थक जीवन भए जिउनु ! निरर्थक जीवन के जिउनु !’ भन्ने चेतन दाइको विचारबाट सधैं प्रभावित छु। भाषा शुद्धीकरण नगरी सुनाएको उहाँलाई मन पर्दैनथ्यो। चेतन दाइका सिर्जनालाई न्याय गर्ने प्रयास गर्दै आएँ। करिब २०३५ सालदेखि वस्तु सेवन छोडेर (उहाँकै भाषामा वस्तु भनेको मादक पदार्थ) कोकोकोलासँगको तपाईंको अटुट साइनो झल्झली सम्झिरहेको छु। वैशाख १७ को साँझ जब तपाईं देहरादुनदेखि भैरहवा हुँदै काठमाडौं आइपुग्नुभयो तब तपाईंले मलाई राति बोर्डरबाट भैरहवा एअरपोर्ट पुग्न चार किलोमिटर भारीसहित हिँडेको र जिउ दुखेको कुरा व्यक्त गर्दै भोलिदेखिका लागि कोक स्टक राख्न व्यवस्था मिलाउँदैछु भन्दा मनमा चिसो पसेको थियो।
जिउ के कारणले दुख्यो ? अलिक सतर्क र सचेतता अपनाउनुहोला भनी अनुरोध गरेको थिएँ। उत्तरमा तपाईंले होइन, हिँडाइले दुखेको हो बाबू भन्नू भो। त्यही कालले तपाईंलाई झुक्याइरहेको थियो। त्यसपछि निकै दिन फोनमा सम्पर्क नै हुन सकेन। परिवारले भन्दा नि मलाई ठिकै छ भन्नू कालले फ्याँकेको अर्को पासा थियो। मात्र फोन खुल्ला राखिदिएको भए हामी फोनमार्फत अनेक सही उपाय बताउन र आवश्यक परे आउन सक्थ्यौं। यो कुराले भने हामी थक्क थक्क छौं। आखिर भावीले जे लेखेको थियो, त्यही भयो। यसैमा चित्त बुझाउनुको विकल्प रहेन।
अमरत्व भनेको के हो ? यसलाई कसरी परिभाषित गर्ने ? भनी तपाईंले व्यक्त गरेको विचारले त्यत्तिकै छोइरहेकै छ चेतन दाइ। तपाईं भन्नुहुन्थ्यो, ‘कहिल्यै नमर्नु, सदा बाँचिरहनु त्यो अमरत्व होइन, आफ्नो सत्कर्मले आफ्नो क्रियाकलापले अरूको मनमष्तिष्कमा धेरै लामो समयसम्म बाँचिरहनु नै अमरत्व हो।’ यही विचार आज तपाईंमा लागू भएको छ। तपाईंको विचार सत्कर्मले सबैको मनमा घर बनाएको छ। कार्कीले जीवनमा धेरै काम गर्नुभयो। देहरादुनमा जीव विज्ञानमा स्नातक र हिन्दीमा स्नातकोत्तर गरिसकेपछि स्वदेशको मायाले नेपाल फर्किनुभयो उहाँ। रेडियो नेपालका समाचारवाचक शेखर मानन्धरको सहयोग लिएर काठमाडौंमा कसरी भविष्यको बाटो तय गर्ने भन्ने सोचमा अल्झिनुभएका उहाँलाई अवसर धेरै आए पनि अन्तमा माछाविज्ञका रूपमा जागिर मिल्यो।
बहुआयमिक व्यक्तित्व भएकाले सुरुमै उहाँले फुटबलमार्फत चमत्कार देखाउनुभयो। पुलिसको टिममा उहाँलाई आवद्ध गरेदेखि सधैं नेपाल प्रहरीको विजय भएकाले तत्काल उहाँलाई प्रहरीको तर्फबाट सधैं खेल्दै जाने र जागीर पनि प्रहरी मै दिने भन्ने मौखिक सहमति गरियो। उहाँ खेल्दै गएपछि हरेक ठाउँमा उहाँकै कारणले जित भएको प्रहरी हाइकमान्डमा समेत जानकारी पुग्यो। संस्मरण रहोस्, त्यतिबेला प्रहरीमा एकैचोटि डीएसपी पद पाउने व्यवस्था थियो। चेतन दाइलाई पनि सो पदको आश्वासन दिइएको थियो। अन्तमा आईजीपीबाट ऐले एकैचोटि डीएसपी नभई इन्स्पेक्टरमा नियुक्ति लिनु भनेपछि झुटो आश्वासन स्वीकार्य छैन भन्दै अस्वीकार गर्नुभयो। त्यसपछि उहाँको कुममा प्रहरीको फुली सजिन पाएन। शिक्षा मन्त्रालयअन्तर्गत आफ्नो योग्यताअनुसार मिल्ने एक पदका लागि तत्कालीन राजाको साला सुशील शम्शेरको सिफारिसमा शिक्षा सचिवले आश्वासन दिएता पनि अन्तमा तत्कालीन प्रधानमन्त्री तुलसी गिरिको सोर्समा अर्को मान्छेको अकाट्य गर्नै पर्ने हुँदा शिक्षा सचिव नै बिदा लिइबसेको र पछि भेटमा मैले यो कारणले गर्न सकिनँ भनी रामकहानी सुनाएपछि मेरो भागमै जागिर जुरेको छैन भनेर उहाँ भन्नुहुन्थ्यो।
तत्पश्चात् एक दिन शेखरले नै बोलाएर ल आज गोर्खापत्रमा एउटा विज्ञापन छ माछाविज्ञ (अधिकृत) त्यहाँ कोशिश गर भनेपछि त्यहाँ भने उहाँ सफल हुनुभयो। तर संवेदनशील मान्छे ! पछि पदोन्नतिमा आफूभन्दा जुनियर तत्कालीन कृषिमन्त्री राजेश्वर देवकोटाको मान्छे परेपछि माछाविज्ञबाट पनि २०२५ वैशाखमा राजीनामा दिनुभयो। अब के गर्ने ? केही त गर्नु पर्यो। जागीर खाउँ यस्तै फन्दामा परिन्छ, स्वतन्त्र काम गरौं के गरौं ? यत्तिकैमा परिवर्तन चलचित्रको आम्दानीले किनेको सेकेन्ड ह्यान्ड गाडीलाई ट्याक्सीको रूपमा परिवर्तन गरी चलाउनुभयो उहाँले। नहुनुभन्दा कानो मामा जाती भनेझैं भयो कार्कीलाई।
तत्पश्चात् सेन्ट मेरिजमा साइन्सको शिक्षक भएर काम गरे। त्यहाँबाट २०२९ सालतिर शाही नेपाल संस्थानमा गीतकार किरण खरेल, यादव खरेल, नीर शाहहरूको टिममा काम गर्नुभयो। आफूहरूले पाउने डीजीएमको ९ तहको पद फ्रिज गरी नीर शाहलाई आफूहरूभन्दा माथिको पदमा ल्याउने भएपछि उहाँले त्यहाँ पनि जागीर छोड्नुभयो। कामकै सिलसिलामा यादव खरेलसँग पनि विचारको मतभेद भइ एकै दापमा दुई खुकुरी रहन नसक्ने स्थिति भएको त्यो समयका जानकारहरू व्यक्त गर्दछन्।
आफू सक्षम र स्वाभीमानी भएपछि कहिलेकाँही विचारमा ठेस लाग्छ अनि यस्तो परिस्थितिको जन्म हुन्छ सायद। जो चेतन कार्कीमा पनि लागू भयो। मानिस चेतनशील प्राणी भएको हुँदा यस्तो सकारात्मक द्वन्द्व जीवनमा चलिरहन्छ। त्यसैले मलाई भन्ने गर्नुहुन्थ्यो– म यो मुलुकमा ६० वर्षदेखि आफ्नो अस्तित्व खोजिरहेको छु। फेरि अस्ति भर्खरै भन्नभयो कि– बाबू ! म तथा मेरो परिवारलाई नै नेपाल फापेन। कारण कान्छो छोराको हुँदै गरेको जर्नेल पद पनि खुस्किएको थियो। जेहोस्, जसो होस्, चेतन कार्की देशलाई चाहिने मान्छे हो तर देशले चिन्न सकेन। देशलाई उहाँले धेरै दिनुभयो तर देशले के दियो ? अन्योल छ। उहाँको विज्ञता, ज्ञान र विचारलाई बुझ्न र प्रयोग गर्न सकेन। यस्तै कारणले होला, आज देशको अवस्था पनि गम्भीर छ।
८३ वर्षको उमेरमा नि सधैं बिहान नुहाउने अनि पूजापाठ गर्ने, आफ्नो लुगा आफैं धुने, आफूलाई चाहिने समान आफैं किन्न जाने यस्ता सद्गुण प्रशस्त पाइन्थे उहाँमा। यो उमेरमा रक्तचाप, मधुमेह आदि कुनै रोग नभएको स्वस्थ्य मान्छे हो उहाँ। दबाइमा हिङ गोली र यदाकदा डिकोल्ड बाहेक खानु नपरेको बुढेसकालमा पनि निरोगी मान्छे उहाँलाई विश्वव्यापी महामारी कोरोना संक्रमणले चुँडेर लग्यो। भौतिक शरीर नभए पनि तपाईंका मनमुटुमा राज गरेका सृजनाहरू उकाली ओराली तराईका हरिया फाँटदेखि हिमालका भीरकन्दरा, गुफाहरूसम्म गुन्जायमान हुनेछन्। त्यतिबेला हामी सबै तपाईंको साथमा रहने छौं, झुल्ने छौं। अनि भुल्ने छौं सारा पिरव्यथा ! मात्र तपाईलाई आत्मसाथ गर्ने छौं। मेरो संगीत र स्वरमा वरिष्ठ लेखक, गीतकार तथा निर्देशक चेतन कार्कीको अन्तिम रेकर्डेड गीत उहाँलाई श्रद्धाञ्जलि अर्पण गर्दै :
मर्न दिँदैन माया बाँच्न समाज यो
सास्ती पर्यो नि कस्तो मलाई आज यो...।