तेन्जिङको त्यो पहिलो पाइलो
आज मे २९, २०२१। वर्षका हिसाबले सगरमाथा आरोहणको प्रयास आरम्भ भएको एक शताब्दी पूरा भएको छ। विख्यात एल्पिनिष्ट जर्ज हर्बर्ट लि. मेलोरी सम्मिलित टोलीले दार्जीलिङबाट ‘ब्रिटिस माउन्ट एभरेष्ट रिकोनोसेन्स एक्स्पेडिसन’मार्फत मे १८, १९२१ देखि सर्वप्रथम तिब्तत तर्फबाट सगरमाथा आरोहण अभियान आरम्भ गरेको थियो। मेलोरी पहिलोपटक सेप्टेम्बर २३ मा नर्थकोलको २३,०३० फिटसम्म पुगेका थिए।
सन् १९२२ मा जनरल चाल्र्स जी. ब्रुसको नेतृत्वमा ‘१९२२ ब्रिटिस माउन्ट एभरेष्ट एक्स्पेडिसन’ आरम्भ भएको थियो। जसमा मेलोरीले प्रस्ताव गरेको मार्गमा नै टोली अघि बढेको थियो। मे २२ मा मेलोरी उत्तरी किनारको २६,८०० फिटसम्म पुगेका थिए। यो उचाईमा मानव पहिलोपटक पुगेको थियो। यसैक्रममा नर्थकोल माथि हिमपहिरोमा परेर भरियाहरूको एक समूहका ७ जनाको मृत्यु भएपछि अन्तिम बेलामा उक्त आरोहण स्थगित गरिएको थियो।
ठुलो संख्यामा भएको मानवीय क्षति र आर्थिक अभावका कारण सन् १९२३ मा आरोहण स्थगित भएको थिो। अघिल्लो दुई वर्ष महिनौं हिमालयमा बिताएका मेलोरी अवसरको सदुपयोग गर्दै न्यूयोर्क पुग्छन्। १८ मार्च १९२३ को न्यूयोर्क टाइम्समा ‘क्लाइम्बिङ माउन्ट एभरेष्ट इज वर्क फर सुपरमेन’ शीर्षकमा उनको अन्तर्वार्ता प्रकाशित भयो।
मेलोरीलाई सोधिएको थियो– ‘तपाईं किन माउन्ट एभरेष्ट चढ्न चाहनुहुन्छ ?’
‘बिकज इट्स देअर’ मेलोरीले उत्तर दिएका थिए। यसलाई नेपालीमा आजसम्म ‘किनकि यो त्यहाँ छ’ भन्ने उल्थामात्र गरेर छाप्ने काम भयो, बृहत रूपमा अथ्र्याउने काम भएन।
उनको यो उत्तरमा :–
– एभरेष्ट बेलायतको खोज भएकाले बेलायतीले नै पहिला चढ्नुपर्छ भन्ने मान्यता,
– पर्वतारोहणमा विश्वका लागि एउटा उदाहरण बेलायतले नै स्थापित गर्नुपर्छ भन्ने चाहना र
– अघिल्ला दुई आरोहणका अनुभव संगालेकाले आफू शिखरमा पुगेरै छाड्ने मेलोरीको उच्च आत्मविश्वासको वर्णन पनि थियो।
सन् १९२४, ब्रिटिस माउन्ट एभरेष्ट एक्स्पेडिसन फेरि आफ्नो रफ्तारमा हुन्छ। सन् १९२१ देखि २४ सम्मका तीनवटै आरोहणमा निरन्तरता पाउने एकमात्र आरोहीका रूपमा मेलोरी अन्तिमपटक टोलीमा सम्मिलित भए। यसपटक आरोहण टोलीमा उनीसँगै थिए, अक्सिजनविज्ञ एन्ड्रयू इरवाइन। मेलोरी यसपटक जसरी पनि शिखरमा पुग्न चाहन्थे। तर किन ?
कल्पना गर्न सकिन्छ, संसारमा पहिलोपटक एभरेष्टको शिखरमा पाइला टेक्ने आरोहीमध्येको एक बन्ने अवसर कस्तो हुन्छ होला ? उचाईको त्यो हद जसका बारेमा आजसम्म कसैलाई थाहा छैन, त्यस्तोमा माथि उक्लँदै गरेका प्रत्येक अज्ञात पाइलाको रोमाञ्चकता कस्तो हुन्छ ? त्यो मेलोरीले अनुमान लगाइसकेका थिए। अघिल्ला दुई आरोहणबाटै चर्चाको शिखरमा पुगेका र तीनैवटा आरोहणमा सहभागी एकमात्र मेलोरी यो अवसरबाट वञ्चित हुनै चाहँदैन थिए।
तीनपटक आरोहणमा भाग लिइसकेका एकमात्र आरोही भएकाले पनि उनी आफू नै शिखरमा पुग्न चाहन्थे, विश्वकीर्तिमान रच्न चाहन्थे। अर्को पनि एउटा कारण थियो– तेस्रोपटकको आरोहणमा आउँदा मेलोरीले श्रीमती रुथलाई वचन दिएका थिए– उनको तस्वीर चुचुरोमा पु¥याउने। यी सब कारणले गर्दा मेलोरीको मन व्यवहारमा देखिएको असहज परिस्थिति स्वीकार्न तयार थिएन, उनको चाहना सबैतिर हावी बन्दै गइरहेको थियो।
समाचार महारानी एलिजाबेथ द्वितीयको राज्याभिषेकका दिन १९५३ जुन २ मा मात्र संसारभर सार्वजनिक गरियो। नेपालीले पनि त्यसपछि मात्र सगरमाथामा पाइला टेकेको कुरा थाहा पाए। आमनेपाली मात्र होइन, नेपालका राजालाई पनि जुन २ पछिमात्र अवगत गराइयो। नेपाल तर्फबाटै चढिएको नेपालको सगरमाथा आरोहणको समाचार बेलायत पुगेर त्यहाँ चार दिन बासी भइसकेपछि बल्ल नेपाल आएको थियो।
तर जुन ८, १९२४ को बिहान उनीहरूलाई शिखरतर्फ उक्लँदै गरेको उनीहरूका साथी नोल ओडेलले अन्तिमपटक देख्छन्। त्यसपछि उनीहरू र ओडेलको बीचमा अचानक आएको बादल हराएर जाँदा मेलोरी र इरवाइन पनि हराइसकेका हुन्छन्। २३ हजारका फिटको उचाईमा बसेर ओडेलले आफ्ना साथीहरूलाई कुर्छन् तर कुनै संकेत आउँदैन। जर्ज मेलोरी र एन्ड्रयू इरवाइनको निधन भएको निष्कर्षमा टोली पुग्छ।
त्यो आरोहण अभियानमा चारजनाको मृत्युपछि टोलीनेता कर्नल नोर्टन अरू जोखिम मोल्न तयार हुँदैनन्। मेलोरी र इरवाइनलाई गुमाउँदासम्म तीनपटकको आरोहण अभियानमा मर्नेहरूको संख्या १३ पुगिसकेको थियो। मेलोरी र इरवाइनको मृत्युको खबरले सारा बेलायत स्तब्ध भएको थियो। बेलायतले सार्वजनिक रूपमै शोक मनायो, स्वयं बेलायती राजाले आरोहीहरूका परिवारलाई समवेदना सन्देश पठाए।
तर करिब २९ वर्षपछि समय फेरिन्छ। बेलायतले खुसियाली मनाउनु पर्ने दुईवटा समाचार बने–
१९५३ मे २९ मा सगरमाथाको चुचुरोमा सर्वप्रथम तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारी पुग्न सफल भए। उक्त समाचार महारानी एलिजाबेथ द्वितीयको राज्याभिषेकका दिन १९५३ जुन २ मा मात्र संसारभर सार्वजनिक गरियो। नेपालीले पनि त्यसपछि मात्र सगरमाथामा पाइला टेकेको कुरा थाहा पाए। आमनेपाली मात्र होइन, नेपालका राजालाई पनि जुन २ पछिमात्र अवगत गराइयो। नेपाल तर्फबाटै चढिएको नेपालको सगरमाथा आरोहणको समाचार बेलायत पुगेर त्यहाँ चार दिन बासी भइसकेपछि बल्ल नेपाल आएको थियो।
जे होस्, आरोहीमध्येका एक नेपाली भएका हुनाले नेपालीजनमा खुसीयाली छाउनु स्वाभाविकै भयो। पछि तेन्जिङलाई भारतीय नागरिकता दिइयो जुन उनले स्वीकार गरे र आफ्नो करियर आरम्भ गरेको ठाउँ दार्जीलिङमा बसोबास गर्न थाले। तर थामे गाउँका यी रैथानेलाई कहिले पनि पराई ठानिएन। उनको सगरमाथा आरोहण समग्र नेपालीका लागि एउटा विजयोत्सव बनेको थियो। त्यतिबेलाको एकमात्र समाचारपत्र जो सातामा तीन दिन मात्र प्रकाशित हुुन्थ्यो अर्थात् ‘गोरखापत्र’ले त यस्तै भन्छ। २०१० साल जेठ २१ देखि असार २३ गतेसम्मका प्राय: हरेक गोरखापत्रमा ३४ भन्दा बढी समाचार सगरमाथाको पहिलो आरोहणकै विषयमा प्रकाशित भएका छन्। यसले उक्त विषयलाई नेपालका तर्फबाट एकदमै प्राथमिकता दिएको पुष्टि हुन्छ। तीमध्येका केही समाचार यस्ता थिए–
२०१० साल जेठ २१ गते, बुधबार– सगरमाथामा सर्वप्रथम मानवको पदार्पण, नेपाल प्रतापभाष्कर श्रीतेनसिंह (तेन्जिङ नभै उनलाई त्यतिबेला तेनसिंह नै लेखिएको छ) शेर्पा र श्रीहिल्यारी चुचुरोमा पुग्नुभयो। नेपाल विलायत र राष्ट्रसंघीय झन्डा फहराइयो। प्रकृतिमाथि मानवको विजय।
२०१० साल जेठ २१ गते, बुधबार– श्रीतेनसिंहको धर्मपत्नी तथा छोरीहरू आउने। नेपाल प्रतापवद्र्धक श्रीतेनसिंहकी धर्मपत्नी तथा छोरीहरू एकसाता भित्र दार्जीलिङबाट काठमाडौं आउने भएका छन्। उहाँहरू काठमाडौं बसुन्जेल नेपाल सरकारको पाहुनाको रूपमा रहनु हुनेछ। श्रीतेनसिंह सगरमाथा विजय गरी काठमाडौं आइपुग्नु हुँदा स्वागत गर्न श्रीमती तेनसिंह र उहाँकी छोरीहरू यहाँ आउदै हुनुहुन्छ।
२०१० जेठ २३ गते, शुक्रबार– नेपालको गौरव बढ्यो। साहसी श्रीतेनसिंह शेर्पाको सगरमाथा आरोहणले श्री ५ बाट प्रसन्नता व्यक्त गरिबक्स्यो। सरकारी र गैरसरकारी दलद्वारा स्वागतको तयारी।
– दुनियाँ भरको अग्लो चुली सगरमाथामा पुग्ने काममा सर्वप्रथम जुन नेपाली तेनसिंह शेर्पाले विजय प्राप्त गर्नु भयो, त्यो नेपालीका निम्ति विशेष गौरवको कुरा हो। उहाँको त्यो साहस र वीरताले नेपालीको नाउँमा एउटा चहकिलो शान लगाउनुका साथै विश्वको इतिहासमा सुनौलो परिच्छेदसमेत थपेको छ। श्रीतेनसिंहको साथमा मि. हिलारी भन्ने एकजना न्यूजील्यान्डका सज्जन पनि त्यस टाकुरामा पुग्नु भएको खबर छ। शेर्पाजी यस प्रयत्नमा धेरै दिनदेखि हुनुहुन्थ्यो। त्यस टाकुरोमा चढ्ना निमित्त उपयोगी साधन अरूहरूबाट उपलब्ध भए पनि विशाल र भयानक हिमपर्वतसित कुस्ती खेल्दै ज्यानलाई हत्केलामा राखेर पटकैपिच्छे अगुवा हुने श्रीशेर्पाजीलाई नै यस काममा वर्ता श्रेय मिल्दछ। उहाँको झर्झराउँदो उत्साह नै यस कामको बलिष्ठ र प्रमुख साधन हो।
२०१० असार ९ गते सोमबार– असार ८ ब्रिटिस राजदूतले नेपाल सरकारलाई पठाएको एउटा सन्देशमा भनिएको छ कि सगरमाथाको विजय कुनै एक वा तीन व्यक्तिको प्रयासले मात्र भएको हैन। दलका सबै सदस्यहरूको अभूतपूर्व उत्साह र लगनले मात्र भएको हो। सगरमाथाको विजय एउटा निस्वार्थ, आश्चर्यजनक र सामूहिक प्रयत्नले मात्र परिपूर्ण भएको हो। यसमा हामी मानव जातिले यस उत्सव र विजयको पूरापूरा खुशी सदा अनुभव गर्नुपर्छ भनी सर जोन हण्टले भन्नुभएको छ।
२०१० असार ११ गते बुधबार– असार १०, वीर तेन्जिंगलाई दश हजार पुरस्कार श्री ५ जेठा बडामहारानीबाट प्रदान गरिबक्स्यो, अरूलाई कलात्मक बट्टा, नेपाल सरकारका तर्फबाट सम्मानमा पार्टी।
२०१० असार ७ गते काठमाडौं आएपछि उनीहरूको भव्य स्वागत हुन्छ, यसअघिसम्म तेनसिंह लेख्दै आएको गोरखापत्रले असार ९ गते पछिमात्र तेनसिंहलाई तेन्जिंग लेख्न थाल्यो। वास्तवमा सगरमाथामाथिको यो ऐतिहासिक विजयमा त्यतिबेलाको नेपाली समाज निकै पुलकित भयो।
यतिसम्म पुलकित भयो कि तेन्जिङको सम्मानमा सगरमाथाको नाम तेन्जिङ टाकुरा राख्नेदेखि लिएर उनीहरूले सगरमाथाको सफल आरोहण गरेको दिन जेठ १६ गतेका दिनलाई राष्ट्रिय पर्व मान्दै सार्वजनिक विदासमेत घोषणा गर्न माग गरियो। यतिसम्मको सम्मान माग गर्नुपछाडि सायद अरू कुनै कारण पो थियो कि ? एकैछिन यो प्रसंगलाई यहिँ थाँती राखाैँ।
मे ९, १९८६– सगरमाथा आरोहणको ३३ वर्षपछि तेन्जिङ नोर्गे शेर्पाको निधन हुन्छ।
मे २९, १९९८– सगरमाथा आरोहणको ४५ वर्षपछि सर एडमन्ड हिलारीद्वारा लिखित पुस्तक ‘भ्यू फ्रम द समिट’ प्रकाशित हुन्छ।
पेज नं. २९ र ३० (भ्यू फ्रम द समिट) बाट– ‘केही पर मैले तिब्बतको उजाड पठार देख्न सक्थें। मैले आफ्नो दाहिनेतिर हेरें, त्यता हिउँले बनेको वृत्ताकार गुम्बदजस्तो आकार देख्न सक्थें। त्यो अवश्य पनि चुचुरो थियो। तेन्जिङले डोरी अलि खुकुलो बनाउँदा हामी दुई केही नजिकियौं। मैले माथि चढ्ने खुडकिला बनाउने काम जारी नै राखें। अर्को क्षणमै म हिउँ भएको केही समतल (फराकिलो) ठाउँमा उभिन पुगें। त्यहाँ चारैतिर खाली खुलापन थियोे। छिटै तेन्जिङ म भएको ठाउँमा आइपुगे र हामीले वरपरका अदभूत दृश्य हे¥यौं। हामी दुवै हर्ष विभोर थियौं, हामीलाई थाहा भयो कि हामी संसारको उच्चतम विन्दुमा पुगेका थियौं।’
अर्को क्षणमै म हिउँ भएको केही समतल ठाउँमा उभिन पुगें, त्यहाँ चारैतिर खाली खुलापन थियोे’, हिलारीको यो लेखाइको आशय उनी पहिले शिखरमा पुगेकोजस्तो लाग्छ। अब एकपटक फेरि यो पुस्तक प्रकाशित हुनुभन्दा ४५ वर्षअघिको गोरखापत्रको दुईवटा समाचार नजर लगाऔं, जुन केही फरक तर विशेष छन् :
२०१० जेठ २३ गते सोमबार– पहिले माथि पुग्ने श्रीतेनसिंह शेर्पाले हिल्यारीलाई उकाल्नुभयो – काठमाडौं ज्येष्ठ २४ गते। पर्वतारोहीहरूको प्रथम शिविरबाट प्राप्त एउटा सूचनामा भनिएको छ कि नेपाल प्रतापवद्र्धक श्रीतेनसिंह शेर्पा दलका अरू मानिसहरूभन्दा कैयौं घण्टा पहिले नै भीषण हिमपातलाई सहँदै सगरमाथाको अन्तिम भागमा पुगिसक्नु भएको थियो। श्रीहिल्यारी उहाँभन्दा कैयौं सय फिट पछि हुनुहुन्थ्यो। कयौं घण्टा पछि श्रीतेनसिंहले उहाँलाई डोरीद्वारा माथि तान्नुभयो र तब कहीँ हिल्यारी उहाँ भए ठाउँमा पुग्न समर्थ हुनुभयो भन्ने हिन्द समाचार समितिको भनाइ छ।
२०१० असार १३ गते शुक्रबार– असार ७ दोलालघाट। एभरेष्ट विजेता श्रीतेनजिंग शेर्पाले सबभन्दा पहिले त्यस टाकुरामा पयर राख्नु भयो। उहाँले भन्नु भयो कि म एडमन्ड हिलारीभन्दा केही पाइला अगि थिएँ र टाकुरामा पहिले नै पुगेँ। तर हामी दुवैले सँगसँगै चढाई संयुक्त रूपबाट प्रयत्न गरेका हौ। त्यसैले हामी दुवैले सँगसँगै विजय प्राप्त गरेको हो।
यी दुई समाचार जति बेला छापिए, दोलालघाटबाट काठमाडौं आइसकेपछि शिखरमा पहिले को पुगेको भन्ने विषयमा तेन्जिङले फेरि कहिले पनि मुख खोलेनन्। नेपाली छापाहरूले पनि पछि यसबारेमा खोजी गर्ने जाँगर चलाएको देखिएन। तेन्जिङ बितेर गइसकेका थिए, उनी बितेपछि हिलारीको पुस्तक प्रकाशित भयो, जुन संसारभर पुगेको छ, सबैले त्यही पढ्ने भए। २०१० जेठ २३ गते सोमबारको र २०१० असार १३ गते शुक्रबारको गोरखापत्र संसारभर पुग्ने कुरा पनि भएन। त्यसैलै सत्य केही फरक हुन सक्थ्यो कि भन्ने गुञ्जायस पनि रहने कुरा भएन।
वास्तवमा शिखरमा कसले पहिला पाइला राख्यो भन्ने बारेमा जब दुई जनाको भनाइ फरक हुन सक्ने तथ्य फेला परिसकेपछि किन यस बारेमा कलम नचलाउने ? भनेर यो प्रयास गरिएको हो। काश गोरखापत्रका यी समाचारहरू सगरमाथा आरोहणको ५०औं वार्षिकोत्सव मनाउन सन् २००३ मा हिलारी नेपाल आउनुअघि नै फेला पार्न सकेको भए अवश्य पनि उनीसँग यी समाचारहरू देखाएर मेरा केही जिज्ञासा राख्ने थिएँ होला।