तायमचाको रमझम
पर्यटकीय आकर्षणको सहर पोखराका लागि पर्यटन वर्षको लफडा चाहिँदैन। बाह«ै महिना पर्यटन मौसम हुन्छ, खासगरी फागुन, चैत, वैशाख त झन् उत्तम। अन्नपूर्ण हिमाल श्रृंखलालाई नजिकबाट नियाल्न होस्, फेवातालमा बोटिङ गर्न होस् अथवा नजिकैको पहाडी पगडन्डीमा ट्रेकिङ गर्न, पोखरा सधैं लोभ्याइरहन्छ। हामी पनि फागुन २१ गते शनिवार त्यस्तै लोभमा फस्यौं र त्यसको भरपूर आनन्द पनि उठायौं। शनिबार पोखराका मुख्य बजारका अधिकांश ठूला पसलहरू बन्द थिए।
किनमेलको गुन्जायस थिएन तर जुन लोभले हामीलाई तान्यो त्यो थियो, फेवामा बोटिङ गरी बाराही मन्दिरसम्म जाने। ड्राइभर केशव भाइले शनिबार गाडी फिसटेल लजभन्दा अगाडि जान दिँदैन भनेपछि हामी त्यही होटलकै वारीको घाटबाट बाराही मन्दिरसम्मको यात्रा गर्यांै। यस अगाडि पनि मैले यात्रा गरेको थिएँ तर त्यो सानो थियो। लेकसाइडबाट बाराहीको पाँच सात मिनेटको मात्र तर यो बीस पच्चीस मिनटको लामो बोटिङले नयाँ अनुभूति दिएको थियो।
शनिबारको रमाइलो लेक साइडमा नै हुँदोरहेछ। हामीले अनुभव गर्यौं। पस्मिना र याक उनीका सल, सुती कपडा, पुस्तकहरू गिफ्ट पसलहरू, थाङ्का चित्रहरू र मिथिला लोकचित्रहरू। हो, मिथिला लोकचित्रका उपयोगी वस्तुहरू पसलहरूमा देख्दा मलाई खुसी लाग्यो।
हाम्रो बोटचालकलाई म प्रश्न गर्दछु– मोटरबोट किन सञ्चालनमा छैन ? उनी अलि उत्तेजित हुँदै भन्छन्– त्यो चल्यो भने सयौं परिवारको उठीबास हुन्छ। त्यसैले चलाउन दिइएको छैन। कुरा सत्य हो, रोजीरोटीको कुरो जो छ। तर मोटरबोट चल्दा खतरा कम हुन्थ्यो र आनन्द पनि सम्भवतः बढ्ता लिन सकिन्थ्यो कि ? हामी ६ बजे साँझ बाराही मन्दिर क्षेत्रमा पुग्यौं। भीड थियो। दर्शन र फोटोको बेग्लै रमझम थियो। म दृश्यहरूलाई क्यामेरामा साँच्न लागि परेको थिएँ भने सहयात्री संस्कृतिविद् डा. चूडामणि बन्धु र प्राज्ञ डा. संजीता बर्मा दर्शन पूजामा लागिरहनु भएको थियो।
बाराही मन्दिरको दक्षिणी पहाडीमा बसोबास गर्नेहरूको दैनिकी बारेमा सोच्यौं। नाउबाट नियमित आउने जाने बाध्यता र खतरालाई पनि गुन्यौं। यसरी मनभरी कुरा खेलाउँदै प्राकृतिक सौन्दर्यको सुखानुभूतिलाई आत्मसात गर्दै लेकसाइड घाटतर्फ बोटलाई बढायौं। शनिबार थियो, बाटोघाटो पैदलै हिँड्दै दृश्यवलोकन गर्दै जाने हाम्रो निर्णयले फेरि त्यही फिसटेल घाटनिर फर्कनु पर्ने कार्यक्रम स्थगित गरी तीन सय पाँच रुपैयाँ बोटचालकलाई दिई फर्कायौं।
अब हामी चोकमा छौं– कता जाने ? डा. बन्धु अलि मासतिर जाउँ न त भन्ने सुझाउ दिनुहुन्छ। त्यसपछि हामी पश्चिमतिर लाग्यौं। सवारीसाधन सर्वथा बन्द थियो, त्यसैले बाटोमा छेउछाउका होटल रेष्टुरेन्ट वालाहरूको पूरै कब्जा थियो। सडकमा गीतहरूको चर्को ध्वनि र मासुको परिकारसँगै रम, हिस्की, स्कोच, वाइन र वियरको चुस्की। बाटोमा सजाएर राखिएका कुर्सी टेबुलमा विदेशीहरूको चकचकी बढी देखियो।
शनिबारको रमाइलो लेक साइडमा नै हुँदोरहेछ। हामीले अनुभव गर्यौं। पस्मिना र याक उनीका सल, सुती कपडा, पुस्तकहरू गिफ्ट पसलहरू, थाङ्का चित्रहरू र मिथिला लोकचित्रहरू। हो, मिथिला लोकचित्रका उपयोगी वस्तुहरू पसलहरूमा देख्दा मलाई खुसी लाग्यो। पर्यटकीय बजारमा ऊ विदेशी लोभ्याउने कला त पक्कै रहेछ। तर काठमाडौंमा केही तथाकथित मिथिलाकलाका अनुसन्धाता भनी प्रस्तुत हुनेहरू यसको गलत व्याख्या गरिरहेका छन्।
मिथिलाको मौलिक चित्रकारीमा व्यावसायिक फ्यूजन राखेर अन्तर्राष्ट्रिय बजारमा विद्रुप प्रस्तुति गर्दैछन् र समीक्षकहरूबाट प्रशंसा पनि बटुल्दैछन्। मिथिला चित्रकलाको अन्तर्राष्ट्रियकरणको थलो मधुवनी (विहार) बाट यो कला पूरै विश्वमा स्थापित भइसकेको छ तर आफ्नो मौलिक स्वरूपकै बलमा। त्यसमा नेपाल जस्तो पैसाको लोभमा व्यावसायिक विकृति ल्याउने काम कुनै कलाकारले गरेनन्। कतै मादलको स्वरमा त कतै सारंगीको धुनमा मस्ती मनाउँदै युवाहरूको टोली पनि यस फेस्टिभल इभेन्टमा सामेल थिए। होटलहरूमा दोहरी गीतहरूको स्वर लहरी परैसम्म सुनिन्थ्यो।
त्यत्तिकैमा हामी एउटा नाच टोलीलाई भेट्छौं। सडकमा नाच्दै पश्चिमतिर बढ्दै गइरहेको थियो त्यो टोली। चार पाँचजना केटी काँधभन्दा मुनि पछाडि पट्टि चराको पखेटाको आकृति लगाएर नाचिरहेकी थिइन् भने दुईजना भाइ जोकरको आकृतिमा तिनीहरूलाई साथ दिइरहेका थिए। पछाडिबाट चार पाँचजना केटी नेवारी पहिरनमा खिड, झ्याली, दुस्या, ढोलकी लगायतका बाजा बजाउँदै सँगसँगै हिँडिरहेकी थिइन्।
एकजना नाइके जस्तो देखिने व्यक्तिले टोलीलाई हातले इशारा गरी त्यही नाचन भन्यो। ल भव्य नृत्य सुरु भयो। केहीबेरपछि टोली अगाडि बढ्यो। मैले नाइके जस्तो देखिने व्यक्तिलाई अड्काउँदै भनें– यो कुन नाच हो ? उसको उत्तर थियो– यो तायमचा नाच हो। नेवारहरूले मर्ने घरमा मृत्युसंस्कार पछि जनै पूर्णिमाको गाईजात्राका दिन यसरी नै नृत्य गर्दै जान्छौं।
म जिज्ञासा राख्दछु– अहिले किन ? अहिले फेस्टिभल भएकाले निकालेको। तत्कालीन पोखरा उपमहानगरपालिका वडा नं. १० रामनगरका समरबहादुर श्रेष्ठ नामका ती नाइके हामीलाई प्रष्टयाउँछन्। उनी तायमचा नाच व्यवस्थापन समितिका अध्यक्ष पनि थिए। तायको अर्थ लिंगो भएको उनी अथ्र्याउँछन्। तर पोखराकै संस्कृति क्षेत्रमा सक्रिय डा. कुशमाकर न्यौपाने तायको अर्थ नेवारीमा वृद्ध र मचाको बच्चा हुने गरेको २०७६ फागुन २० गते भएको पोखराको सांस्कृतिक गोष्ठीका लागि लेख्नु भएको थियो।
काठमाडौंमा गाईजात्रामा निकालिने नाच र पोखराको यस नाचमा केही अन्तर छ। त्यहाँ गाईको अनुहार बनाएर नाचिन्छ, यहाँ परीको भेषभूषामा। गाईजात्राको कथा प्रचलित नै छ– काठमाडौंका राजा प्रताप मल्लका छोरा चक्रवर्तिन्द्र मल्लको असामयिक निधन भएपछि रानी शोकाकुल भइन्। यस्तो शोक सबैको घरमा पर्न सक्ने भनी बोध गराउन राजाले त्यस वर्ष बितेर जाने मृतकहरूको घरबाट एउटा गाई सिँगारेर निकाल्नु पर्ने घोषणा गरे। त्यसै अनुसार थुप्रै घरबाट निस्केपछि रानीले यो सबै कहाँ हुँदोरहेछ भनी हेरेपछि चित्त बुझाएकी थिइन्। त्यसैबेलादेखि गाईजात्रा र तायमचा नाच सुरु भएको भनिन्छ।
नर्तकीहरू घाधर, दोपट्टा, घाँटीमा हार, रंगविरंगी माला शिरमा मुकुट र पिठ्यँुमा चराको प्वाँखजस्तो आकृति...। सुखद् अनुपम र आकर्षक दृश्य उपस्थित हुन्छ पोखराको कोलाहलले भरिएको सडकमा। यहाँ कतै पनि सरकारी औपचारिकता थिएन। सबै सहज थियो। पोखरावासी पर्यटनको आनन्द आफ्नै तरिकाले मनाइरहेका थिए। पर्यटन संस्कृतिको अद्भूत प्रयोगभूमि पोखरालाई सरकारी आडम्बर चाहिएको छैन पनि। कति सहज कति रमाइला कति प्रिय छन् पोखराका यी वासीहरू। डा. बन्धुसँग मेरो भलाकुसारी हुने गर्दछ– पोखरावासी साँच्चिकै पर्यटनमा खान्छन्, पर्यटनमा नै सुत्छन् र पर्यटनमै रमाउँछन्। जीवनचर्या नै पर्यटनमा समर्पण गरेका छन्।
आठ बज्न लागिसकेको छ। ठाउँ छोड्न मन त हुँदैन तर फिसटेल घाट क्षेत्रमा गाडी पार्क गरी बसेका भाइ केशवको फोन आइसकेकाले होटलतिर जाने मन बनाउन थाल्दछौं। ड्याम साइडको होटल केसीको कौसीमा उभिएर बिहान ७ बजे उत्तरतिर देखिने सफा, स्वच्छ अन्नपूर्ण हिमाल श्रृंखला र त्यसमा निकै चर्चित माछापुच्छ्रेको दृश्यावलोकनको जुन आनन्द आउने गर्दछ, धरतीमा रहेको यस सडक उत्सवको आनन्द पनि त्यसभन्दा कम मैले महसुस गरेको छुइनँ।
हो, हामी निर्णय लिन्छौं– एकचोटी फेरि यही आनन्द प्राप्तिका लागि आउँछौं र पटक–पटक आइ नै रहने छौं। यही विशेषता हो, यस पर्यटननगरी पोखराको।