पाँच घाममा हाम्रा पाइला !
हातमा तोक्मा, थाप्लोमा नाम्लो, काँधमा खक्कन, शरीरभरि पसिनै पसिना, ढाकरभरि साहूको भारी, मनभरि पीडा र वेदना...। कस्तो विडम्बना ! ‘एक बीसै सात बर्ख भयो सर नानी ! चताराबाट साहूको भारी खेपेको’ तोक्मा टेकाएर, थाप्लाको नाम्लो झार्दै आँखीभौंको पसिना दाहिने हातको बुढीऔंलाले पुछ्दै उनले भने। पहिलोपटक काठमाडौंबाट भोजपुरको एउटा गाउँ रानीबासको घोरेटार जाँदै थिएँ। मेरा लागि त्यो ठाउँ नितान्त नवीन थियो। साथीको पर्खाइमा थिएँ किनकि बाटो निकै लामो, विकट अनि नयाँ पनि। साथमा तीनवटा झोलाले यात्रामा निकै अप्ठ्यारो पारिरहेका थिए। आखिर उनी नै मेरा साथी भए– गणेश राई। उनले मलाई ‘सर नानी’ भनेर सम्बोधन गर्थे, मलाई त्यो साइनो प्यारो लाग्थ्यो।
सम्पन्न मानिस पनि धेरै सम्पन्न तहका सम्म छन् यहाँ। यथार्थ जे भए पनि नेपाललाई गरिबको देश पनि भन्ने गरिएको छ। जो जे भए पनि सबैले यहाँ संघर्ष गर्नु परेको छ, खान नपाउनेले खानका लागि, खान पाउनेले कमाउनका लागि अनि कमाउनेले धन थुपार्नका लागि, ऐस आराम गर्नका लागि ! सधैं सत्य र असत्यका बीच, सानो र ठूलोका बीच अनि गरिब र धनीका बीच बेमेल छ। सधैं सत्यलाई असत्यले, सानालाई ठूलाले र गरिबलाई धनीले दबाइरहेका छन्। धर्म गरेर पुण्य कमाउने समय सत्ययुगसँगै अन्तध्र्यान भइसकेको छ। अब यो कलियुगमा धर्म गरेर पुण्य कमाउन खोज्नेलाई असल, बुद्धिमान् भन्न खोज्नु ठूलो मूर्खतापूर्ण काम हुन जान्छ। एउटा उखान नै बनाउन सकिन्छ, ‘पाप गरे पुण्य, धर्म गरे शून्य’ भनेर। सेवा, धर्म आदि पनि निश्चित मूल्यमा किनबेच भइरहेको पाइन्छ।
२०५८ साल। कृषि विकास बैंकमा नयाँ नियुक्ति लिई पदस्थापन भएको कार्यालयतर्फ जान त्यसतर्फ हुइँकिँदै थिएँ, उनीसँग भेट भयो। त्यसबखत सुखको अनुभूति गर्न पाएँ। उनका अनुसार उनले भारी बोकेर आफ्ना सम्पूर्ण आवश्यकता परिपूर्ति गरेको २७ वर्ष भएछ। ६, ७ वर्षको उमेरदेखि पुख्र्यौली पेशामा बाबुको पछि लागेर आवद्ध भएका उनले त्यही पेशाले ४ छोरा, ४ छोरी, श्रीमती गरी १० जनाको पेट पाल्नु परेको रहेछ। ‘अरू छोराछोरी चाहिँ के गर्छन् नि दाइ ?’ नुनिलो पसिना पुछेर भने, ‘खै के भनौं सर नानी ! ठूलो चाहिँ पुलिस हुन्छु भनेर गा’को, पश्चिमतिर खटाइदिएछ, के गर्नु आफ्नो मान्छे ठूलो नभएपछि...!’ ‘अनि...’ मैले सोधें।
‘अनि त के हुनु नि ! माउवादीसँगको लडाइँमा ऊ त...!’ उनको कुरो बुझें। केवल उनीप्रति सहानुभूति जाग्यो, मात्र सहानुभूति। आज उनी देशका लागि ज्यान दिने एक वीरका पिता भएछन्। त्यति मै मात्र त चित्त बुझाउनु पथ्र्यो नि ! ‘अनि अरु ?’ माइलो र साइलो छोरा, जेठी र माइली छोरी र उनेरकी आमा मजस्तै भारी बोक्छन्। साइँली छोरी तपाईंजस्तै सरको घरमा काम गर्न बसेकी छे। कान्छा र कान्छी सानै छन्। कहिले घरमा खेलेर बस्छन् कहिले यसो गाउँमा खोजी खान डुल्छन्। उनले एकै सासमा भने। सायद उनीप्रति जागेको दया कुनै भौतिक वस्तु भए कत्रो रासमा उपस्थित हुन्थ्यो होला तर म एउटा सामान्य जागिरेले के नै गर्न सक्थें र त्यत्रा परिवारका लागि दयाबाहेक !
‘सर नानी, म त बूढो भइसकें, फेरि ७५ किलाको भारी पनि छ, छिटो हिँड्न सक्दिनँ, तपाईंलाई हतार भयो भने अगाडि जानुस्’, भरिया दाइले भने। ‘हैन दाइ ! केही हतार छैन, तपाईंसँगै जान्छु, बाटो पनि देखेको छैन। फेरि तपाईं त मेरो एक असल साथी बन्नुभयो, त्यसैले छोडेर कसरी जानु ?’ भनें। ‘तपाईं सर नानी त असल हुनुहँुदो रहेछ। तपाईंजस्ता अरू सरहरू त हामीसँग कहाँ यति राम्रो बोल्छन् र ! यादै नगरी पो हिँड्छन्’, उनी भन्दै हिँड्दै थिए। ‘जो पहिला दुःख गरेर आएको हुन्छ, त्यसले दुःख के हो भनेर बुझ्छ र उसले दुःखीलाई पनि चिन्छ तर जसले पहिला दुःखै नगरी आएको हुन्छ नि उसले न त दुःखलाई चिन्छ न त दुःखीलाई’ सहृदयी भावमा भनें।
कोशीको तीर, साउनको दिन। कसैको घर त के एउटा पाटी पनि थिएन त्यहाँ। न त पानी खाने सुविधा नै थियो न त शितल चौतारी नै। जहाँ शान्तिका साथ बस्न पाइयोस्। नजिकैबाट कोशी नदीमा असंख्य पानीको बहाब एकअर्कामा को पहिला समुद्रमा पुग्ने भनी तँछाड मछाड गर्दै बगिरहेको थियो। यद्यपि म भने पानी पिउनबाट वञ्चित थिएँ। बाटोको दायाँबायाँ प्रशस्त ससाना बोटविरुवादेखि ठूल्ठूला रुखका जंगलहरू पनि थिए तर मलाई शितलता प्रदान गर्ने कुनै वृक्ष थिएन त्यहाँ। यत्तिकैमा तोक्मा टेकाउँदै दाइले भने, ‘आज त आकाशमा पनि पाँचवटा घाम लागेका छन् कि क्या हो ? यत्ति गर्मी त भएकै थिएन।’ सायद पोहोर परारको गर्मी दाइले बिर्सेको हुन सक्छ। उनकै कुरामा सहमति जनाएँ किनकि त्यो यात्रा मरुभूमिमा हिँडेझैं थियो। हो, हावा पनि तातो चल्दै थियो।
बाटोको दायाँबायाँ प्रशस्त ससाना बोटविरुवादेखि ठूल्ठूला रुखका जंगलहरू पनि थिए तर मलाई शितलता प्रदान गर्ने कुनै वृक्ष थिएन त्यहाँ। यत्तिाकैमा तोक्मा टेकाउँदै गणेश दाइले भने, ‘आज त आकाशमा पनि पाँचवटा घाम लागेका छन् कि क्या हो ?’
गफ गर्दै हिँड्दा समय बितेको पत्तै भएन। हामी त बास बस्ने ठाउँमा पो आइपुगेछौं। दाइ त सधैं हिँडिराखेको बाटो थियो तर मेरा लागि त्यहाँ अब दाइबाहेक कोही पनि थिएनन् चिनेका न त ठाउँ नै थियो परिचित। एउटा सानो दोकान रहेको बाटोकै छेउको घरको पिँढीमा दाइले ढाकर बिसाए र दुई जनाका लागि बास मागे। सधैं हिँडिरहने भएका कारण होला सायद दाइको एक डाकमै बास मिल्यो। साउने संक्रान्तिको दिन, सबैका घरमा चाडबाडको चाँजोपाँजो मिलाउन तल्लीन थिए सबैजन। गोजीमा पैसा भएर के गर्ने ? किनेर खाने ठाउँ पनि नपाएपछि ! दिनभरिको हिँडाइ, पेटमा भोक अनि थकित शरीरलाई बिसाउने ठाउँ दाइले खोजेपछि शान्तिको श्वास फेरें। त्यो घर जहाँ हामी बास बसेका थियौं त्यहाँ संक्रान्ति मनाउन एक किलो मासु ल्याएको रहेछ।
बल्ल बल्ल आएको चाडबाड ! घरभरि भएका केटाकेटीले मासु खान पाउने दिन ! दाइको अपेक्षित हेराइ ! सीमित मासु, केटाकेटीको चाडबाड। म किंकर्तव्यविमूढ भएँ। दाइका लागि भए पनि एक प्लेट मागिदिउँ जस्तो लागे पनि सकिनँ। तर दोकानदार दाइले कुरा बुझेर होला सायद संक्रान्तिको दिन मासु त खानैपर्ने तर थोरै पो पाइयो थोरैथोरै भए पनि खाउँ भनेर आधा आधा प्लेट हामीलाई पनि दिए।
आहा ! गणेश दाइको मुहारमा कस्तो चहक ! गलेर पेदु भएका बेलामा मासु खान भेट्दाको आनन्द। जसोतसो खाना सिध्याई भुइँमा गुन्द्रीमाथि तन्ना ओछ्याइएको बिस्तारामा सुत्न गयौं। सुत्ने तरखर गर्दा गर्दै दोकानदार दाइ लजिङ र फुडिङको पैसा लिन आइपुगे। दाइको खर्च सबै तिरें। नयाँ जागिरको जोश पो थियो कि ? यसपछि त दाइ यति खुसी भए नि जसलाई तौलन सक्ने भए त्यो खुसीको अर्कोतिर जतिसुकै ठूलो वजन राखे पनि हलुकै हुन्थ्यो होला सायद। यसरी त्यो रातमा केही उडुस, उपियाँ र लामखुट्टेलाई रक्तदान गर्दै निदाइयो।
भोलिपल्ट दाइले उठेर सुर्ती खाइसक्दा पनि बिउँझेको थिइनँ। सुर्ती खाइसकेर ढाकर मिलाइसकेर, ‘सर नानी, सर नानी’ भनेपछि मात्र बिउँझिएँ। बिहानभरि हिँडेपछि मेरो गन्तव्य स्थान आइपुग्यो। दाइलाई विदाई गर्ने विचार गरें। चिया खान भनेर १५० दिएँ, खुसी भए। उनी पर पुगे, अझै पर पुगे, अनि तोक्मा टेकाएर फर्किएर मलाई हेरे।