शून्यतामा राष्ट्र चित्र
परिवारको त कुरै भएन, ईश्वरका लागि पनि उहाँको खाँचो परेछ। तब न बुबालाई सय वर्षको पूर्ण आयु दिएर अहिले टपक्क टिपेर लग्यो। बुबाले ती आकाश गंगा हुन् भनेको सम्झन्छु।
समय आफ्नै गतिमा बगिरहेछ, दिनहरू बितिरहेछन्। दिन गन्दागन्दै बुबाको स्वर्गवास भएको पनि महिना धेरै नै बितिसकेछ। यिनै कुराहरू मनमा खेलाउँदै एक्लै टोलाइरहँदा मनमा विभिन्न कल्पना आइरहे।
बिहानैदेखि आकाशको निलोपनको सुन्दरतालाई काला र खैरा बादलले ढाकेका छन्। साँझको गोधुलीको बेला सूर्यको रक्तिम आभा पनि यिनै काला बादलसितै लुकिछिपी गर्दै थिए। अनौठो लाग्छ कि प्रकृतिमा एकाग्र भएर हेरिरहँदा, आफ्नो मनले कल्पना गरेका कुराहरू त्यहाँ चित्रित हुँदै जान्छन् । वास्तवमा प्रकृतिको विविधता र ईश्वरको रचना जति हेरे पनि, त्यति नै विष्मयकारी लाग्छन्। त्यसरी नै मैले क्षितिजमा व्याप्त त्यो रक्तिम आभालाई एकनासले हेरिरहें।
बादलभित्र छायाँ देखिन थाले। जसलाई बिस्तारै मानव आकृतिमा बदलें। त्यसमा बिस्तारै शरीर चल्मलायो, आँखा अपलक रूपमा हेरिरहें। मनरुपी आँखाले हेर्दै जाँदा हात पाखुरा पनि चलाएमान देखिए, केही चिजलाई समाउन खोजेझैं। मैले बिस्तारै त्यो आकृतिमा प्राण राख्न खोजें। हुन त मेरो र त्यो आकृतिबीच धेरै टाढाको अन्तर थियो तर त्यो आँखामा मात्र। मन त मेरो त्यो आकृतिमा नै थियो। हुन पनि त्यो मेरो मनले कोरेको रेखा चित्र न थियो। म निर्निमेष रूपमा त्यही आकृतिलाई हेर्दै थिएँं। तर निष्ठुरी बादलले त्यो मेरो छायाँ चित्रलाई अन्तै कतै लगिदियो। मैले त केवल त्यसमा प्राण राख्न बाँकी थियो। आखिर कल्पनाको परिदृश्यलाई बिस्तारै मोडें।
विचारको सागरमा डुब्दा डुब्दै साँझ झमक्क परिसकेछ। सोचें, अब केहीछिन पछि रात पर्छ। रात ओहो ! कति नीरब र अत्यास लाग्दो हुन्छ रात। रमाइला दिनमा रात अत्यासलाग्दा हुँदैनन्। तर दुःखको बेलामा रातै नपरोस् जस्तो लाग्छ। दिनमा त शुभेच्छुकहरूको आवतजावतले शून्यपनमा केही राहत हुन्छ। भनाइ नै छ कि बाहिरी दुनियाँलाई हेर्नुपर्छ, वेदना कम हुन्छ। दिन बित्दै जाँदा शून्यपन कम त हुन्छ, तर त्यो खिल बनेर बस्छ। अब त बुबासँग बिताएका अनमोल क्षणहरू सम्झेर बस्ने हो। पिताले ‘गौरी’ काव्यमा लेख्नुभएकै छ–
छैनन् आज उनी म रुन्छु, नहुँला भोलि म मेरा रुनन्
पृथ्वी मर्दछ पर्सी यो, पिलपिले ताराहरू यी रुनन्
सारा निष्ठुर नाशको पछि यहाँ आएर को रुन्छ हे
नाशैलाई छ सिर्जना यदि भने रोएर के हुन्छ हे ?
कहिले सोच्छु, जति रोए पनि नसकिने यो आँसुको मुहान् कहाँ छ होला ? यही सोचाइको रन्कोमा रुमलिँदै बाल्यकालदेखि आजसम्म आइपुग्छु। बुबासँग बिताएका क्षणहरू उद्घाटित हँुदै जान्छन्। पितालाई वात्सल्यका धनी मान्छु। दस एघार वर्षकी भएपछि मामाघरबाट पितासित आएँ, र पनि भरपूर बात्सल्यता पाएँ। उहाँ छोराछोेरीसित हाँसखेल, मनोरञ्जन गर्न मन पराउनु हुन्थ्यो। हामी अनुशासनमा बाँधिएका त थियौं, तर बन्धनबिना।
निश्छल, सत्यवचन र परिश्रम यिनै आचरणमा बुबाले हामीलाई हुर्काउनु भयो। बुबा भन्नुहुन्थ्यो, ‘हेर, पानी स्वयं दूषित हुँदैन, यसमा बाहिरबाट पर्ने धुलित कणहरूले दूषित बनाउँछन्। मन पनि त्यस्तै हो।’ यसमा कुभावना पर्न दिन हुँदैन। बुबाका यस्तै अमृत समानका वाणी मेरा लागि प्रेरणापदायी बन्थे।
परिवारको त कुरै भएन, ईश्वरका लागि पनि उहाँको खाँचो परेछ। तब न बुबालाई सय वर्षको पूर्ण आयु दिएर अहिले टपक्क टिपेर लग्यो। सम्झन्छु, बुबाले गौरी काव्यमा भन्नुभएको छ ‘देवी अन्तिम साँझमा गहभरी आँसु लिई आउँला।’ नभन्दै साँझ पर्दै गर्दा उहाँको स्वर्गवास भयो। यिनै कुराहरू मनमा खेलाउँदै थिएँ, झमक्क रात परिसकेछ। सधैंझैं कौसीमा उक्लिएँ। रात मलाई पर्खेर बसेको थियो। घर अगाडिको घना जंगलतिर नियालें, जंगल निस्तब्ध थियो। तर यसको पूर्वतिरबाट बत्तीको झिनो प्रकाश अन्तरकुन्तरबाट छिरेर आएको थियो। आकाश मौन थियो, ताराहरू टिमटिमाउँदा देखिन्थे। हेर्दै जाँदा आकाशको उत्तरबाट दक्षिणतिर एउटा सेतो धर्सो, सेतो लामो कपडा सुकाएजस्तो देखिने आकाश मार्ग पो हो कि जस्तो लाल्यो। अहिले केटाकेटीमा बुबाले हामीलाई त्यसैलाई देखाएर हेर ! ती आकाश गंगा हुन् भनेको सम्झन्छु।
एकसुरले आकाशतिर नै हेर्न निमग्न भएँ। आकाशमा ताराहरू छरिएका छन्। ती ताराहरूको बीचमा एउटा तारा चाहिँ भर्खरै उदाएसरि मलिन देखिन्थ्यो। हुनसक्छ, त्यो तारा भर्खरै मात्र परिवारजनबाट छुट्टिनु पर्दाको पीडाबोधले मलिन अनुहारको देखिएको हो कि ! सोचें कि सायद उसको प्रथम प्रेयसीसितको भेटले दंग होला। तर भर्खरैको बिछोडले उसको अनुहार मलिन थियो। त्यसैले त त्यो ताराले पनि यतै धर्तीतिर नै हेरेको हो कि ? मैले जसरी। यसरी एकोहोरो हेर्दै जाँदा त्यो मेरो कल्पनाको तारारूपी आकृति आकाश गंगाको किनारैकिनार हिँड्दै गयो। धेरै टाढासम्म त्यो आकृतिलाई पछ्याउँदै गएँ। मनको गति र आँखारूपी पाइला जति चलाउँदै गए पनि त्यो आकृतिलाई भेट्टाउन सकिनँ। केवल हरेक दिन यथासमयमा आकाशतिर हेरिरहन्छु, हेरिरहन्छु।
—लेखक राष्ट्रकवि माधव घिमिरेकी छोरी हुन्।