कालीगण्डकी उर्लिएपछि पर्वतको सेती वेणीबजार डुवानमा
कुश्मा : अविरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला र शिला क्षेत्रमा रहेको बजार डुवानमा परेको छ । पर्वत, स्याङजा र गूल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका ६ सेतीवेणीमा रहेको विश्वकै ठुलो शालिग्राम शिला र स्याङ्जा तर्फको बजार डुवानमा परेको हो ।
कालीगण्डकीमा पानीको सतह २८ वर्ष यताकै उच्च विन्दुमा पुगेपछि शिला र बजार पूर्णरुपमा डुवानमा परेको स्थानीय तीलक पराजुलीले जानकारी दिए । उनका अनुसार बिहान ४ बजेदेखि बजार क्षेत्र डुवानमा पर्न थालेपछि १० घर विस्थापित बनेका छन् । १० घरपरिवार र उनीहरुका पसलमा रहेका सामान र मानिसलाई सुरक्षित स्थानमा सारिएको उनले बताए ।
बजार र शिला डुवानमा परेसँगै उक्त स्थानका बासिन्दा आतंकित बनेका छन् । नदीको बहाब उर्लिएर बजार क्षेत्रमै आइपुगेपछि व्यवसायी सुरक्षित स्थानमा सामान सार्न व्यस्त छन् । प्रवित्र शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तल लगायतका सबै संरचना समेत डुवाएको छ।
बजारवासीलाई संरक्षणका लागि बनाएको तटबन्ध र ग्याबीयन समेत पानीले पुरिएको छ। नदीमा पानीको बहाब ह्वात्तै बढेपछि स्थानीयवासी रातभर जाग्राम बसेका थिए । कालीगण्डकी र सेती खोला दुवैको बहाब उच्च हुँदा समस्या भएको हो ।
मुलुककै सबैभन्दा ठूलो कालीगण्डएकी ए जलविदुत आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्गजा र गुल्मी जिल्लाको सिमानामा पर्ने सेतीबेणीबजार डुबानको खतरामा पर्ने गरेको छ । सेतीबेणीबजार डुबानको खतरा बढेपछि पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्गजा तर्फको बजार क्षेत्रमा झण्डै दुई सय व्यापारी तथा सर्वसाधरण समस्यामा पर्ने गरेका छन् ।
विगत ११ वर्षअघि कालीगण्डकी र सेतीखोला उर्लेर आउँदा तीन दर्जन घरपरिवार विस्थापित बनेका थिए । २०६६ असोज २१ मा बजार क्षेत्र नै डुबानमा परेका घटनाले उनीहरुमा सधैभर त्रास थप्ने गरेको स्थानीय व्यवसायी विष्णु न्यौपानेले बताए।
कालीगण्डकीमा पानीको सतह बढेपछि कालीगण्डकी ए को बाँधका सबै ढोका खोल्न लगाइएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन् । उनका अनुसार सुरक्षा निकायले स्थानीयलाई सुक्षित ठाउँमा राख्न प्रयास गरेको छ ।
स्थानीय प्रहरी चौकीका अनुसार सोमबार राति पानीको बहाब उच्च बढेर बजारसम्मै आइपुगेको हो।
प्रतिक्रिया दिनुहोस !