पहिरोले मध्यपहाडी लोकमार्ग र बेनी मालढुंगा सडक अवरुद्ध
कुश्मा : लगातारको वर्षाका कारण पहिरो खस्दा मध्य पहाडि लोकमार्गअन्तर्गत पर्वत-बागलुङ सडक खण्ड सोमबार रातीदेखि अवरुद्ध भएको छ। पर्वतको कुश्मा नगरपालिका १ सहस्रधारामा पहिरो खस्दा रातिदेखि नै सडक अवरुद्ध भएको हो ।
निरन्तर पहिरो झरिरहेकाले तत्काल खुलाउन समस्या रहेको ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ । वर्षा रोकिएलगत्तै खुलाउन प्रयास गरिने प्रहरीले जनाएको छ ।
यसैगरी छिमेकी जिल्ला म्याग्दी र मुस्ताङ जोड्ने बेनी–मालढुंगा सडक समेत अवरुद्ध भएको छ । जलजला गाउँपालिका ८ नाङलीवाङको फर्से, वडा न. ७ को केरावारी र वडा नं. ३ को लामाखेतमा पहिरो जाँदा सडक अवरुद्ध भएको ट्राफिक प्रहरी प्रमुख कृष्ण थापाले जानकारी दिए । उनका अनुसार सोमबार रातिदेखि नै सडक अवरुद्ध भएपनि वर्षा निरन्तर जारी रहेकाले तत्काल खुलाउन सकिएको छैन ।
उनका अनुसार वर्षा रोकिने वित्तिकै सबै सडकमा डोजर लगाएर खुलाइने भएको छ । अहिले डोजर र सुरक्षा निकाय तयारी अवस्थामा रहेको उनले बताए । सडक बन्द हुँदा बाग्लुङ, म्याग्दी र मुस्ताङवाट छुटेका मालवाहक सवारी, एम्बुलेन्सलगायत खाद्यान्न र बिरामी बोकेका सवारी साधन अलपत्र परेका छन् भने अन्यत्रबाट आएका सवारी साधन समेत पर्वतको सहस्रधारामा अलपत्र छन् ।
यसैगरी दक्षिण पर्वतको हुवास–वालिङ सडक र सदरमुकाम जोड्ने दक्षिण क्षेत्रका अधिकां सडकहरु अवरुद्ध भएको प्रहरीले जनाएको छ । यस क्षेत्रमा शनिबारदेखि जारी वर्षा रोकिएको छैन ।
प्रतिक्रिया दिनुहोस !