बाढीपहिरोले पर्वतका करिब ५० घरपरिवार विस्थापित, सयौँ जोखिममा
कुश्मा : बाढीपहिरोबाट ठूलो क्षति भएको छ। बाढीको जोखिममा रहेका झण्डै ५० घरपरिवार विस्थापित भएका छन् । प्रहरीले जिल्लाभरको क्षतिको विवरण संकलन भइरहेको जनाएको छ ।
बाढीले जलजला गाउँपालिका ८ लस्ती र फर्सेका १८ घरपरिवार विस्थापित बनेका छन् । बस्तीभन्दा माथिबाट निरन्तर झरेको पहिरोका कारण १८ घरपरिवारलाई मंगलबारदेखि नै सुरक्षित स्थानमा सारिएको वडा अध्यक्ष हरिबिकास जिसीले जानकारी दिए।
यसैगरी ७ धाइरिङमा दुई घर विस्थापित बनेको जलजला गाउँपालिकाले जनाएको छ । जलजलाका विभिन्न वडामा १ सय भन्दा बढी घर जोखिममा रहेको अध्यक्ष जिसीले बताए ।
यसैगरी पर्वतको महाशिला गाउँपालिका ८ घरपरिवार विस्थापित बनेका छन् । महाशिला गाउँपालिकाका प्रवक्ता जीवन उचै ठकुरीका अनुसार त्यहाँ ८ घर विस्थापित भएका छन् । उनका अनुसार १ होश्राङदीको अर्गाउदीका पहलसिङ गुरुङको परिवार विस्थापित भएको छ । 
पाँचजना सदस्य रहेको उक्त परिवारलाई स्थानीय लक्ष्मीदय आधारभूत विद्यालयमा सारिएको छ । वडा नं.–३ बालाकोटको हिरुखर्कमा तीनजना सदस्य रहेको धनबहादुर आलेको परिवारलाई छिमेकीको घरमा, वडा नं.–५ लुंखु देउरालीको ढाडाखर्कमा पाँच जना परिवार सदस्य रहेको आस बहादुर गुरुङको परिवारलाई छिमेकीको घरमा र सोही ठाउँका टेकराम गुरुङको परिवारलाई पनि छिमेकीको घरमा आश्रय दिइएको छ ।
यस्तै, वडा नं.–२ भोक्सिङमा दुई घर, वडा नं.–५ लंखुका तीन घर र वडा नं.–४ पाखापानीका दुई घर गरी कुल ८ घर विस्थापित बनेका हुन् । वर्षा नरोकिएकाले अझै ठूलो क्षति हुन सक्ने उनले बताए ।
यसैगरी फलेवास नगरपालिका–३ शंकरपोखरीको रुग्दीमा पनि स्थानीय बुद्धि सागर रेग्मीको घर उच्च जोखिममा परेको छ । घरको तल्लो भागबाट घरको भित्तासम्मै पुगेको पहिरोका कारण घर बग्ने खतरामा परेको हो । वर्षा भएको बेलामा घरमा बस्न नै खतरा भएकाले वर्षाको बेलामा छिमेकीकोमा आश्रय दिनुपर्ने अवस्था आएको रेग्मीले बताए ।
वर्षाकै कारण विश्वकै ठूलो शालिग्राम शिला रहेको सेतीवेणी पनि डुबानमा परेको छ । पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सिमानामा रहेको जिल्लाको बिहादी गाउँपालिका–६ मा रहेको सेतीवेणी बजार डुबानमा पर्दा त्यहाँका १० घर विस्थापित भएका छन् ।
त्यसैगरी कुश्मा नगरपालिका वडा नं. ११ पकुवामा पनि ठुलो भागमा पहिरो गएकाले केहि घर जोखिममा रहेको स्थानीय दया सुवेदीले जानकारी दिए । मोदी गाउँपालिकाको वडा नं. २ देउपुरमा ८ र वडा नं. १ भुकताङ्लेमा १ घर जोखिममा परेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत किसान क्षेत्रीले जानकारी दिए । वडा नं. ४ क्याङको ज्यामिरेमा एक घरमा पुर्ण क्षति पुगेको छ । परिवारलाई छिमेकीकोमा आश्रय दिएर सारिएको छ । त्यसैगरी वडा नं. ८ चित्रेमा २ घर विस्थापित बनेका छन् ।
पहिरोका कारण जिल्लाभरका खोलानालामा बाढी आएको छ भने अधिकांश सडक अवरुद्ध छन् । त्यसैगरी खेतीयोग्य जमिनहरु समेत पहिरोले पुरिएको स्थानीय तहले जनाएका छन् । यता जिल्ला प्रहरी कार्यालय पर्वतले जिल्लाभरी बाढी पहिरोले भौतिक क्षति भएपनि अहिलेसम्म मानवीय क्षति भने नभएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !